बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

विश्वकप २०२३ : प्रभाव पार्न सक्ने खेलाडी – शुभमन गिल (भारत)

शुक्रबार, १२ असोज २०८०, १९ : ४१
शुक्रबार, १२ असोज २०८०

तेस्रो पटक आईसीसी एकदिवसीय विश्वकपको उपाधि चुम्ने दाउमा रहेको भारतीय टोलीको सबैभन्दा महत्त्वपूर्ण हतियार हुन्, युवा ब्याट्सम्यान शुभमन गिल । घरेलु मैदानमा एकदिवसीय विश्वकपका १३औँ संस्करण खेल्दा भारतले २४ वर्षीय गिलबाट निकै ठुलो आशा गरेको छ ।

उनी भारतीय टोलीको ओपनर ब्याट्सम्यान हुन् । सन् २०१९ को जनवरी ३१ मा न्युजिल्यान्डविरुद्धको खेलबाट उनले एकदिवसीय प्रतियोगितामा ‘डेब्यू’ गरेका थिए । उनले हालसम्म भारतका लागि ३५ वटा एकदिवसीय खेल खेल्दै ६६.१० को औसतमा कुल एक हजार नौ सय १७ रन बनाएका छन् । 

एकदिवसीय प्रतियोगितामा उनले हालसम्म ६ वटा शतक र नौवटा अर्धशतक पनि प्रहार गरेका छन् । एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा उनको उत्कृष्ट प्रदर्शन दुई सय आठ रन हो । उनले भारतका लागि १८ वटा टेस्ट पनि खेलेका छन् । 

टेस्ट क्रिकेटमा उनले ३२.२० को औसतले कुल नौ सय ६६ रन बनाएका छन् । टेस्ट क्रिकेटमा उनको उत्कृष्ट प्रदर्शन एक सय २८ रन हो । टेस्ट क्रिकेटमा उनले दुई शतक र चारवटा अर्धशतक पनि प्रहार गरेका छन् । 

यसका अतिरिक्त उनले भारतका लागि ११ वटा टी—२० अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेर ३०.४० को औसतमा कुल तीन सय चार रन बनाएका छन् । टी—२० प्रतियोगितामा उनले एक शतक र एक अर्धशतक पनि हिर्काएका छन् । टी—२० खेलमा उनको उत्कृष्ट प्रदर्शन अविजित एक सय २६ रन हो ।

विभिन्न उमेर समूहका टोलीहरूमा उत्कृष्ट प्रदर्शन गर्दै उनले भारतको राष्ट्रिय टोलीमा स्थान बनाएका हुन् । चर्चित फ्रेन्चाइज क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिगले पनि उनको प्रदर्शनमा निखार ल्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ । 

पछिल्लो समय उनी आईसीसी एकदिवसीय ब्याट्सम्यान वरीयताको दोस्रो स्थानमा रहेका छन् । उनी उक्त वरीयताको पहिलो स्थानमा आसिन पाकिस्तानी ब्याट्सम्यान बाबर आजमलाई उछिन्ने अभियानमा देखिएका छन् । 

हालै सम्पन्न अस्ट्रेलियाविरुद्घको एकदिवसीय शृंखलामा पनि उनले ओपनर ब्याट्सम्यानको भूमिकामा उत्कृष्ट प्रदर्शन गरेका थिए । अस्ट्रेलियाविरुद्धको पहिलो खेलमा उनले ६४ बलमा ७४ रन बनाएका थिए । दोस्रो खेलमा पनि उनले ९७ बलमा एक सय चार रन बनाएका थिए । त्यसैले यो विश्वकपमा भारतले गिलबाट उत्कृष्ट प्रदर्शनको आशा गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप