जग्गा फुकुवा गर्न काठमाडौँ पूर्वी क्षेत्रका ५ नगरपालिकाले दिए सहरी विकास मन्त्रालयलाई चेतावनी
काठमाडौँ । काठमाडौँका पूर्वी क्षेत्रका ५ वटा नगरपालिकाले सहरी विकास मन्त्रालयले रोक्का राखेको जग्गा फुकुवा गर्न चेतावनी दिएका छन् । स्मार्ट सिटी अर्थात नयाँ सहर निर्माणका लागि भनेर सहरी विकास मन्त्रालय अन्तर्गतको काठमाडौँ उपत्यका विकास प्राधिकरणले २०७४ सालदेखि रोक्का गरेकाे जग्गा फुकुवा गर्न माग गरेका छन् ।
यदि सहरी विकास मन्त्रालयले रोक्का जग्गा फुकुवा नगरे स्थानीय सरकारको अधिकार बमोजिम जग्गा कित्ता काटको सिफारिस गर्न स्थानीय सरकार अगाडी बढ्ने चेतावनी समेत दिएका छन् ।
बिहीबार काठमाडौँ उपत्यकाका पूर्वी क्षेत्रमा रहेका पाँचवटा नगरपालिकाहरू कागेश्वरी मनोहरा, शंखरापुर, मध्यपुर थिमी, चाँगुनारायण र सूर्यविनायक नगरपालिकाले सामूहिक रूपमा विज्ञप्ति निकाली जग्गा रोक्का राखेर ६ वर्षसम्म पनि काम अघि नबढाएपछि यस्तो चेतावनी दिएका हुन् ।
सहरी विकास मन्त्रालयले २०७४ साल असार ५ गते राजपत्रमा सूचना प्रकाशित गरी काठमाडौँ उपत्यका विकास प्राधिकरण ऐन २०४५ को दफा ७ बमोजिम ३ वर्षका लागि नयाँ नगर निर्माण एवं विकास गर्ने र सो प्राधिकरणको पूर्व स्वीकृति विना कुनै प्रकारले भौतिक परिवर्तन गर्न वा जग्गा टुक्रयाउन नपाउने गरी रोक लगाइएकोमा उक्त सूचनाको म्याद समेत समाप्त भएकोप्रति उनीहरुले ध्यानाकर्षण गराएका छन् ।
५ जना नगरप्रमुखले संयुक्त रूपमा हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ– ‘हाल सम्म उक्त नयाँ सहर निर्माणको लागि विस्तृत परियोजना प्रतिवेदन डीपीआर लगायत कुनै पनि काम सुरु नभएको अवस्थामा उक्त जग्गा रोक्का भइरहँदा आम जनसमुदायलाई घर लगायत अन्य संरचना निर्माण गर्न र कित्ता काट गर्ने कार्यमा समस्या परि जनसमुदायको दैनिक जन गुनासो आउने गरेकोले यथाशीघ्र उक्त जग्गाको रोक्का फुकुवा गर्न नेपाल सरकार सहरी विकास मन्त्रालय लगायत सम्बन्धित निकायहरूलाई अनुरोध गर्दछौँ । सहरी विकास मन्त्रालयले रोक्का गरी राखेको जग्गा तत्काल फुकुवा नगरेमा स्थानीय सरकारको अधिकार बमोजिम जग्गा कित्ता काटको सिफारिस गर्न स्थानीय सरकार अगाडी बढ्नेछौँ ।’
कागेश्वरी मनोहरा नगर कार्यपालिका प्रमुख उपेन्द्र कार्की, शंखरापुर नगरपालिका प्रमुख, रमेश नापित, सूर्यविनायक नगरपालिका प्रमुख वासुदेव थापा, चाँगुनारायण नगरपालिका प्रमुख, जीवन खत्री, मध्यपुर थिमी नगरपालिका प्रमुख सुरेन्द्र श्रेष्ठले सहरी विकास मन्त्रीलाई जग्गा फुकुवाका लागि सामूहिक रूपमा पत्र समेत पठाएका छन् ।
स्मार्ट सिटीका लागि भन्दै कागेश्वरी मनोहरा नगरपालिका ४, ५, ६, ७, ८ र ९ वडा, शंखरापुर नगरपालिका ५, ६, ७ र ९ का क्षेत्र, भक्तपुर नगरपालिका २, ६ र १० वडा, मध्यपुर थिमी नगरपालिका २, ६, ७, ८ र ९ वडा, चाँगुनारायण नगरपालिका १, २, ३, ४, ५ को पूरै भाग र ६, ७, ८ को केही भाग गरी ५२ दशमलव ७ वर्ग किमि जग्गा रोक्का गरिएको थियो ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण