शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय
कविता

सम्झना

शनिबार, १३ असोज २०८०, १२ : २१
शनिबार, १३ असोज २०८०

दशक दशक जुनीभरि 
नछुट्टिने किरिया खाएका मान्छेले
छुटेर टाढा गएपछि 
आउने भनेको त सम्झना मात्रै रहेछ 
छाडेर जाने, फर्किनु भनेको
उँधो बगेको खोला 
उँभो फर्किनु जस्तै हुँदो रहेछ  ।

बाफ, बादल अनि वर्षा
विज्ञानमा मात्रै बाँच्दो रहेछ 
बिर्सन लागेको धमिलो सम्झना
खाटा बस्न लागेको प्रेम घाउ
फुङ्ग रङ उडेको श्यामश्वेत तस्बिर 
सपना भरी के के बोलेर 
त्यसै त्यसै झक्झक्याई दिन्छ ।
उनी कल्पनाको बगैंचाभरी 
फुल बनी फुल्छिन्
म मदहोस भँवरा
उनकै वरिपरि 
फनफनी उडिरहेको हुन्छु 
सपनाहरू देख्दै गरेको 
मेरो फगत कोरा कल्पनामा 
उनी गएदेखि मेरो बिपनाहरू
यादहरूको गह्रुँगो भारी बोकेर 
एक्लै हिँड्दैछु ।

सँगै यात्रा गरौँ भन्ने 
तिमीले रोजेको बाटोमा
दुःखद वियोगान्त कथाको 
पात्र बनेको म
निमोठिएको प्रेमको 
अल्पायुमा भएको निधन 
दोषी तिमी हो कि म ?

चेतना गुम हुँदै गर्दा
कालो औँसी खस्छ म माथि 
बिलौना गर्दै गरेको एक हुल तारा
म आफैँ आफ्नोलाई बिर्सेर
आवेशमा आक्रोशित हुँदै 
मृत्युपत्रमा हस्ताक्षर गर्न राजी हुन्छु ।

साझा बोझ बोक्ने कसम तोडेर
कोशेलीस्वरूप दिएको 
मीठो उनको उपहार 
भुल्नै नसकिने पीडा र रोदन 
पश्चात्ताप र निराशा 
एक समय, एक सुन्दर अतीत
मैले गरेको मायाको सुन्दरता 
सम्झे अनि महसुस गरेँ
म उनको सौन्दर्यको तालमा नाचिरहेको
फगत कोरा कल्पनामा
फगत नटुङ्गिने गोरेटोमा
फगत परेली भिजेको नयनको सामुन्नेमा
वर्षौँदेखि बिर्सन प्रयास गरेको कोसिसमा
तर,
समयसँगै आइरहे सम्झना
सन्दर्भसँगै आइरहे सम्झना
साथसँगै आइरहे सम्झना 
म सँगै मर्छन् होला 
सधैँ आइरहने अदृश्य सम्झना ।

 पाँचखाल, काभ्रेपलान्चोक 

हालः लिमासोल, साइप्रस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुशील लामा
सुशील लामा
लेखकबाट थप