शुक्रबार, १९ असार २०८३
ताजा लोकप्रिय
कांग्रेस विवाद

विधानको बाधा अड्काउ फुकाएर केन्द्रीय समिति समायोजनमा मिलेन कुरा

शुक्रबार, १९ असार २०८३, १७ : ३०
शुक्रबार, १९ असार २०८३

सारांश

  • नेपाली कांग्रेसभित्रको विवाद समाधानका लागि विधानको बाधा अड्काउ फुकाउने कि नफुकाउने भन्ने विषयमा छलफल अल्झिरहेको छ ।
  • इतर समूहका नेताहरूले १४औँ महाधिवेशनबाट निर्वाचित सबैलाई केन्द्रीय समितिमा समायोजन गर्नुपर्ने प्रस्ताव राखेका छन् ।
  • संस्थापन पक्षले सीमित संख्यामा केन्द्रीय सदस्य मनोनीत गर्ने वा राजनीतिक संयन्त्र बनाउने जस्ता विकल्प अघि सारेको छ ।

काठमाडौँ । नेपाली कांग्रेसभित्र देखिएको विवाद समाधानका लागि भइरहेको पहल पार्टीको विधानमा बाधा अड्काउ फुकाउने कि नफुकाउने भन्ने विषयमा अल्झिरहेको छ । पछिल्लो समय सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्मासँगको सहमतिमा पार्टीभित्रको आन्तरिक विवाद समाधानका लागि महामन्त्री गुरुराज घिमिरेले इतर समूहका नेताहरू निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का, नेता डा. शेखर कोइराला र कृष्णप्रसाद सिटौलासँग भेट गरेका थिए ।

महामन्त्री घिमिरेले असार १२ गते विराटनगरस्थित कोइराला निवासमा डा. कोइरालासँग, असार १६ गते खड्का र सिटौलालाई काठमाडौँमा उनीहरूकै निवासमा पुगेर भेटेका थिए । भेटमा डा. कोइराला, खड्का र सिटौलाले २०७८ मङ्सिरमा सम्पन्न पार्टीको १४औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका सबैलाई गत पुसमा सम्पन्न विशेष महाधिवेशनबाट चयन भएको केन्द्रीय समितिमा समाहित गर्नुपर्ने प्रस्ताव राखेको महामन्त्री घिमिरेले जानकारी दिए । आफूले १११ जनालाई केन्द्रीय समितिमा मनोनीत गर्न विधानले मिल्दैन भन्दा विधानको बाधा अड्काउ फुकाएर मिलाउन सकिन्छ भन्ने जवाफ पाएको घिमिरेले बताए ।

‘१४औँ महाधिवेशनबाट केन्द्रीय समितिमा निर्वाचित १११ जनालाई अहिलेको केन्द्रीय समितिमा मनोनीत गर्ने प्रस्ताव उहाँहरू (डा. कोइराला, खड्का र सिटौला) को छ । मैले त्यति धेरै केन्द्रीय सदस्य मनोनीत गर्न त विधानले दिँदैन भन्ने कुरा राखेँ,’ महामन्त्री घिमिरेले भेटमा भएको कुरा उद्धृत गर्दै रातोपाटीसँग भने, ‘त्यसमा उहाँहरूको सुझाव विधानको बाधा अड्काउ फुकाउने व्यवस्था प्रयोग गरेर विधानका धारा निलम्बन गरेर अगाडि जान सकिन्छ भन्ने छ । विधानको व्यवस्था खुला गरेपछि पार्टीभित्र एकता हुन्छ भन्ने कुरा उहाँहरूले राख्नुभएको छ ।’

देउवा समूहका नेता निवर्तमान केन्द्रीय सदस्य रामहरि खतिवडाले १४औँ महाधिवेशनबाट केन्द्रीय समितिमा निर्वाचित र विशेष महाधिवेशनमा गएर केन्द्रीय सदस्य नबनेका सबैलाई केन्द्रीय समितिमा ल्याउनुपर्छ भन्ने प्रस्ताव संस्थापनका नेताहरूसँग राखेको जानकारी दिए । ‘१४औँ महाधिवेशनबाट केन्द्रीय समितिमा निर्वाचित भएका तर, विशेष महाधिवेशनमा नगएकालाई केन्द्रीय समितिमा राख्नुपर्छ भन्ने प्रस्ताव हो,’ खतिवडाले रातोपाटीसँग भने, ‘त्यो प्रस्ताव पूर्ण दाइ र शेखर दाइका तर्फबाट गएको छ । संस्थापनका नेताले विधानले नदिने कुरा गर्नुभएको छ । पार्टीमा एकता कायम गर्न बाधा अड्काउ फुकाएर नदिने धारा निलम्बन गर्ने भनेका छौँ ।’

निवर्तमान सभापति शेरबहादुर देउवा समूहका तर्फबाट नेता डा. प्रकाशशरण महतले जेठ २८ गते बाँसबारीस्थित आफ्नै निवासमा पत्रकार सम्मेलन गरेर १५औँ महाधिवेशन स्वच्छ, निष्पक्ष र धाँधलीरहित रूपमा सम्पन्न गर्नका लागि १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमिति र विशेष महाधिवेशनबाट आएको कार्यसमितिलाई मिलाएर संयन्त्र निर्माण गर्नुपर्ने बताएका थिए । त्यो संयन्त्र निर्माण गर्नका लागि संस्थापन पक्ष तयार नरहेकाले आशङ्का उब्जिएको उनको भनाइ थियो ।

नेता डा. कोइरालाले जेठ ५ गते पार्टी एकताका लागि भन्दै ५ बुँदे प्रस्ताव सार्वजनिक गरेका थिए । त्यो प्रस्तावमा कोइरालाले '१४औँ महाधिवेशनको केन्द्रीय कार्यसमिति र विशेष महाधिवेशनको केन्द्रीय कार्यसमितिलाई समायोजन गरेर एउटै बनाउने’ लेखेका छन् ।

तर, संस्थापनका तर्फबाट उपसभापति विश्वप्रकाश शर्माले पार्टी एकताका लागि भन्दै जेठ १६ गते ७ बुँदे प्रस्ताव इतर समूहका नेताहरूलाई ह्वाट्सएपमा पठाएका थिए । प्रस्तावको ४ नम्बर बुँदामा शर्माले ‘विगतमा केन्द्रीय समितिमा रहेका र नरहेका साथीमध्ये जिम्मेवारी निर्वाह गर्न इच्छुक साथीहरूलाई केन्द्रीय समितिमा निश्चित सङ्ख्यामा सम्मानपूर्वक जिम्मेवारी प्रदान गर्ने, कार्यसम्पादन समितिमा सम्मानजनक सहभागिता रहने’ लेखेका छन् ।

इतर समूहको माग सम्बोधनका लागि विधानमा रहेको बाधा अड्काउ फुकाउने अधिकार प्रयोग गरेर धारा निलम्बन गर्नुपर्छ । त्यो गर्न संस्थापन तयार छैन ।

महामन्त्री घिमिरे आफ्नो अनुकूलतामा जे पायो त्यही गर्दै गएमा विधानको मर्यादा नरहने बताउँछन् । ‘आफू अनुकूल जे–जे गर्दा पनि हामीले विधानको बाधा अड्काउ फुकाएर सहज बनाउँदै र मिलाउँदै जाने हो भने त अलिकति विधानको मर्यादा पनि त रहेन नि,’ घिमिरेले भने, ‘हामीले उहाँहरूलाई पठाएको सात बुँदामा केही निश्चित सङ्ख्यामा केन्द्रीय समितिमा ल्याउने भनेका छौँ । त्यही गर्न हामी तयार छौँ ।’

  • त्यसबाहेक मिलाउने विकल्प के ?

महामन्त्री घिमिरेले केन्द्रीय समितिमा सबैलाई समावेश गर्न नसक्ने हो भने त्यसको विकल्प पनि दुवै पक्षबाट आएको बताए । नेता डा. कोइरालाले १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरू सबैलाई केन्द्रीय समितिमा ल्याउन विधान बाधक बन्ने भएमा पार्टीभित्र देखिएका वादविवाद सुल्झाउन राजनीतिक संयन्त्र बनाउने प्रस्ताव राखेको घिमिरेले बताए । ‘एउटा राजनीतिक संयन्त्र बनाऊँ । वादविवादका कुराहरू त्यसैले सुल्झाउँछ । महाधिवेशनसम्बन्धी समितिहरूमा प्रतिनिधित्व गराइदिने, त्यसपछि महाधिवेशन निष्पक्ष र विश्वसनीय बन्ने वातावरण निर्माण हुने प्रस्ताव शेखर दाइले राख्नुभएको छ,’ घिमिरेले भने ।

खड्काले भने घिमिरेसँगको भेटमा सभापति गगन थापाले नै पार्टीको विवाद मिलाउन सक्रियता देखाउनुपर्ने बताएका थिए । त्योबाहेक खड्काले पुस १० गतेअघि नवीकरण भइसकेका क्रियाशील सदस्यहरूलाई अद्यावधिकको बाध्यतामा राख्नु भएन, अधिवेशनको प्रक्रियामा सहभागी हुन पाउने व्यवस्था गर्नुपर्‍यो भन्ने कुरा राखेको घिमिरेले बताए ।

सिटौलाले सभापति थापाले सक्रियता देखाए पार्टी नमिल्ने कुरै नरहेको बताए । ‘सभापति आफैँले खुला दिलले कुरा गरेमा मिल्छ, नमिल्ने कुरा छैन । अहिले पार्टी एकताकै आवश्यकता हो, देश सङ्कटमा छ र अरू सङ्कट आउने सम्भावना छ भन्ने कुरा कृष्ण दाइले भन्नुभयो,’ घिमिरेले भने ।

संस्थापनले भने निश्चित सङ्ख्यामा ती नेताहरूलाई केन्द्रीय समितिमा ल्याउने, बडो आवश्यक पर्छ भने राजनीतिक संयन्त्र पनि बनाउने र आवश्यक पर्छ भने समितिहरूमा प्रतिनिधित्व गराइदिने प्रस्ताव गरेको घिमिरेले बताए ।

  • इतर समूहले उठाएका विषयमा संस्थापन सकारात्मक

घिमिरेसँगको भेटका क्रममा इतर समूहका नेताले उठाएका विषयमा संस्थापन सकारात्मक देखिएको छ । महामन्त्री घिमिरेले आफूले भेट्दा डा. कोइराला, खड्का र सिटौलाले उठाएका विषय सभापति थापा र उपसभापति शर्मालाई जानकारी गराएको र उनीहरू सकारात्मक रहेको पाएको बताए । ‘मैले भेटघाटका क्रममा भएका कुराकानी सभापति र उपसभापतिजीसँग बसेर राखेँ । बुधबार उहाँहरूसँग कुराकानी गरेपछि उहाँहरूले अब हामी चाँडै नेताहरूसँग थप कुराकानी गरेर सहमतिको प्रक्रिया अगाडि बढाउने बताउनुभएको छ,’ घिमिरेले भने ।

सहमति गर्ने विषय छलफलकै क्रममा रहेको र पार्टीलाई मिलाएरै अगाडि बढ्ने पक्षमा आफूहरू रहेको घिमिरेले जानकारी दिए । ‘हामीहरू व्यावहारिक पनि छौँ । उदार पनि छौँ । तर, मिटिङ प्वाइन्ट के हुन सक्छ भन्ने विषयमा अन्तिम छलफल चाहिँ हुन बाँकी छ,’ घिमिरेले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मधुसुधन भट्टराई
मधुसुधन भट्टराई

रातोपाटीका खोज तथा समाज ब्यूरो प्रमुख भट्टराईले राजनीति, संसद् र प्रशासनमा कलम चलाउँछन् ।

लेखकबाट थप

छुटाउनुभयो कि ?