शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

ज्याकलिन फर्नान्डिसको फोटोमा कमेन्ट गर्दा मुस्किलमा फसे मिका सिंह, जेलबाट सुकेशले दिए चेतावनी

बिहीबार, १८ असोज २०८०, १५ : ५१
बिहीबार, १८ असोज २०८०

२०० करोडको मनी लन्ड्रिङ मुद्दाका मुख्य अभियुक्त सुकेश चन्द्रशेखरले बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिसको फोटोमा कमेन्ट गर्दा बलिउड गायक मिका सिंहलाई कानुनी नोटिस जारी गरेको छ । हालै ज्याकलिन फर्नान्डिसले हलिउड अभिनेता जिन क्लाउडसँग एउटा तस्बिर साझा गरेकी थिइन् । यसमा मिका सिंहले निकै अचम्मको कमेन्ट गरेका थिए । यसमा अब अभिनेत्रीकी कथित प्रेमी सुकेशले गायकलाई कानुनी नोटिस पठाउँदै चेतावनी दिएको छन् । यसका साथै उनले मिकालाई माफी माग्नसमेत भनेका छन् । 

वास्तवमा, मिका सिंहले अभिनेत्रीको फोटोमा कमेन्ट गर्दै लेखेका थिए, ‘तिमी असाध्यै राम्री देखिएकी छौ । उनी सुकेशभन्दा धेरै राम्रा छन् ।’ गायकको यो विवादित कमेन्टमा थुप्रैले कमेन्ट गरे, त्यसपछि गायकले उक्त कमेन्ट डिलिट गरिदिए । यद्यपि, त्यति बेलासम्म ज्याकलिनको फोटोमा मिकाको कमेन्ट भाइरल भइसकेको थियो । यस्तोमा अब सुकेशले मिका सिंहलाई नोटिस पठाएका छन् । 

ई–टाइम्सको रिपोर्ट अनुसार सुकेशका वकिल अनन्त मलिकद्वारा मिका सिंहलाई पठाएको नोटिसमा भनिएको छ, ‘तपाईंको यो बयानले मेरो क्लाइन्टको क्यारेक्टर र व्यक्तित्वमा प्रश्न खडा भएको छ । यसले गर्दा उनले मिडियाको प्रश्नको जवाफ दिनु परिरहेको छ । यो स्थितिले उनको वर्तमान सङ्कटलाई थप बढाएको छ र लगातार मिडियाको अनुसन्धानका कारण महत्त्वपूर्ण चुनौती निम्त्याएको छ ।’

कानुनी नोटिसमा थपिएको छ, ‘सुकेश चन्द्रशेखर देशका एक चर्चित व्यक्तित्व हुन् । उनको सम्बन्ध राजनीतिक घरानादेखि बलिउडसम्म छ । तपाईंको यस्तो बयानले सुकेशको छविमा नकारात्मक असर पारिरहेको छ । मिका सिंह आफैँ पनि बलिउडका सदस्य हुन् र उद्योगको दुःखसँग पूर्ण रूपमा जानकार छन् । उनलाई थाहा छ कि इन्डस्ट्रीमा जोसुकैले नाम स्थापित गर्न कत्तिको समस्या भोग्नुपर्छ । उनलाई थाहा छ, उद्योगमा आफ्नो भिन्न छाप छोड्न कत्तिको मुस्किल छ । यति हुँदा हुँदै पनि उनले असाध्यै नराम्रो कमेन्ट गरेका छन् ।’

नोटिसमा मिका सिंहको टिप्पणीलाई कथित रूपमा सुकेशको छवि खराब गर्न ‘जानीजानी र हतारमा’ गरिएको निर्णय बताइएको छ । साथै यस्तो खालको व्यवहार सहन नसकिने स्पष्ट पारिएको छ । ‘त्यसैले तपाईंलाई यो सूचित गरिन्छ कि तपाईंको अपमानजनक टिप्पणीले तपाईंले मानहानिको गम्भीर अपराध गर्नुभएको छ त्यसैले अरू कुराबाहेक भारतीय दण्ड संहिताको प्रावधान अनुसार मुद्दा चलाउन सकिनेछ ।’

यसका साथै सुकेशले मिका सिंहबाट माफी पनि मागेका छन् । यस्तो नगर्दा आफू कानुनी उपचार गर्न बाध्य हुने बताएका छन् । नोटिसमा लेखिएको छ, ‘मानहानि एक अपराध हो, दुई वर्षसम्मको जेल सजाय हुनसक्छ । यसबाहेक तपाईंको बयान मेरो क्लाइन्टको व्यक्तित्व अधिकारको पनि उल्लङ्घन हो भनेर सूचित गरिन्छ । तपाईंलाई (मिका सिंहलाई) तुरुन्त मेरा क्लाइन्ट (सुकेश) सँग बिना सर्त माफी माग्न निर्देशन दिइन्छ । साथै, भविष्यमा कुनै पनि अपमानजनक बयान दिन र मेरा क्लाइन्टलाई तनाव दिनबाट जोगिन पनि आदेश दिइन्छ ।’

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप