आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

ओलीको आडमा सरकारविरुद्ध शेखर : कोशी प्रदेशबाट चलखेलको तयारी

शुक्रबार, १९ असोज २०८०, १६ : ४२
शुक्रबार, १९ असोज २०८०

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर पक्ष माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारको विकल्प खोज्ने कसरतमा तल्लीन छ । इतर समूहका प्रमुख नेता डा. शेखर कोइराला करिब दुई महिना यता प्रचण्ड सरकारमाथि आक्रामक सुनिन्छन् । त्यसलाई महामन्त्री गगन थापा र नेता प्रदीप पौडेलको अभिव्यक्तिले थप बल पुर्याएको देखिन्छ ।

सरकारको डेलिभरी, मुलुकका फैलिएको अराजकता लगायतका विषयलाई मुद्दा बनाएर गठबन्धनको प्रमुख घटक कांग्रेसको इतर पक्ष सरकारको विकल्पको खोजीमा छ ।

सरकार तत्काल नसच्चिए कांग्रेसले साथ छाड्नुपर्ने नेता कोइराला तर्क छ । वर्तमान सरकार जति दिन रह्यो, त्यति मुलुक बर्बादीतर्फ जाने उनको दाबी छ । प्रधानमन्त्री प्रचण्डसामु अब दुई वटा विकल्पमात्रै रहेको उनको भनाइ थियो ।

‘अब अति भयो । जति दिन यो सरकार राख्यो, त्यति देशको राष्ट्रियता, सार्वभौमिकता, राजनीतिक अवस्था कमजोर हुँदै जान्छ । कांग्रेसको नेतृत्वमा सरकार गठन अपरिहार्य भइसक्यो । यो सरकार जान्छ । कसैले रोकेर रोकिँदैन,’ उनको सार्वजनिक अभिव्यक्ति छ ।

कोइरालाले कसको ‘ब्याक सपोर्ट’मा कांग्रेस सम्मिलित सरकारमाथि धावा बोलिरहेका छन् भन्ने राजनीतिक वृत्तमा चासोको विषय बनेको छ । प्रचण्डको विकल्पमा कांग्रेस सभापति शेरबहादुर देउवालाई खडा गर्न कोइरालाले उक्त अभिव्यक्ति नदिएको बुझ्न गाह्रो छैन ।

कांग्रेस केन्द्रीय सदस्य गोविन्द पोखरेलले प्रचण्ड विकल्पमा देउवा नभएर स्वयं कोइराला नै प्रधानमन्त्री बन्ने सम्भावना रहेको बताए । ‘माओवादीसँगको गठबन्धनमा होस् वा एमालेसँगको, सरकारको नेतृत्व कांग्रेसले गर्नुपर्छ, यही सरकारको निरन्तरता रह्यो भने भ्रष्टाचार, सामाजिक सद्भाव र जनजीविकाका सवालमा अझै धेरै ठूलो निराशा देखिनेछ भनेरै शेखर दाइले सरकार परिवर्तनको कुरा उठाउनुभएको हो,’ पोखरेलले भने ।

खाण फकाएर देउवाविरुद्ध उभिने प्रयास

नयाँ सरकार निर्माणको परिस्थिति बन्दा कोइराला संसदीय दलमा देउवासँग प्रतिस्पर्धामा उत्रिने तयारीमा छन् । अहिले संसदीय दलमा देउवाको ६० प्रतिशत भए पनि त्यसलाई बदल्न आफूले प्रयास गरिरहेको कोइराला बताउँछन् । आफू संसदीय दलको नेता भएपछि एमालेसँग मिलेर सरकार बन्ने सम्भावनालाई उनी नकार्दैनन् । त्यसका लागि कांग्रेसभित्र कोइराला अंकगणितको हिसाब–किताबमा देखिन्छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा केन्द्रीय कारागार सुन्धारामा रहेका देउवा समूहका प्रभावशाली नेता बालकृष्ण खाणमाथि उनको नजर छ । गत साउन ३१ मा खाणलाई भेट्न सुन्धारा पुगेका उनी असोज ६ मा फेरि पुगे । सभापति देउवा र उपप्रधानमन्त्री पूर्णबहादुर खड्कासँग असन्तुष्ट देखिएका खाणको मन जित्न कोइराला दुई पटक सुन्धारा कारागार पुगेको लुकेको छैन ।

खाणका अनुसार भेटमा शेखर कोइरालाले ‘तपाई निर्दोष हुनुहुन्छ । यो मैले बल्ल बुझ्दै छु । तपाईंलाई न्याय दिलाउन मेरो प्रयास रहन्छ,’ भन्छन् । कांग्रेस केन्द्रीय समिति, संसदीय दल, जिल्ला सभापति र भ्रातृ संस्थामा राम्रो पकड भएका पूर्वगृहमन्त्री खाणलाई विश्वासमा लिन सके देउवासँगको प्रतिस्पर्धा सहज हुने कोइरालाको बुझाइ छ ।

केन्द्रीय समितिमा दुई दर्जन सदस्य र संसदीय दलमा डेढ दर्जन सांसद रहेको खाण पक्षको दाबी छ । देउवा टीममा विभाजन नल्याए कोइरालाका लागि संसदीय दल र आगामी महाधिवेशन पनि सहज छैन । आफू संसदीय दलको नेताका लागि अगाडि सर्दा ३४ सांसदको साथ पाउने कोइरालाको विश्वास छ । त्यसमा खाणको माध्यमबाट थप १० तान्न सकिए संसदको यही कार्यकालमा प्रधानमन्त्री बन्न सकिने कोइरालाको विश्लेषण छ । यद्यपि गत पुस ६ गते भएको संसदीय दलको निर्वाचनमा देउवाले ६४ मत पाउँदा महामन्त्री गगन थापा २५ मतमा सीमित भएका थिए ।

दुई तिहाइभन्दा बढी मतले जितेका देउवाविरुद्ध बहुमत पु‍र्याएर अघि बढ्न कोइरालालाई त्यति सहज भने छैन । कोइराला पक्ष भने २०५८ को संसदीय दलको दृष्टान्त दिन्छ । २०५८ मा गिरिजाप्रसाद कोइरालाले होलरी काण्डमा प्रधानमन्त्रीबाट राजीनामा दिएपछि कांग्रेस संसदीय दलको नेता फेरिएको थियो ।

२०५६ मा गिरिजाप्रसादसँग भारी मतले हारेका देउवाले २०५८ मा सुशील कोइरालालाई भारी मतले हराएका थिए । कोइरालाले संसदीय दल र पार्टीभित्र ६० प्रतिशत पुर्याउने मिसनमा भए पनि खाणसँग भेट्नुलाई त्यसरी अर्थ्याउन नहुने बताए । ‘संसदीय दलमा साथ पाउँछु भनेर बालकृष्ण खाणजीलाई भेट्न गएको होइन,’ कोइरालाले भने, ‘तपाईले संसदीय दल र महाधिवेशनको कुरा गर्नुभयो । हामीसँग ४० प्रतिशत हो । त्यसलाई ६० प्रतिशत नबनाइ जितिँदैन । म ६० प्रतिशत बनाउने प्रयासमा छु ।’

आफूले जेलभित्र राजनीतिक कुरा नगरेको भन्दै खाणको बुझाइमा भर पर्ने कोइरालाको भनाइ थियो । ‘उहाँले कसरी लिनुहुन्छ ! तर, म ६० प्रतिशत बनाउने प्रयासमा भने छु । राजनीति गर्ने मान्छेले त्यति त गर्छ,’ कोइरालाले भने ।

कोइरालालाई ओलीको आड

कांग्रेस नेता कोइराला र एमाले अध्यक्ष केपी ओलीबिच विगतदेखि नै राम्रो हिमचिम छ । देउवाले माओवादी केन्द्र, एकीकृत समाजवादी र लोसपासँग चुनावी तालमेलका नाममा आफूलाई पेलेको शेखर–गगनको गुनासो थियो ।

तत्कालीन गठबन्धनसँग झस्किएका ओलीले शेखर–गगनलाई गत वर्ष मंसिरमा सम्पन्न आम निर्वाचनमा आधा–आधा सिटमा तालमेलको प्रस्ताव राखेका थिए । टिकट वितरणमा ४० प्रतिशत हिस्सा नदिए ओलीको प्रस्तावका लागि तयार हुनुपर्ने महामन्त्री थापाको मत थियो । तर, अन्तिममा कोइरालाले पार्टी विभाजनको बाटोमा जाने भन्दै ओलीको प्रस्ताव अस्वीकार गरेको उनी निकट एक नेता बताउँछन् ।

ती नेताका अनुसार पार्टीमा विभाजनको रेखा नकोरिने गरी कोइराला एमालेसँग समीकरणको प्रयासमा देखिन्छन् । यता ओलीले देउवालाई पुनः प्रधानमन्त्री बनाउने विषयमा एमाले सकारात्मक नरहेको पछिल्लो अन्तर्वातामा बताएका छन् ।

‘केही व्यक्तिबाट हामीले काफी अनुभव हासिल गरेका हुनाले त्यस्ता व्यक्ति (शेरबहादुर देउवा) हरुको सन्दर्भमा हामी सकारात्मक हुन सक्दैनौं,’ उनी भन्छन्, ‘प्रतिनिधिसभा सदस्यको जो सुकैले पनि प्रधानमन्त्री बन्न पाउँछ भन्दैमा हामीले समर्थन गर्छौैँ भन्ने होइन । विगतका अनुभव र भविष्यका प्रतिवद्धताले हामीलाई निर्देशित गर्छ ।’

देउवाले सत्ता सहकार्यका लागि सम्वादै गर्न नचाहेपछि ओली कोइराला समूहमार्फत कांग्रेसभित्र खेल्न खोजेको देखिन्छ । देउवाले विगत दुई वर्षदेखि आफूसँग संवाद गर्न नचाहँदा कांग्रेससँग सहकार्यको परिस्थिति सिर्जना नभएको ओली बताउँछन् ।

‘शेबहादुरजी प्रचण्डबाट त्रसित हुनुहुन्छ अथवा प्रचण्डप्रति भक्तिभाव हो कि समर्थन भाव हो मलाई केही थाहा छैन । उहाँ मसँग भेट्न डराउनुहुन्छ । कुरा गर्न पनि तयार हुनुहुन्न,’ उनी भन्छन्, ‘कांग्रेस र एमाले मिलेर सरकार बनाउनुपर्छ भन्ने मतमा अहिलेसम्म शेबरहादुरजी देखिनुहुन्न । शेबहादुरजीसँग मेरो दुई वर्ष यता कुनै प्रकारको संवाद छैन । हुलमालमा भेट हुनु बेग्लै हो । अरु थुप्रै नेताहरुको मत भए पनि कांग्रेसको आधिकारिक धारणा एमाले सिध्याउने छ ।’

देउवाले संविधानको धारा ७६ को २ अनुसार मिलिजुली सरकार बनाउन नचाहँदा पुस १० मा प्रचण्डलाई प्रधानमन्त्री बनाउनुपर्ने परिस्थिति आएको ओलीको दाबी छ । ‘उहाँ एकै चोटी उपधारा ३ मा जान खोज्नुभयो । नेपाली कांग्रेसको मात्र सरकार बनाउन खोज्नुभयो । हामीसँग कुराकानी पनि गर्न चाहनु भएन,’ ओली पुस १० सम्झन्छन्, ‘छक्याउन खोज्नुभयो । मैले देउवाजीलाई धोका दिएको होइन । स्ट्रेन्थ बिनाको बहुमतको उहाँको मनोविज्ञान देखिन्थ्यो । प्रचण्ड यहाँ (बालकोट) आएर प्रधानमन्त्रीका लागि सहयोग माग्नुभयो । हामीले सहयोग ग-यौँ ।’

यो बिचमा कोइरालाले पनि देउवालाई भेटेर एमालेसँग मिलेर सरकार बनाउनुपर्ने प्रस्ताव राखेका थिए । देउवाले ओलीबाट पुस १० मा धोका भएको भन्दै एमालेसँगको सहकार्य नकार्ने गरेको कोइरालाको भनाइ छ । देउवा तयार नभएपछि कोशी प्रदेशलाई ओली र कोइराला सहकार्यको प्रस्थान बिन्दु बनाउन खोजेको चर्चा छ ।

कोशीमा एमालेका हिक्मत कार्कीले भोलि विश्वासको मत लिने तयारी छ । संविधानको धारा १६८ को उपधारा ३ अनुसार सबैभन्दा ठूलो दलको हैसियतमा बनेको कार्की सरकारले अहिलेसम्म विश्वासको मत पाउने सम्भावना छैन । उनले विश्वासको मत नपाए उपधारा ५ अनुसार नयाँ सरकार गठनको ढोका खुल्ने छ ।

कोइराला निकट स्रोतका अनुसार उपधारा ५ अनुसार बन्ने सरकारमा एमालेले कांग्रेसकै मुख्यमन्त्रीलाई समर्थन गर्न खोजेको छ । एमालेबाट ग्रीन सिग्नल पाएपछि कोइराला पक्षीय केदार कार्की कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापालाई तेस्रो पटक अगाडि सार्न नहुने पक्षमा उभिएको देखिन्छ ।

कार्कीलाई मुख्यमन्त्रीका रुपमा अगाडि सार्दा राप्रपाले पनि सहजै समर्थन गर्ने कोइराला पक्षको दाबी छ । प्रदेशसभामा कांग्रेसका २९ सांसद छन् । ती २९ मध्ये देउवा समूहका सांसद १९ र कोइराला समूहका १० जना छन् ।

उपधारा ५ मा कार्की मुख्यमन्त्रीका रुपमा अगाडि आउँदा कांग्रेस एकमत हुने सम्भावना छैन । देउवा पक्षले थापालाई तेस्रो पटक अघि सार्ने बताइसकेको छ । कार्कीलाई अघि सार्न कांग्रेसमा एक मत नभएको अवस्थामा पनि एमालेको समर्थन रहँदा बहुमत पुग्ने देखिन्छ । 

एमालेसँग  (उपसभामुख बाहेक) ३९ सांसद छन् । कोइराला पक्षका १० जना सांसद विद्रोह गर्न तयार भए एमालेको समर्थनमा कार्की मुख्यमन्त्री बन्ने सम्भावना छ । उक्त रणनीति अख्तियार गरे कोशी प्रदेशबाट एमाले र कोइराला समूहको सहकार्यको सुरुवात हुने नेताहरु बताउँछन् ।

‘उपधारा ५ अनुसार सांसदलाई ह्वीप लाग्दैन भन्ने नजिर बसेको छ । शेरबहादुर दाइलाई प्रधानमन्त्री बनाउँदा समर्थन गरेका माधव नेपाल पक्षका सांसदलाई कारबाही भएन । केन्द्रका नेताहरुले भनेकाे मान्नुपर्छ भन्ने छैन,’ कोइराला पक्षका एक नेताले भने ।

कांग्रेसका एक मन्त्रीले पनि शेखर कोइराला र गगन थापा गठबन्धन भत्काउने लाइनमा उभिएको बताए । ‘वर्तमान गठबन्धन भत्काएर अन्यौल सिर्जना गर्ने शेखर गगनहरुको लाइन हो । कोशी प्रदेश हुँदै केन्द्रमै समीकरण बदल्ने उहाँहरुको प्रयास छ । तर, त्यो सफल हुँदैन,’ ती मन्त्रीले भने ।

स्थायित्व र जनभावनालाई कदर गरेर गठबन्धन जोगाउनुपर्ने उनको भनाइ छ । ‘ओलीजीलाई यो गठबन्धन टुटाउनु छ । उहाँको हिसाबले गर्दा त्यो ठिकै पनि हो । तर, हामीलाई यो गठबन्धन पाँच वर्ष लिएर जानुछ,’ ती मन्त्री भन्छन् । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप