सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

लोसपामा परिवारवाद हाबी, सम्धीदेखि छोरीसम्म केन्द्रीय सदस्य

मङ्गलबार, ०९ असोज २०८०, १० : २०
मङ्गलबार, ०९ असोज २०८०

जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मा परिवारवाद हाबी भएको छ । सो पार्टीको पदाधिकारी तथा केन्द्रीय समितिमा शीर्ष नेताहरुको परिवार तथा आफन्त समेटिएका हुन् ।

अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेताद्वय राजेन्द्र महतो तथा शरदसिंह भण्डारीले केन्द्रीय समिति तथा पदाधिकारीमा आफ्नै परिवार तथा आफन्त समेटेका छन् । लोसपाको केन्द्रीय कार्यसमितिमा १ अध्यक्ष, ३ वरिष्ठ नेता, १ वरिष्ठ सह–अध्यक्ष, ६ वरिष्ठ उपाध्यक्ष, १५ उपाध्यक्ष, १६ महासचिव, ८ सह–महासचिव, ११ सचिव, २ कोषाध्यक्ष, १ सह–कोषाध्यक्ष र १ प्रवक्ता तथा १ सय ८४ जना केन्द्रीय सदस्य छन् ।

अध्यक्ष ठाकुरले सम्धी उमाकान्त झालाई वरिष्ठ उपाध्यक्ष, सम्धिनी इन्द्रा झालाई उपाध्यक्ष तथा छोरी मिनाक्षीलाई केन्द्रीय सदस्य बनाएका छन् ।अध्यक्ष ठाकुरले यसअघि सम्धी उमाकान्त झालाई तत्कालीन प्रदेश नम्बर ५ (हाल लुम्बिनी प्रदेश) का प्रदेश प्रमुख बनाएका थिए । त्यसअघि २०६९ को खिलराज रेग्मी नेतृत्वको अन्तरिम चुनावी मन्त्रिपरिषद्मा झालाई मन्त्री बनाएका थिए भने सम्धिनी इन्द्रा झालाई समानुपातिक सांसद बनाएका थिए ।

वरिष्ठ नेता राजेन्द्र महतोका ज्वाइँ अनिल महासेठ तथा भतिजा उपेन्द्र महतो महासचिव बन्न सफल भएका छन् । यद्यपि महासेठले महासचिव पद अस्वीकार गरेका छन् ।

महासेठले सोमबार नै फेसबुकमा एक स्ट्याटस लेख्दै पद अस्वीकार गरेका हुन् । उनले लेखेका छन्, ‘मलाई महासचिवको जिम्मेवारी दिएको पार्टीलाई धन्यवाद, म महासचिवको अपेक्षाकृत थिइनँ, जिम्मेवार साथीहरूको अवमूल्यन हुनु, उचित स्थान पाउन नसक्नु दुःखद अवस्था हो । तसर्थ मेरो नाम महासचिवबाट हटाएर अन्य जिम्मेवार साथीलाई दिन आग्रह गर्दछु ।’

अर्का महासचिव उपेन्द्र महतो मधेस प्रदेशसभा सदस्यमा सर्लाहीबाट दोस्रो पटक निर्वाचित सांसद हुन् । वरिष्ठ नेता शरदसिंह भण्डारीकी छोरी सृष्टि सचिव बन्न सफल भएकी छन् । भण्डारी निकट मानिने निर्जला राउतलाई वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष दुवै पद दिलाएका छन् । भण्डारी अहिले लोसपाको तर्फबाट सरकारमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री छन् ।

पार्टीमा महन्थ ठाकुर अध्यक्ष, राजेन्द्र महतो, शरतसिंह भण्डारी र अनिलकुमार झालाई वरिष्ठ नेता तथा सर्वेन्द्रनाथ शुक्लालाई वरिष्ठ सह–अध्यक्ष बनाइएको छ । यस्तै, जितेन्द्रप्रसाद सोनल, उमाकान्त झा, लक्ष्मणलाल कर्ण, अकवाल अहमद शाह, निर्जला राउत र प्रदीप नारायण यादवलाई वरिष्ठ उपाध्यक्ष बनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अमरेन्द्रकुमार यादव
अमरेन्द्रकुमार यादव
लेखकबाट थप