शुक्रबार, १९ असार २०८३
ताजा लोकप्रिय

ई–भोटिङ मेसिनमाथि प्रश्न उठेपछि राम लक्ष्मणको ५ बुँदे प्रष्टीकरण

शुक्रबार, १९ असार २०८३, १७ : २२
शुक्रबार, १९ असार २०८३

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनमा प्रयोग भएको विद्युतीय मतदान उपकरण सम्बन्धी प्रश्न उठेपछि प्रविधिका संस्थापक राम लक्ष्मणले प्रष्टीकरण दिएका छन् । असार ७ देखि १२ गतेसम्म चितवनमा भएको रास्वपाको महाधिवेशनमा मतदानको लागि राम लक्ष्मण इनोभेसन प्रालिसँग सम्झौता गरेको थियो । मेसिनको विश्वसनीयता र निष्पक्षतामाथि भ्रम उत्पन्न भएको भन्दै उनीहरूले बुँदागत रूपमा प्रस्टीकरण दिएका हुन् । 

महाधिवेशन अझ व्यवस्थित, छिटोछरितो र प्रभावकारी रूपमा सम्पन्न हुन सक्ने पर्याप्त सम्भावना हुँदाहुँदै पनि समग्र व्यवस्थापनमा देखिएका कमजोरीका कारण अपेक्षित परिणाम हासिल हुन नसकेको बताएको छ । 

‘निर्वाचन प्रक्रिया सञ्चालन गर्ने निर्णय भएपछि, हाम्रो विगतको अनुभवका आधारमा महाधिवेशनलाई सहज, व्यवस्थित र समयमै सम्पन्न गर्न सहयोग पुग्ने उद्देश्यले २० पृष्ठको विस्तृत कार्यान्वयन पुस्तिका तयार गरी निर्वाचन समितिलाई उपलब्ध गराएका थियौँ । दुर्भाग्यवश, त्यसमा समेटिएका अधिकांश सुझावहरूको प्रभावकारी कार्यान्वयन हुन सकेन’, उनीहरूले भनेका छन् । 

यस्तो छ ५ बुँदामा राम लक्ष्मणले दिएको प्रष्टीकरण : 

एउटै पदमा ६४ जना किन भयो ? 

कुनै पनि निर्वाचनमा मतदान उपकरणको भूमिका अन्तिम चरणमा मात्र सुरु हुन्छ । निर्वाचन समितिले मनोनयन दर्ता, प्रारम्भिक नामावली प्रकाशन, दाबी–विरोध, उम्मेदवारी फिर्ता लगायतका सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरी अन्तिम नामावली स्वीकृत गरेपछि मात्रै सोही विवरणका आधारमा सम्बन्धित पद, समूह (क्लस्टर) र उम्मेदवारहरू मतदान उपकरणमा समावेश गरिन्छ।

यस महाधिवेशनका लागि पनि हामीले प्रारम्भिक रूपमा दिनभरि लगाएर छुट्टाछुट्टै क्लस्टर अनुसार मतदान प्रणाली तयार गरेका थियौँ। तर अन्तिम समयमा निर्वाचन समितिबाट सबै उम्मेदवारलाई एउटै समूहमा समावेश गरी मतदान गराउने निर्णय तथा निर्देशन प्राप्त भयो।  त्यस क्रममा हामीले यस्तो विन्यासले मतगणना तथा नतिजा मिलान प्रक्रियालाई जटिल बनाउन सक्ने प्राविधिक सुझाव पटक–पटक दिएका थियौँ। तर निर्वाचन समितिले पार्टीको विधानअनुसार यही व्यवस्था लागू गर्नुपर्ने निर्णय गरेको जानकारी गरायो।

यस निर्णयअनुसार सातवटै प्रदेशमा महिला आरक्षण छुट्टै समूहमा नराखी खुला र समावेशी उम्मेदवारलाई एउटै समूहमा समावेश गरी मतदाताले एकैपटक ६४ जनासम्म चयन गर्नुपर्ने व्यवस्था लागू गरियो।

मतदान उपकरणले मतदान सम्पन्न भएको करिब १० मिनेटभित्रै नतिजा तयार गरेको थियो। तर विधानअनुसार विभिन्न क्लस्टर र आरक्षण व्यवस्थाअनुसार अन्तिम परिणाम मिलाउने कार्य निर्वाचन समितिले गर्नुपरेकाले सो प्रक्रियामा धेरै समय लागेको हो। यो ढिलाइ मतदान उपकरणबाट नतिजा निकाल्न नसकेको कारणले होइन, बरु अन्तिम परिणामलाई विधानअनुसार वर्गीकरण र प्रमाणीकरण गर्नुपर्ने प्रक्रियाका कारण भएको हो।

उम्मेदवारको नाम र क्रम सङ्ख्या कसरी बिग्रियो ?

कतिपयले मतदान मेशिनमा उम्मेदवारको नाम र क्रम सङ्ख्या फरक राखिएको भन्ने बुझाइ व्यक्त गर्नुभएको छ। यस सम्बन्धमा स्पष्ट गर्न चाहन्छौँ कि मतदान मेशिनमा उम्मेदवारको विवरण निर्वाचन समितिबाट आधिकारिक रूपमा हस्ताक्षर गरी उपलब्ध गराइएको अन्तिम नामावलीका आधारमा कुनै पनि परिवर्तन नगरी जस्ताको तस्तै समावेश गरिएको हो।

निर्वाचन प्रक्रियामा निर्वाचन समितिले स्वीकृत गरी जारी गरेको अन्तिम नामावली नै आधिकारिक अभिलेख हुने भएकाले उम्मेदवारहरूले पनि सोही आधारमा आफ्नो प्रचारप्रसार गर्ने प्रचलन रहेको हुन्छ। त्यसैले मेशिनमा कुनै नाम, क्रम सङ्ख्या वा अन्य विवरण थप्ने, हटाउने वा परिवर्तन गर्ने अधिकार वा भूमिका हाम्रो हुँदैन।

यस महाधिवेशनमा पनि निर्वाचन समितिबाट हस्ताक्षरसहित प्राप्त अन्तिम सूचीलाई अक्षरशः मेशिनमा समावेश गरिएको हो । त्यसैले उम्मेदवारको नाम वा क्रम संख्या सम्बन्धी कुनै पनि परिवर्तन वा त्रुटि मतदान मेशिन वा हाम्रो प्रविधिका कारण भएको होइन।

अनिवार्य मतदान किन गरियो ? 

निर्वाचन पूर्व रास्वपा पार्टी कार्यालयमा जाँदा नै हामीले ‘राइट टु रिजेक्ट’ ‘राइट टु रिकल’ जस्ता ब्यानर पार्किङमै टाँसिएको देखेका थियौँ। सोही अनुसार हामीले सम्झौता गर्दा नै ऐच्छिक मतदानका लागि मेशिन तयार गर्ने भनी बुँदामा उल्लेख गरिएको थियो।

जब उहाँहरूले हामीलाई मध्यरातमा अन्तिम नामावली दिनुभयो र एउटा मेशिनमा उक्त नामावली लोड गरी निर्वाचन आयोगलाई देखायौँ, उहाँहरूले त्यतिखेरै ‘यो त अनिवार्य गर्नुपर्छ’ भनेर हामीलाई त्यस्तै बनाउन भन्नुभयो । हामीले सम्झौताअनुसार नभए समस्या ल्याउँछ भन्यौँ। उहाँहरूले जसरी हुन्छ अनिवार्य गर्नुस् भनेपछि हामीले सम्झौताको बुँदा उल्लेख गर्दै लिखित निर्देशन माग्यौँ।

सोही अनुसार उहाँहरूले लिखित निर्देशन दिएपछि मात्र हामीले मेशिनमा परिवर्तन गरेका हौँ। अनिवार्य मतदान भएकाले केही बढी समय लाग्नु स्वाभाविक नै हो।

592237900_2550975428680261_4661277141428351047_n

उम्मेदवारको फोटो किन आएन ? 

विद्युतीय मतदान उपकरणको मुख्य राम्रो पक्ष भनेको उम्मेदवारको फोटोसहितको नामावली विद्युतीय मतपत्रमा राख्न सकिने र तस्बिर हेर्दै मतदान गर्न सकिने कुरा हो। हामीले सम्झौतामा पनि यसै अनुसार बुँदा उल्लेख गरेका थियौँ।

हामीले भूगोल लगायतका उम्मेदवारको नामावली फोटोसहित तयार गरिसकेका थियौँ। तर अन्तिममा आएर भूगोलबाहेक सबैलाई एकै ठाउँमा राख्ने भनेर निर्णय भएकाले र तत्काल निर्वाचन सुरु गर्नुपर्ने भएकाले उहाँहरूले नै फोटोविनै निर्वाचन सुरु गर्नु भनेकाले तस्बिर नराखी निर्वाचन गर्नु परेको हो। तस्बिर नराख्दा आम मतदाताले कुरा उठाउनु स्वाभाविक हो र हामी त्यस चिन्तालाई स्वीकार गर्दछौं।

नतिजा किन ढिला आयो ? 

आषाढ १० गते दिउँसो १ बजे सकिएको निर्वाचनको मतगणनाका लागि सबै चिप्स सङ्कलन गर्दै गर्दा प्रवासको निर्वाचन त सुरु नै भएको छैन भन्ने खबर आयो। प्रवासमा निर्वाचन नै नभई मेशिनको मत गणना गर्दा नतिजा प्रभावित हुने भएकाले प्रवासको मतदान भई नतिजा नआएसम्म गणना नगर्ने भनियो।

बेलुकी ६ बजेतिर प्रवासको मतदान सकियो भनेपछि हामीले जम्मा १० मिनेटमा ८० वटा मेशिनको २,९२,९४१ वटा स्वस्तिक छाप गणना गरी निर्वाचन आयोगलाई प्रदान गर्‍यौँ। मत परिणामलाई औपचारिक नतिजामा ल्याउन निर्वाचन आयोगलाई जति समय लाग्यो, त्यो हाम्रो प्रणालीको होइन– आयोगको आन्तरिक प्रक्रियाको कारण हो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप