शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय
सिक्किम बाढी घटना

दसैँ खर्च जुटाउन गएका लाक्पा सम्पर्कविहीन : परिवारमा चिन्ता

९ वर्षीय बालिकासहित एकै परिवारका तीन जनाको अवस्था अज्ञात
मङ्गलबार, २३ असोज २०८०, १८ : ५२
मङ्गलबार, २३ असोज २०८०

विराटनगर । इलाम नगरपालिका–९ का ३० वर्षीय लाक्पा शेर्पा दसैँ खर्चको जोहो गर्न भन्दै डेढ महिनाअगाडि भारतको सिक्किम गएका थिए । तर, असोज १६ मा सिक्किमको टिष्टा नदीमा आएको बाढीको घटनापछि उनी परिवारसँग सम्पर्कविहीन छन् । 

उनले घटना हुने दिन इलामस्थित घरमा रहेकी श्रीमती हिमा क्षेत्रीलाई फोन गरेका थिए । सन्चो, बिसन्चो सोधेर चारजना छोराहरुको अवस्था बुझे । उनकी श्रीमती हिमाले ठूलो छोरा बिरामी भएको भन्दै चिन्ता व्यक्त गरिन् । 

श्रीमतीलाई सम्झाउँदै लाक्पाले भनेका थिए, ‘केही हुँदैन, औषधि दिनु । मेरो मोबाइलमा ब्याट्री सकियो । यहाँ लाइन पनि छैन, ठूलो पानी पर्दैछ । लाइन आएपछि चार्ज गरेर फोन गर्छु ।’ मोबाइल चार्ज गर्छु भनेर फोन राखेका लाक्पाले अहिलेसम्म सम्पर्क गरेका छैनन् । 

हालसम्म सम्पर्कविहीन हुँदा आफूमा चिन्ता थपिएको उनकी श्रीमती क्षेत्री बताउँछिन् । ‘अहिलेसम्म खबर छैन । कुराकानी नभएको आज ९ दिन भयो । उताको मान्छेहरुलाई खोज्न लाएका छौं । जान सकिँदैन भन्छन् । के हो कसो हो ?,’ 

उनीहरुका १३, ११, ६ र ४ वर्षका चार छोरा छन् । ९ दिन अगाडि बिरामी भएको जेठो छोरा सन्चो भयो तर, अहिले कान्छो छोरा बिरामी भएको उनले सुनाइन् । 

दसैँ मुखमा छ तर, उनको परिवारमा दुःख र पीडाको कालो बादल मडारिएको छ । ‘उहाँ २७ असोजमा आउने कुरा थियो । दसैँ मान्न खर्च लिएर आउँछु भन्नु भएको थियो तर अहिले खोजीखबर छैन ।’ 

लाक्पासँगै सोही ठाउँकी नरमाया बस्नेत, नरमायाका श्रीमान् २८ वर्षका कुमार बस्नेत र छोरी ९ वर्षीय खुसी बस्नेत पनि बेपत्ता छन् । यस्तै सोही ठाउँका ४० वर्षीय सेनबहादुर कार्की ‘सानु’ पनि बेपत्ता छन् । 

उनीहरु सिक्किमको लाचेम, थम्बु तथा गोलाखर्कमा निर्माणकार्यमा ज्याला मजदुरीका लागि गएका थिए । 

ईलामका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेल उनीहरुको खोजीको लागि भारत सिक्किमको सुरक्षा बललाई पत्र पठाएर खोजतलासको लागि आग्रह गरिएको बताए । 

तर, नदीमा आएको बाढीले बगाएको लेदोका कारण त्यस स्थानमा पुग्न नसक्ने, टेलिफोन, विद्युत् सबै अवरुद्ध भएको कारण कसैसँग सम्पर्क स्थापित हुनै नसकेको प्रमुख जिल्ला अधिकारी पोखरेल बताउँछन् । 

बीबीसीका अनुसार टिस्टामा बाढीका कारण २२ जना सैनिकसहित कम्तीमा १०५ जना हराइरहेका छन् । त्यसमा नेपाली पनि परेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप