बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

शिक्षक महासङ्घ र सरकारबीच भएको सम्झौताप्रति अधिकांशको असन्तुष्टि

शुक्रबार, १२ असोज २०८०, ०९ : ५४
शुक्रबार, १२ असोज २०८०

रौतहट । नेपाल सरकार र नेपाल शिक्षक महासंघबीच काठमाडौँमा हालै भएको दुई पक्षीय सहमति प्रति रौतहटका अधिकांश  शिक्षकहरूले असन्तुष्टि जनाएका छन् ।

नेपाल शिक्षक सङ्घ रौतहटको आयोजनामा बिहीबार गरुडामा भएको समीक्षा बैठकमा सहभागी अधिकांश शिक्षकहरूले महासङ्घ र सरकारबीच भएको सम्झौतालाई धोखाघडी भनेर असन्तुष्टि जनाएका थिए।

देशको ७७ वटै जिल्लाका सहभागी शिक्षकको आन्दोलनको बलमा सरकारसँग भएको दुई पक्षीय वार्तामा नेपाल शिक्षक महासङ्घको भूमिका गैर जिम्मेवार रहेको उनीहरुले आरोप लगाएका थिए।

शिक्षकहरूको सम्पूर्ण मागहरू सम्बोधन हुन नसक्दा महासङ्घले अडान लिनुपर्ने स्थानमा माग सम्बोधन नहुँदै सहमति गरेको भन्दै सहभागी अधिकांश शिक्षकले असन्तुष्टि जनाएका थिए।

समीक्षा बैठकमा नेपाल शिक्षक सङ्घ मधेस प्रदेशका अध्यक्ष रामकृपाल यादवले भने सरकारसँग भएको वार्ता उपलब्धिमूलक भएको दाबी गरेका थिए। सरकारसँग भएको सहमतिको अधिकांश बुन्दामा शिक्षकको हकहितको पक्षमा भएकाले वार्ता उपलब्धिमूलक भएको प्रदेश अध्यक्ष यादवले दाबी गरेका थिए। 

समीक्षा बैठकमा नेपाल शिक्षक सङ्घका प्रदेश कमिटी, जिल्ला कमिटीका पदाधिकारीका साथै रौतहटको १८ वटै पालिकाका सभापति, विभिन्न विद्यालयका प्रधानाध्यापक , शिक्षक गरी १०० भन्दा बढी मानिसको सहभागिता रहेको सहभागी प्रदेश प्रतिनिधि शिक्षक रञ्जन खरेलले जानकारी दिएका छन्।

शिक्षकहरूको काठमाडौँ केन्द्रित आन्दोलन पछि महासङ्घको पहलमा सरकारसँग भएको वार्ता प्रति असन्तुष्टि जनाउँदै नेपाल शिक्षक सङ्घका प्रदेश कमिटीका उप महासचिव मुक्ति नारायण कुशवाहाले सङ्घ बाट राजीनामा दिएका छन् । त्यसैगरी वार्तामा महासङ्घले बेइमानी गरेको भन्दै कैयौँ पदाधिकारी राजीनामा दिने तयारीमा रहेको समाचार प्राप्त भएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप