बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

रोयल ब्लूले कीर्तिमानी क्रिकेटर दीपेन्द्र र कुशललाई जनही दुई लाख रुपैयाँ पुरस्कार दिने

बिहीबार, ११ असोज २०८०, १५ : ३५
बिहीबार, ११ असोज २०८०

काठमाडौँ । चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगितामा विश्व कीर्तिमान बनाउने दुई नेपाली खेलाडी दीपेन्द्रसिंह ऐरी र कुशल मल्ललाई रोयल ब्लूले जनही दुई लाख रुपैयाँ नगद पुरस्कार प्रदान गर्ने भएको छ । 

रोयल ब्लूका ब्रान्ड प्रमुख श्रतिक शाहीका अनुशार, अन्तर्राष्ट्रिय प्रतियोगितामा विश्व कीर्तिमान बनाएर देशको गौरव बढाउने खेलाडीको हौसला बढाउन नगद पुरस्कार प्रदान गर्न लागिएको हो । एसियाली खेलकुदको पुरुष क्रिकेटमा बुधबार मंगोलियाविरुद्घको खेलमा नेपाली खेलाडीले थुप्रै विश्व कीर्तिमान बनाएको थिए ।

उक्त खेलमा दीपेन्द्र टी—२० अन्तर्राष्ट्रिय क्रिकेटको इतिहासमा सर्वाधिक कम बलमा अर्धसतक प्रहार गर्ने खेलाडी बनेका थिए । उनले केवल नौ बलमा ५० रन बनाएका थिए । यसअघि, भारतका ब्याट्सम्यान युवराज सिंहले सन् २००७ मा इंग्ल्याण्डविरुद्ध १२ बलमा सबैभन्दा चाँडो अर्धशतक बनाएका थिए । ऐरीले युवराज सिंहको त्यही कीर्तिमान तोडेका थिए । 

यसका अतिरिक्त दीपेन्द्र सिंह टी—२० अन्तर्राष्ट्रिय क्रिकेटको एकै पालीमा सर्वाधिक स्ट्राइक रेटसहित रन बनाउने खेलाडी पनि बनेका थिए । मंगोलियाविरुद्ध केवल १० बलमा अविजित ५२ रन बनाउँदा दीपेन्द्रको स्ट्राइक रेट ५२० रहेको थियो । 

यसअघि उक्त कीर्तिमान वेस्ट इन्डिजका ब्याट्सम्यान ड्वेन स्मिथको नाममा रहेको थियो । उनले सन् २००७ को सेप्टेम्बर १३ मा बंगलादेशविरुद्ध ४१४.२८ को स्ट्राइकर रेटमा रन बनाएका थिए । उक्त खेलमा उनले सात बलको सामना गरी २९ रन बनाएका थिए । 

क्यानडाका साद बिन जाफरले पनि सन् २०२२ को नोभेम्बर १४ मा बहराइनविरुद्ध ४१४.२८ को स्ट्राइकर रेटमा रन बनाएका थिए । उनले त्यो खेलमा सात बलको सामना गरी अविजित २९ रन जोडेका थिए ।

यसैगरी पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको मंगोलियाविरुद्ध नेपाली टोलीका ब्याट्सम्यान कुशल मल्लले अविजित एक सय ३७ रन बनाएका थिए । कुशलले पनि मंगोलियाविरुद्धको खेलमा कीर्तिमान बनाएका थिए । 

कुशलले केवल ५० बलको सामना गरी १२ छक्का र आठ चौका पनि हिर्काएका थिए । उनले सबैभन्दा छिटो शतक पुरा गर्ने खेलाडीको कीर्तिमान बनाएका थिए । ्बायाँहाते ब्याट्सम्यान कुशलले केवल ३४ बलमा शतक पुरा गरेका थिए । 

यसअघि टी—२० अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक छिटो शतक पुरा गर्ने खेलाडीको कीर्तिमान भारतका रोहित शर्माको नाममा थियो । भारतीय टोलीका वर्तमान कप्तान शर्माले ३५ बलमा शतक बनाएका थिए । शर्माका अतिरिक्त दक्षिण अफ्रिकाका डेभिड मिल्लर र चेक गणतन्त्रका एस. बिक्रमाशेकराले पनि ३५ बलमा अर्धशतक बनाएका थिए । कुशलले उनीहरूकै कीर्तिमान तोडेका हुन् । 

यसका अतिरिक्त मंगोलियाविरुद्घको खेलमा नेपाली टोलीले टी—२० अन्तर्राष्ट्रिय क्रिकेटको एकै पाली (इनिङ्स) मा सर्वाधिक छक्का प्रहार गर्ने कीर्तिमान पनि आफ्नो नाममा पारेको थियो । उक्त खेलमा नेपाली ब्याट्सम्यानहरुले कुल २६ वटा छक्का हिर्काएका थिए । 

यसअघि टी—२० अन्तर्राष्ट्रिय क्रिकेटको एकै पालीमा सर्वाधिक छक्का हिर्काउने राष्ट्रको कीर्तिमान अफगानिस्तानको नाममा थियो । अफगानिस्तानले सन् २०१९ को फेब्रुअरी २३ तारिखमा खेलिएको आयरल्यान्डविरुद्धको खेलमा २२ वटा छक्का हिर्काएको थियो ।

सन् २०२३ को मार्च २६ तारिखमा खेलिएको दक्षिण अफ्रिकाविरुद्धको वेस्ट इन्डिजले पनि २२ वटा छक्का हिर्काएको थियो । नेपाली टोलीले बुधबार अफगानिस्तान र वेस्ट इन्डिजको नाममा रहेको सोही कीर्तिमान तोडेको हो । 

यसैगरी मंगोलियाविरुद्धको खेलपछि नेपाल छक्का र चौकाको मद्दतले एकै पालीमा सर्वाधिक रन जोड्ने राष्ट्र पनि बनेको थियो । मंगोलियाविरुद्धको खेलमा नेपाली टोलीले छक्का र चौकाबाट मात्र दुई सय १२ रन जोडेको हो । यसका क्रममा नेपालले २६ छक्काका अतिरिक्त १४ वटा चौका पनि हिर्कायो ।

यसअघि टी—२० अन्तर्राष्ट्रिय क्रिकेटको इतिहासमा छक्का र चौकाको मद्दतले एकै पालीमा सर्वाधिक रन बनाउने राष्ट्रको कीर्तिमान भारतको नाममा थियो । सन् २०१७ को डिसेम्बर २२ मा खेलिएको श्रीलंकाविरुद्धको खेलमा भारतले छक्का र चौकाबाट दुई सय १० रन बनाएको थियो । श्रीलंकाविरुद्धको उक्त खेलमा भारतले २१ छक्का र २१ वटा चौका हिर्काएको थियो । 

मंगोलियाविरुद्धको बुधबार खेलिएको खेलमा नेपालले अन्य विश्व कीर्तिमान पनि बनाएको थियो । नेपालले उक्त खेलमा टी—२० अन्तर्राष्ट्रिय क्रिकेटको इतिहासमै विश्व कीर्तिमानी जित हासिल गरेको थियो । नेपालले मंगोलियालाई दुई सय ७३ रनको विशाल अन्तरले हराएको थियो । 

यसअघि टी—२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा ठुलो अन्तरको जितको कीर्तिमान चेक गणतन्त्रको नाममा थियो । चेक गणतन्त्रले सन् २०१९ को अगस्त ३० मा खेलिएको खेलमा टर्कीलाई दुई सय ५७ रनले हराएको थियो । नेपालले त्यो कीर्तिमान तोडेको हो । 

मंगोलियाविरुद्धको खेलमा टस हारी पहिले ब्याटिङ गर्दै नेपालले निर्धारित ओभरमा तीन विकेट गुमाएर तीन सय १४ रन बनाएको थियो । त्यो पनि विश्व कीर्तिमान थियो । यसअघि टी—२० अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक रनको कीर्तिमान अफगानिस्तानको नाममा थियो । अफगानिस्तानले सन् २०१९ को फेब्रुअरी २३ मा खेलिएको आयरल्यान्डविरुद्धको खेलमा तीन विकेट गुमाएर दुई सय ७८ रन बनाएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप