बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

वैकल्पिक सिँचाइ व्यवस्थाले महोत्तरीका किसानलाई राहत

बिहीबार, २५ असोज २०८०, १४ : २४
बिहीबार, २५ असोज २०८०

महोत्तरी । सिँचाइ अभावका कारण खेती गर्न नपाएका यहाँका किसानलाई नगर कार्यपालिकाले स्यालो ट्युबवेल जडान र मोटर पम्पसेट उपलब्ध गराएपछि राहत मिलेको छ । कार्यालयले बुधबार स्यालो ट्युबवेल जडान गरिएका ३० किसानलाई मोटर पम्पसेट उपलब्ध गराएको हो ।

यसपाली अनुकूल वर्षा नभएर धानबाली लगाउन नपाएका किसानलाई सिँचाइको वैकल्पिक व्यवस्था भएपछि  गहुँ र अन्य तरकारीबाली लगाउन सहज भएको छ । “ट्युबवेलमा मोटर पम्पसेटको सहायताले सिँचाइ गरी गहुँ तथा तरकारी लगाउन सहज भएको छ”, स्थानीय जैश शेषले भने । नगरका नौ वडाका बस्तीमा वैकल्पिक सिँचाइ व्यवस्थाका लागि आवेदन दिएका किसानलाई उक्त ट्युबवेल र मोटर पम्पसेट खरिदमा नगर कार्यालयले ८५ प्रतिशत लगानी गरेको उनको भनाइ थियो । 

उक्त कार्यक्रमका लागि रू ४५ लाख ४८ हजार खर्च भएको कार्यालयका योजना अधिकृत राजेशकुमार शर्माले जानकारी दिए । उनका अनुसार यसबाट एक सय ५० बिघा क्षेत्रफलमा सिँचाइ सुविधा पुग्नेछ । 

यसअघि कार्यालयले फलपूmल रोपन, मखान बजार व्यवस्थापनमा सहयोगी सामग्री, दाइँ गर्ने यान्त्रिक उपकरणलगायत कृषि सामग्री उपलब्ध गराएको नगरप्रमुख हरिप्रसाद मण्डलले बताए । गहुँ र अन्य तरकारी बालीका उन्नत बीउ पनि किसानलाई उपलब्ध गराउँदै आइएको उनको भनाइ थियो ।

पालिकाले पाँच वर्षयता बर्सेनि मौसमअनुसार बाली लगाउन बीउ, जैविक मललगायत सामग्री दिँदै आएको किसान मेराज अन्सारीले बताए । यस्ता कार्यक्रममले किसानलाई राहत महसुस भएको उनको भनाइ थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप