आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
प्रदेश अधिवेशन

सुदूरपश्चिम एमालेमा ‘लोकल गुट’ जब्बर : शंकर पोखरेल र कर्ण थापाका आ–आफ्नै उम्मेदवार !

निर्वाचन कार्यतालिका परिवर्तन, नेतृत्व चयनका लागि मतदान बुधबार
मङ्गलबार, २३ असोज २०८०, १९ : ४२
मङ्गलबार, २३ असोज २०८०

काठमाडौँ । नेकपा एमालेको सुदूरपश्चिम प्रदेश कमिटीको अधिवेशन लम्बिने भएको छ । मंगलबार साँझदेखि नयाँ नेतृत्व चयनका लागि मतदानको कार्यतालिका सार्वजनिक भएपनि सहमतिका नाममा निर्वाचन कार्यतालिका परिवर्तन गरेर बुधबार बिहानलाई सारिएको छ ।

आइतबार एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेको अधिवेशनका बन्दसत्र अन्तर्गत सोमबार सार्वजनिक निर्वाचन कार्यतालिकामा मंगलबार साँझ ५ बजेलाई मतदानको समय तोकिएपनि सो समयमा मतदान नभएपछि निर्वाचन कार्यतालिका पुनः परिमार्जन गरिएको हो । सुदूरपश्चिम एमालेका पूर्वउपाध्यक्ष समेत रहेका भीम रावलको गृह प्रदेश भएपनि एमालेको अधिवेशनमा रावल निश्किृय जस्तै देखिन्छन् । अधिवेशनको उद्घाटन समारोहमा समेत रावल सहभागी भएनन् । अधिवेशनमा आफूलाई सहभागी हुन कसैले आमन्त्रण नगरेको र कुनै जानकारी नगराएको रावलले बताउने गरेका छन् । हाल एमाले सुदूरपश्चिम प्रदेशका इन्चार्ज सचिव छविलाल विश्वकर्मा छन् । नेकपा विभाजनपछि सुदूरपश्चिममा माओवादीबाट समायोजन भएका नेता लेखराज भट्टलाई इन्चार्ज बनाएपछि रावल आफ्नै प्रदेशमा ओझेलमा पर्दै आएका छन् ।

एमालेमा रावलको निश्किृयतासँगै सुदूरपश्चिममा नेता भट्ट र कर्ण थापाको बोलवाला चल्ने गरेका कतिपय एमाले नेता कार्यकर्ताहरुको भनाइ छ । तर, केन्द्रीय तहका यी नेताहरु (भट्ट र थापा)को निर्देशन समेत नमानेर अधिवेशनमा लोकल लेभलका गुट जब्बर बनेको स्थानीय कार्यकर्ताहरु बताउँछन् ।

‘सुदूरपश्चिममा पहिला भीम रावलले जे भन्यो त्यही हुन्थ्यो । नेता कार्यकर्ताहरु पनि अनुशासित देखिन्थे’, कैलालीका एक अधिवेशन प्रतिनिधिले भने, ‘अहिले लेखराज भट्ट र कर्ण थापा टाउकोमा भएपनि लोकल लेभलका गुट जब्बर र बलिया बनेका छन् । भट्ट र थापालाई टर्नेवाला छैनन् ।’

ती प्रतिनिधिका अनुसार लोकल लेबलका गुट जब्बर भएकै कारण प्रदेश अध्यक्षमा चार जनाको उम्मेदवारी परेको हो । केन्द्रीय नेताहरुले अध्यक्षमा देखिने गरी कसैलाई समर्थन नगरेपनि उम्मेदवारहरुले नेतृत्वको नाम मुछेर यो नेता नजिकको भनेर निकटस्थमार्फत मत माग्न थालेका छन् । एमाले महासचिव शंकर पोखरेलले अध्यक्षमा सर्वसहमतिका लागि तीन दिन बसेर पहल गरेपनि सहमति जुट्न नसकेपछि काठमाडौँ फर्केका छन् ।

कतिपयले हालका उपाध्यक्ष समेत रहेका अध्यक्षका उम्मेदवार कमल तिमिल्सिनालाई महासचिव शंकर पोखरेलको आशीर्वाद रहेको बताएका छन् । तर पोखरेलले गण्डकीको जस्तै हालत हुने देखेर कसैलाई पनि समर्थन र आशीर्वाद नदिएको आफू निकटकाहरुलाई बताउने गरेका छन् ।

‘महासचिवले सकभर सर्वसम्मतका लागि प्रयास गर्नुभएको हो । त्यसमा सफल नभएपछि उहाँले जो जो भिड्छन् भिडुन् भनेर छोड्नुभएको छ’, महासचिव पोखरेल निकट एक नेताले भने, ‘सहमति नभएको खण्डमा लोकतान्त्रिक पद्धतिमा ज–जसले प्रतिस्पर्धा गर्दा पनि हुन्छ भन्ने मान्यता महासचिवमा हुने नै भयो ।’

त्यसो त तिमिल्सिनालाई हालका प्रदेश अध्यक्ष दामोदर भण्डारी र नेता झपट रावलले समेत भित्रभित्रै साथ दिएका छन् । भण्डारी र रावलले तिमिल्सिनालाई साथ दिएपछि अर्का नेता कर्ण थापा र नारदमुनि रानाले भने पुराना नेता कृष्णप्रसाद जैशीलाई साथ दिएका छन् । लेखराज भट्टले सिंहलाई अघि सारेको चर्चा एमाले प्रतिनिधिहरुमा व्यापक चलेको छ ।

प्रदेश कमिटीको अध्यक्षमा यसअघि तिमिल्सिना, जैशी र बचन बहादुर सिंहले उम्मेदवारी दिने बताइएपनि अन्तिम समयमा भरतबहादुर साउदले समेत अध्यक्षमा उम्मेदवारी दिएर अधिवेशनलाई थप रोचक बनाएका छन् ।

‘सिंह र साउदको उम्मेदवारी लोकल गुटको परिणाम हो’, कञ्चनपुरका एक प्रतिनिधिले भने, ‘सिंह र साउदले अध्यक्षको दाबी गरेर उपाध्यक्ष र सचिवमा लाइन मिलाउन खोजेका हुन् ।’

एमाले नेता नारदमुनि रानाले सुदूरपश्चिममा कुनैपनि उम्मेदवारलाई कुनैपनि शीर्ष नेताले नबोकेको दाबी गरे । उनले भने, ‘शीर्ष नेताले सकेसम्म सहमतिको प्रयास गरेको हो । र अझै पनि जारी नै छ । तर सहमति नजुट्दा स्वच्छ प्रतिस्पर्धा गर्न खुला छाडिएको छ ।’

उनले कसैले कुनै केन्द्रीय नेताको नाम जोडेर आफ्नो प्रचार गरेको भए त्यो गलत भएको र अहिलेसम्म त्यसबारे आफूलाई कुनै जानकारी समेत नभएको बताए । प्रदेश इन्चार्ज छविलाल विश्वकर्माले बुधबार बिहान साढे बजेदेखि मतदान गर्नेगरी निर्वाचन कार्यतालिका परिमार्जन भएको भन्दै त्यो बीचमा सहमतिको प्रयास पनि सँगसँगै गरिने बताए ।

‘निर्वाचन समितिले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार भोलि बिहानसम्म सहमतिको प्रयास जारी नै रहन्छ । यदि त्यो समयमा पनि भएन भने मतदानको प्रक्रियामा जानुको विकल्प छैन’, विश्वकर्माले रातोपाटीलाई बताए ।

सुदूरपश्चिम प्रदेश कमिटीको अध्यक्ष, उपाध्यक्ष, सचिव एकएक जना र उपसचिव २ गरी ५ पदाधिकारीका लागि २३ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

अध्यक्षमा जैशी, तिमिल्सिना, साउद र सिंह छन् भने एक उपाध्यक्ष पदका ७, सचिवका लागि ४ र उपसचिवका लागि ९ जनाले उम्मेदवारी दिएका छन् । उपसचिवमा उम्मेदवारी दिएका ९ मध्ये ३ जना महिला छन् ।

उपाध्यक्षमा हरिसिंह साउद, बलदेव रेग्मी, रणबहादुर महरा, कालिबहादुर शाही र हजारीसिंह साउद, गजेन्द्रबहादुर शाहीको उम्मेदवारी परेको छ ।

सचिवमा रणबहादुर चन्द, राजेश खाती, रतनराज रेग्मी, जीवनकुमार बम छन् । त्यस्तै, उपसचिव (महिला ) तर्फ भागरथी विष्ट, कन्दकलाकुमारी राना र अर्चना गहतराज तथा उपसचिव खुल्लातर्फ रामदत्त जोशी, अशोककुमार चन्द, नरबहादुर बिक, सुरेन्द्रबहादुर पाल, हरदेव जोशी र पल्लभराज भट्ट छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप