बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

'चालुपुँजी कर्जा मार्ग निर्देशनको कारण थप लगानी हुन सकेन'

बिहीबार, २५ असोज २०८०, १४ : ३३
बिहीबार, २५ असोज २०८०

काठमाडौँ । चालुपुँजी कर्जा मार्ग निर्देशनको कारण बैंकमा भएको लगानी योग्य रकम लगानी हुन नसकेको निजी क्षेत्रले बताएको छ । 

बिहीबार काठमाडौँमा नेपाल उद्योग वाणिज्य महासंघले गरेको राष्ट्रिय आर्थिक बहस सुधारका लागि सहकार्य कार्यक्रममा बोल्दै निजी क्षेत्रका छाता संगठनहरुले यस्तो बताएका हुन् । उनीहरुले नेपाल राष्ट्र बैंकले लागू गरेको चालुपुँजी कर्जाको कारण उद्योगी व्यवसायीहरुले ऋण लिन नचाहेको बताए । 

निजी क्षेत्रका छाता संगठनहरुले बजारमा पुँजी लगानी नभएसम्म मुलुकको अर्थतन्त्र चलायमान हुन नसक्ने भन्दै राष्ट्र बैंकले बैंकमा रहेको लगानीयोग्य रकम लगानी पर्ने वातावरण बनाउन आवश्यक रहेको बताए । 

कार्यक्रममा बोल्दै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले ५ खर्ब जति बैंकहरुमा अधिक तरलता रहेपनि कर्जा लिने व्यवसायीहरु नभएको बताए । उनले बैंकको अधिक तरलतालाई लगानीमैत्री वातावरण बनाउन राष्ट्र बैंकले प्रोत्साहन गर्न आवश्यक रहेको बताए । उनले बैंकहरुमा भएको रकम लगानी हुन नसक्दा अर्थतन्त्रमा संकुचन आउन थालेको बताए । 

अध्यक्ष मल्लले सरकारले घरजग्गा कित्ताकाट खोले पनि निर्देशिका र नियम बनेको छैन भन्ने नापी र मालपोत कार्यालयहरुले काम नगरेको गुनासो गरे । उनले  प्रधानमन्त्रीले निर्देशन नै दिएर एक्सनमा योजना बनाएर काम गर्न लगाउन माग गरे । उनले घरजग्गा काराेबार खच्किँदा अर्थतन्त्र पनि मन्दीमा गएको भन्दै घरजग्गा कारोबारमा रहेका समस्या तत्काल समाधान गर्न आवश्यक रहेको बताए ।

त्यस्तै, नेपाल उद्योग परिसंघका कार्यवाहक अध्यक्ष वीरेन्द्रबहादुर पाण्डेले चालुपँुजी कर्जा मार्ग निर्देशनको कारण बैंकको लगानी योग्य रकम लगानी हुन नसकेको बताए । उनले चालुपँुजी कर्जा माग निर्देशनले व्यवसायीहरुले कर्जा लिने र लगानी कटौती गरेको बताए । उनले बैंकहरुमा लगानी योग्य पुँजी भएपनि व्यवसायीहरुले ऋण लिन सकेको बताए । उनले  बैंकहरुमा लगानी योग्य पुँजी लगानी हुन नसक्नु अर्थतन्त्रको समस्या भएको बताए । उनले लगानी नगर्ने र खर्च नगर्ने हो भने अर्थतन्त्रमा सुधार आउन नसक्ने बताए । 

पाण्डेले बजारमा पैसा नगएपछि अर्थतन्त्र चलायमान हुन नसकेको बताए । उनले अहिलेकै अवस्थाले निरन्तता पाउने हो भने देशमा आर्थिक गतिहिन गहिरिने सम्भावना रहेको बताए । उनले अर्थतन्त्रमा कन्जक्सन डाउन ब्रेकको स्थिति सिर्जना भएको भन्दै व्यक्ति तथा घर परिवारले अत्यावश्यक बाहेकमा खर्च र उपभोग स्तरमा कटौती गरेको बताए । उनले अर्थतन्त्रमा सरकारले तत्काल प्रभावकारी कदम नचाल्ने हो भने छिटो अवधिमा नै डिप्रेशनमा जाने सम्भावना रहेको बताए ।  

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप