शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

तलबको माग गर्दै फतुवा विजयपुर नगरपालिकामा तालाबन्दी

शनिबार, २० असोज २०८०, १० : १७
शनिबार, २० असोज २०८०

रौतहट । तलबको माग गर्दै शिक्षक कर्मचारीहरूले रौतहटको फतुवा विजयपुर नगरपालिकामा  तालाबन्दी गरेको छन् ।

हिन्दुहरूको महान् पर्व दसैँ तिहार र छठ पर्वको मुखमा पनि तलब पाउने कुनै छाँटकाँट नदेखिएपछि शुक्रवार  शिक्षक र कर्मचारीहरुको समूहले नगरको कार्यालयको मूल गेटमा तालाबन्दी गरेका हुन। तालाबन्दी गर्नु अघि उनीहरूले फतुवा विजयपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शम्भु यादवलाई  ज्ञापन पत्र बुझाएका थिए। 

पछिल्लो ६ महिना देखि नगरपालिकाबाट तलब पाउन सकेका छैनौँ। अहिले दसैँ तिहार र छठ पर्वको मुखमा पनि तलब पाउने सङ्केत नदेखिएकाले बाध्य भएर नगरपालिकामा तालाबन्दी गरेका हौँ, शिक्षक राधेश्याम यादवले भने।

नगरपालिकाका कर्मचारी र सम्पूर्ण सामुदायिक विद्यालयका शिक्षकहरूले गत चैत महिना देखि तलब पाउन नसकेको शिक्षक यादवले जानकारी दिए। तालाबन्दी लगत्तै त्यहाँ पुगेका वडा अध्यक्षहरू सहित जनप्रतिनिधिले नगरपालिकाको खाता सञ्चालन गराउन तत्काल नगरसभा गर्ने सम्बन्धमा सल्लाहको लागि कार्यवाहक मेयर अम्बेया खातुनलाई बोलाएका थिए।

कार्यवाहक मेयर खातुनले तत्काल नगरपालिका आउन नसक्ने गैरजिम्मेवार जवाफ दिएपछि नगरका ११ वटै वडा अध्यक्षहरूले तालाबन्दी प्रति ऐक्यबद्धता जनाएको वडा ९ का अध्यक्ष पप्पु यादव भन्ने राकेश यादवले बताएका छन्।

फतुवा विजयपुरमा हालसम्म नगरसभा नभएको कारण नगरको खाता सञ्चालन नभएर शिक्षक,कर्मचारीले तलब पाएका छैनन् भने सामाजिक सुरक्षा भत्ता समेत निकासा हुन नसकेको प्रमुख प्रशासकीय अधिकृत शम्भु यादवले जानकारी दिएका छन्।

कार्यवाहक मेयर अम्बेया खातुनसँग यस बारे कुरा गर्दा आफू काम विशेषले प्रदेशको राजधानी जनकपुर आएकोले  फर्केपछि नगरसभा बारे विचार गर्ने बाताईन । नगरको कामकाजमा सक्रिय उपमेयर खातुनको श्रीमान् महमद सेराजले नगरपालिकामा उपसचिव अथवा शाखा अधिकृत नयाँ नआएसम्म पुराना हाकिम शम्भु यादवको भरमा नगरसभा हुन नसक्ने बताएका छन्।

शिक्षक कर्मचारीको तलब पहिलै उनीहरूको खातामा गइसकेको तथा सामाजिक सुरक्षा भत्ता वितरण बारे आफूलाई कुनै जानकारी नभएको सेराजले बताएका थिए।

फतुवा विजयपुर नगरपालिकाका मेयर गोपाल राय यादवलाई अख्तियारले लालबकैया नदीको टेन्डरको मुद्दामा  दोषी ठहर गरेपछि उनी निलम्बित भएका छन् ।

नेपाल सरकारको एन अनुसार स्थानीय तहको नगर तथा गाँउसभा असार १० गते भित्र हुनुपर्ने व्यवस्था रहेको छ।  तर मेयर यादव लामोसमय देखि निलम्बित रहेकाले फतुवा विजयपुरमा हालसम्म नगरसभा नहुँदा सम्पूर्ण आर्थिक गतिविधि ठप्प भएको छ।

निलम्बित मेयर गोपाल राय यादव र कार्यवाहक मेयर अमबेया खातुन एउटै पार्टी नेपाली कांग्रेसको टिकटबाट निर्वाचित भएका हुन्। तर मेयर गोपाल राय यादव निलम्बनमा परेपछि मेयर समर्थक, निर्वाचित वडा अध्यक्षहरू र कार्यवाहक मेयर अम्बेया खातुन बीच फाटो परेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप