आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

रोहितले तोड्लान् गेलको कीर्तिमान ?

वार्नरको कीर्तिमान पनि बराबरी गर्ने मौका
बुधबार, २४ असोज २०८०, १३ : ३०
बुधबार, २४ असोज २०८०

काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकपमा बुधबार भारतले अफगानिस्तानको सामना गर्दैछ । खेल दिल्लीस्थित अरुण जेट्ली स्टेडियममा नेपाली समयअनुसार, दिउँसो २ः१५ बजे सुरु हुनेछ । त्यो खेलमा भारतीय टोलीका कप्तान रोहित शर्माले एउटा कीर्तिमान तोड्ने सम्भावना छ । 

खासमा शर्माले जारी विश्वकपको अस्ट्रेलियाविरुद्धको खेलमै कीर्तिमान तोड्ने सम्भावना थियो । तर, त्यो खेलमा उनी शून्य रनमै आउट भएका थिए । हाल अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक छक्का प्रहार गर्ने ब्याट्सम्यानको कीर्तिमान वेस्ट इन्डिजका क्रिस गेलको नाममा छ । 

गेलले अन्तर्राष्ट्रिय क्रिकेटमा कुल पाँच सय ५३ वटा छक्का प्रहार गरेका छन् । ४४ वर्षीय गेलले टेस्ट क्रिकेटमा ९८ र एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा तीन सय ३१ छक्का प्रहार गरेका छन् । यसका अतिरिक्त उनले टी—२० अन्तर्राष्ट्रिय क्रिकेटमा पनि एक सय २४ वटा छक्का हिर्काएका छन् । 

भारतीय कप्तान शर्माले भने बुधबार हुने अफगानिस्तानविरुद्धको खेल अघिसम्म अन्तर्राष्ट्रिय क्रिकेटमा कुल पाँच सय ५१ वटा छक्का हिर्काएका छन् । ३६ वर्षीय शर्माले हालसम्म टेस्ट क्रिकेटमा ७७ र एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा दुई सय ९२ वटा छक्का हिर्काएका छन् ।

यसका अतिरिक्त उनले टी—२० अन्तर्राष्ट्रिय क्रिकेटमा पनि एक सय ८२ छक्का प्रहार गरेका छन् । त्यसैले अफगानिस्तानविरुद्धको खेलमा थप तीन छक्का प्रहार गरेमा शर्माले गेलको नाममा रहेको उक्त कीर्तिमान आफ्नो नाममा पार्नेछन् ।

यसैगरी अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक छक्का प्रहार गर्ने ब्याट्सम्यानको सूचिमा पाकिस्तानका शाहीद अफ्रिदी तेस्रो स्थानमा छन् । आफ्नो सक्रिय खेल जीवनमा उनले कुल चार सय ७६ छक्का हिर्काएका थिए । न्युजिल्यान्डका ब्रेन्डन म्याककुलुम तीन सय ९८ छक्कासहित चौथो स्थानमा छन् । न्युजिल्यान्डकै मार्टिन गप्टिल तीन सय ८३ छक्कासहित पाँचौँ स्थानमा आसिन छन् ।

यसैगरी भारतीय कप्तान शर्माले बुधबार हुने अफगानिस्तानविरुद्धको खेलमा अर्को कीर्तिमानसँग बराबरी गर्ने सम्भावना पनि छ । हाल एकदिवसीय विश्वकपको इतिहासमा सबैभन्दा कम पाली खेलेर एक हजार रन बनाउने ब्याट्सम्यानको कीर्तिमान अस्ट्रेलियाका डेभिड वार्नरको नाममा छ । 

वार्नरले एकदिवसीय विश्वकपमा १९ पाली खेल्दै एक हजार रन पुरा गरेका छन् । उनले यही विश्वकपमा त्यो कीर्तिमान आफ्नो नाममा पारेका हुन् । तर, बुधबार अफगानिस्तानविरुद्ध कम्तीमा २४ रन बनाए भने भारतीय कप्तान शर्माले वार्नरको त्यो कीर्तिमानसँग बराबरी गर्नेछन् । त्यसपछि त्यो कीर्तिमान डेभिड वार्नर र रोहित शर्माको संयुक्त नाममा हुनेछ । शर्माले हालसम्म एकदिवसीय विश्वकपमा १८ पाली खेल्दै नौ सय ७६ रन बनाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप