सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

शिक्षण पेसाको प्रतिष्ठा कसरी जोगाउने ?

आइतबार, ०७ असोज २०८०, १४ : २२
आइतबार, ०७ असोज २०८०

हाम्रा छोरा छोरीको मात्र हैन सिङ्गो राष्ट्रका भविष्य निर्माण गर्ने व्यक्तित्व  हुन् शिक्षक । त्यसैले उनीहरूलाई उच्च सम्मान तथा समुचित सुविधा र सुरक्षा उपलब्ध गराउने सवालमा सरकार तथा सबै राजनीतिक दल गम्भीर बन्नै पर्छ ।

शिक्षकलाई सम्मान मात्रै हैन समुचित सुविधा र सुरक्षा दिनुपर्छ भन्दै गर्दा शिक्षकहरू कति गम्भीर तथा संवेदनशील बनेर आफ्नो जिम्मेवारी पूरा गरिरहेका छन् भन्ने प्रश्न पनि उठ्ने गरेको छ । सरकारी विद्यालयका शिक्षक किन आफ्ना बच्चालाई निजी विद्यालयमा पठाउने गर्छन् ? निजी विद्यालयको तुलनामा सरकारी विद्यालयको नतिजा किन कमजोर आउने गर्छ ? यीलगायतका विषयमा शिक्षकहरूले गम्भीर भएर सोच्नै पर्छ ।   

अहिलेको विडम्बना के भयो भने एकातिर राजनीतिक दलहरू शिक्षक तथा शिक्षण संस्थालाई आफूअनुकूल परिचालन गर्न चाहन्छन् । अर्कोतिर शिक्षकाहरू आफूहरूलाई ‘किङ मेकर’ ठान्न थालेका छन् । काठमाडौँमा शिक्षकहरूको शक्ति प्रदर्शन भनेर आएका समाचारको अन्तर्य ‘हामीलाई कम आँकलन गर्ने गल्ती नगर, हामीले चाह्यौँ भने हामी सरकार ढालिदिन सक्छौँ’ भन्ने हैन र ? शिक्षक, विद्यार्थी तथा शैक्षिक संस्था यसरी सरकार बनाउने र गिराउने खेलमा सामेल हुन सक्ने आजको अवस्था,  विद्यार्थी, शिक्षक, राजनीतिज्ञ तथा सिङ्गो देश कसैको पनि हितमा छैन । यो अवस्थाले हाम्रो देशको सिङ्गो शिक्षा प्रणालीलाई थप निकम्मा बनाएर लैजाने छ ।  

कतिपय शिक्षकहरू पढाउने भन्दा पनि राजनीतिक दलका झोले बनेर नेताहरूको चाकरीमा रमाउने गरेको कुरा धेरैलाई थाहा छ । केही शिक्षकहरूका यस्तो गलत अभ्यासले कडा मेहनत गर्ने इमानदार शिक्षकलाई निरुत्साहित पार्ने काम गरेको छ । तिनीहरुका क्रियाकलापले कैयौँ विद्यार्थीको भविष्य चौपट बनेको छ । यही कारण शिक्षकहरूले आफ्नो परिचय मात्र हैन आफ्नो सम्मान, प्रतिष्ठा सबै गुमाइ राखेका छन् । यो परिवेशमा एउटा शिक्षकका लागि आफूलाई साँच्चिकै शिक्षक वा गुरु बनाई राख्न अत्यन्तै चुनौतीपूर्ण बन्न पुगेको छ । 

गत ५ सेप्टेम्बरका दिन शिक्षक दिवसको अवसर पारेर हाम्रो छिमेकी मुलुक भारतको एउटा विश्वविद्यालयमा शिक्षकहरूको भूमिका र जिम्मेवारीलाई लिएर एउटा सेमिनार भयो । त्यो निक्कै सान्दर्भिक लाग्यो । 

पेसाप्रति इमानदार शिक्षक परिवर्तनका संवाहक हुन् । उसले स्कुल तथा कलेजमा भित्रिएको सामान्य विद्यार्थीलाई मूल्यवान् बनाएर समाजमा पठाउँछ । तर के सबै शिक्षकले यो जिम्मेवारीलाई साँच्चिकै संवेदनशील बनेर पूरा गरेका छन् ?

सबै विद्यार्थी मेधावी हुँदैनन् । उनीहरुलाई शिक्षकको परामर्शका साथै अभिभावकको हौसला पनि चाहिन्छ । कुनै विद्यार्थीले पढ्न जानेन, पढ्न रुचि देखाएन भने शिक्षकले सो रुचि नै रहेनछ भनेर अझ अन्धकारतिर जान दिनु हुन्न । उसले किन पढ्न नजानेको हो, अध्ययनमा किन रुचि नभएको हो त्यसको सही कारण पत्ता लगाएर सुधारका उपाय अपनाउनु पर्छ । यो एउटा शिक्षकको जिम्मेवारी मात्र हैन, कर्तव्य र धर्म पनि हो ।

साना साना नानीबाबुहरू सजिलैसँग खाना खान मान्दैनन् । त्यतिखेर उनीहरूले खाना खान मानेनन् भनेर त्यतिकै भोकै छोड्दैनौ । रुचिअनुसार फरक फरक तरिका अपनाएर भए पनि खाना खुवाएर छाड्छौँ । एउटा शिक्षकका लागि विद्यार्थी साना साना नानी बाबुहरू त्यस्तै हुन् । कति विद्यार्थी राम्रोसँग पढ्न जान्दैनन्, मान्दैनन् अथवा कतिलाई शिक्षकले अपनाएको शिक्षण शैली बुझ्नलाई गाह्रो भएको हुन सक्छ । यस्तो अवस्थामा शिक्षकले विद्यार्थीभित्रको सम्भावनालाई मध्यनजर गरेर फरक–फरक विधि अपनाएर पढ्नका लागि प्रेरित गर्न सक्नु पर्छ । उनीहरूलाई पढ्नु पर्ने कर्तव्य वा पढाइको महत्त्व सम्झाउन, बुझाउन सक्नु पर्छ ।     

शिक्षकले आफ्नो शिक्षण शैलीमा बाँधिएर सिकाउनु पर्छ । आफ्नो सिकाउने जिम्मेवारी पुरा गरिरहेको छु, अब विद्यार्थी नै सिक्न सक्दैन भनेर सिकाउने तरिका परिवर्तन नगरी पुरानै शैलीमा पढाउनु हुँदैन । विद्यार्थीभित्रको सम्भावना, सिक्ने क्षमता र रुचिलाई शिक्षकले चिन्न र शिक्षण शैलीलाई आवश्यकता अनुसार परिवर्तन गर्न सक्नु पर्छ ।

शिक्षकको काम सिकाउनु मात्र हैन, आगामी दिनमा जीवन जिउने बाटो देखाउनु पनि हो । विद्यार्थीलाई अगाडि बढ्न सही मार्गदर्शन गर्नु पनि हो । 

एउटा शिक्षक जब साँच्चिकै असल मार्गदर्शक बन्न सफल हुन्छ, उसले सम्मानका लागि कसैसँग भिख मागिराख्नु पर्दैन । ऊ स्वतः सम्मानित बन्छ । यस्तो अवस्थामा, शिक्षकले कुनै लाभ पनि खोज्नु पर्दैन । उसको निःस्वार्थ कर्म आफैँ उसका लागि लाभदायक बन्छ । 

त्यसैले यदि कुनै शिक्षकलाई आफूले उचित सम्मान नपाएको, उचित लाभ नपाएको जस्तो लागे; के म साँच्चिकै निस्वार्थ भएर आफ्नो कर्म गरिरहेको छु ? के म साँच्चिकै एउटा असल मार्गदर्शक बन्न सकेको छु ? के म साँच्चिकै सही नियत राखेर पढाउँदै छु भनेर आफैँलाई प्रश्न गर्नु पर्ने हुन्छ ।

एउटा विद्यार्थी जो पहिलेबाट नै प्रतिभाशाली छ । मेहनति छ, आज्ञाकारी छ त्यस्तो विद्यार्थीका लागि विशेष दक्षता भएको शिक्षकको आवश्यकता नै पर्दैन । यस्तो विद्यार्थीका लागि शिक्षकले धेरै मेहनत गर्नै पर्दैन । उक्त विद्यार्थीलाई सामान्य सिकाले पुग्छ । बाँकी प्रयास ऊ आफैँले गर्छ । शिक्षकले मेहनत त ती विद्यार्थीलाई गर्नु पर्छ, जो सामान्य मात्र ज्ञान भएका हुन्छन् । 

एउटा असल शिक्षकले आफ्ना विद्यार्थीको मानसिकतालाई पढ्न, बुझ्न सक्नु पर्छ । उनीहरूको रुचि थाहा पाउन सक्नु पर्छ । उनीहरूभित्र निहित सम्भावनालाई औँल्याइदिन  सक्नु पर्छ । उक्त क्षेत्रमा लागिपर्न प्रोत्साहित पनि गर्न सक्नु पर्छ । कति अवस्थामा कुनै विद्यार्थीको रुचि तथा ऊभित्र निहित सम्भावना, स्कुल कलेजको शैक्षिक पाठ्यक्रमभन्दा बाहिरको विषय पनि हुन सक्छ । यस्तो अवस्थामा एउटा असल शिक्षकले आफ्नो विद्यार्थीलाई अत्यन्तै सावधानीपूर्वक सही ढङ्गले मार्गदर्शन गर्न सक्नु पर्छ । 

स्कुल तथा कलेजमा सही मार्गदर्शन नपाएकै कारण आज हाम्रा कैयौँ त्यस्ता भाइबहिनी कोरिया, मलेसिया लगायत विभिन्न खाडी मुलुकमा सङ्घर्ष गरिराखेका होलान्– जोभित्र एउटा राम्रो खेलाडी, कलाकार, पत्रकार, राजनीतिज्ञ अथवा कुनै विज्ञ वा व्यापारी नै पनि बन्न सक्ने सम्भावना थियो होला । 

आसिफ सेख झैँ अन्तर्राष्ट्रिय मैदानमा क्रिकेटको ब्याट समातेर चम्कन सक्ने सम्भावना भएको एउटा युवा आज कुनै खाडी मुलुकको टन्टलापुर घाममा हातमा बेल्चा समातेर पसिना बगाउँदै होला । टीकाराम यात्रीले झैँ टेलिभिजनमा गहन प्रश्न गरेर हजारौँ मान्छेहरूलाई अँध्यारोबाट उज्यालोतर्फको यात्राका लागि प्रेरित गर्न सक्ने सम्भावना बोकेको एउटा युवा आज मलेसियाको कुनै फ्याक्ट्रीमा  आफ्नै भाग्यलाई धिक्कार्दै ऊ आफैँ अध्यारोमा रुमल्लिइराखेको होला । प्रियङ्का कार्की झैँ नेपाली फिल्मी पर्दामा चम्कन सक्ने सम्भावना बोकेकी कुनै चेली आज दुबईको कुनै रेस्टुरेन्टमा आफ्नो अनुहारलाई बनावटी मुस्कानले सजाएर ग्राहकहरूलाई स्वागत गरिराखेकी होलिन् । 

सोबिता गौतम झैँ राजनीतिमा पसेर आफ्नो देश तथा समाजको सेवा गर्ने सम्भावना बोकेकी एउटी चेली आज इजरायलको कुनै घरमा ज्येष्ठ नागरिकको सेवा गरेर दिन बिताइराखेकी होलिन् । भरतमणि पौडेल झैँ स्ट्यान्ड–अप कमेडीमा चम्कन सक्ने सम्भावना बोकेको कुनै एउटा युवा आज कतारमा आएर हतार हतार गर्दै हातमा टिफिन झुन्ड्याएर ड्युटी हिँड्नु पर्दा, उसलाई आफ्नो वास्तविक जीवन नै कमेडी बनेको जस्तो लागिराखेको होला ।  

हुन त यी सबै एउटा कल्पना वा अनुमान मात्र हुन् तर यसमा केही सत्यता छ । यो कुरालाई हामी कसैले पनि नकार्न सक्दैनौँ । सही मार्गदर्शनको अभावमा, आफ्नो देश र समाजका लागि केही गर्न सक्ने सम्भावना बोकेका कैयौँ भाइबहिनीको जीवन आज निरर्थक बन्न पुगेको छ । सही समयमा, सही मान्छेबाट, सही मार्गदर्शन पाउन सक्ने हो भने त्यसले मान्छेलाई कहाँबाट कहाँ पुर्‍याउन सक्छ, यो कुरा सम्बन्धित व्यक्ति स्वयंले पनि सुरुमा कल्पना गरेको हुँदैन । यस्तो मार्गदर्शनका लागि स्कुल तथा कलेजमा हाम्रा शिक्षक वा गुरुहरूको भूमिका, घरका अभिभावकको भन्दा पनि धेरै महत्त्वपूर्ण हुने गर्छ ।  

अतः एउटा शिक्षकको प्रमुख जिम्मेवारी भनेको विद्यार्थीहरूलाई पढाउनु, सिकाउनु त हो नै सँगसँगै आफ्नो विद्यार्थीलाई सही मार्ग देखाउनु, उक्त मार्गमा हिँड्न सिकाउनु पनि हो । यी सबैभन्दा पनि माथि एउटा शिक्षकका रूपमा उसको सबैभन्दा ठूलो जिम्मेवारी अथवा भूमिका भनेको त्यस्ता विद्यार्थीमा परिवर्तन ल्याउनु हो । 

विद्यार्थीभित्रको सम्भावनालाई पहिचान गरेर व्यवहार परिवर्तन गराउन जुन शिक्षकले सक्छ उसले शिक्षण पेसाको प्रतिष्ठा वृद्धि गर्छ । शिक्षकप्रतिको गिर्दो साखलाई जोगाउँछ । त्यस्तो शिक्षक समाजमा शिक्षक मात्र हैन भगवान् कहलाउँछ ।

झापा, भद्रपुर–७ 

हाल : दोहा, कतार

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रमेश ढकाल
रमेश ढकाल
लेखकबाट थप