आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

अनलाइन सेवा देशव्यापी बनाउनु पर्छ: मन्त्री ज्वाला

बिहीबार, २५ असोज २०८०, १४ : ३९
बिहीबार, २५ असोज २०८०

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले अनलाइन सेवा देशव्यापी बनाउनुपर्ने बताएका छन् । बिहीबार ललितपुरमा सवारी चालक अनुमति पत्रकाको अनलाइन राजश्व भुक्तानी सहितको विद्युतीय सेवा प्रवाह प्रणाली बिस्तार कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

उनले लाइसेन्स, राजश्व बुझाउन कार्यालयमा जानुपर्दैन, लाइन लाग्नुपर्दैन भन्ने कुराको सुनिश्चितता दिनुपर्ने आवश्यकता रहेको बताए । उनले तीन तहका सरकारको बिचमा समन्वय, सहकार्य र सहअस्तित्वको सिद्धान्तअनुसार अघि बढे कुनै पनि काममा सफल भइने बताए । उनले जनतालाई झन्झटभुक्त रूपमा सहज रूपमा सेवा दिनुपर्ने अहिलेको आवश्यकता भएको बताए । उनले जनताले पाएको सास्ती देखेर बिचल्ली देखेर बिचौलियाहरूले यातायात कार्यालयहरूमा सेवाग्राहीलाई शोषण गरिरहेको बताए । उनले छिटो छरितो र नम्र भएर कर्मचारीहरूले काम गर्ने हो भने बिचौलियाहरू निषेधित हुँदै जाने बताए । 

उनले भने, ‘अनलाइन सेवा देशव्यापी बनाऊँ । अब हामीले लाइसेन्स, राजश्व बुझाउन कार्यालयमा जानुपर्दैन, लाइन लाग्नुपर्दैन भन्ने कुराको सुनिश्चितता गर्नुपर्छ । यो कुरा छिटो भन्दा छिटो गर्नुपर्छ । यसका निम्ति फेरि एक्लै कसैले गर्न सक्दैन । संघीय, प्रदेश सरकार एक्लैले सम्भव छैन । तीन तहका सरकारको बिचमा समन्वय, सहकार्य र सहअस्तित्वको सिद्धान्त अँगालेका छौँ, समन्वय गर्नुपर्नेछ । समन्वय खासै भएको छैन । सहकार्य गर्नुपर्नेछ । यो काम संघीय र प्रदेश सरकार मिलेर अघि बढाएको काकम हो । हामीले हातेमालो गरेर यो कामको प्रारम्भ गरेका छौँ । निरन्तरता दिन र भरपर्दो बनाउन पनि मिल्नुपर्छ । सहकार्य यसका लागि पनि आवश्यक छ । हामी यही देशमा छौँ, यहाँकै जनताको सेवा गर्ने हो । हाम्रा लक्षित जनता भनेको नेपाली जनता नै हो । हातेमालो गरेर नै अघि बढ्छौँ । घोषणा पत्र जारी गरेर थन्क्याएर राख्ने हो भने यसको केही अर्थ हुँदैन । त्यसबारेमा सोच्नुपर्छ । जनतालाई झन्झटभुक्त रूपमा सहज रूपमा सेवा दिनुपर्नेछ । जनताले पाएको सास्ती देखेर बिचल्ली देखेर बिचौलिया पनि चलखेल गरिरहेका छन् । उनीहरूले सहयोगका नाममा सेवाग्राहीलाई शोषण गरिरहेका छन् । कार्यालयको भित्र पस्दापस्दै बिचौलिया क्षेत्र निषेधित भनेर लेखेको छ, बोर्ड मात्रै छ की कार्यान्वयन पनि छ । बोर्डअनुसार कार्यान्वयन गर्नुस् । जति छिटो छरितो र नम्र भएर काम गर्नुहुन्छ, त्यति बिचौलियाहरू निषेधित हुँदै जान्छन् । सेवाग्राहीको पहुँच कर्मचारीसँग नहुने तर बिचौलियाको पहुँच कर्मचारीसँग हुने भएपछि के हुन्छ ? त्यहीँ नेर छ गडबडी । समस्या त्यही त्यही सञ्जाल तोड्नुपर्छ ।’

कार्यक्रममा बोल्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले सडकका खाल्डाखुल्डी पुर्ने काममा सरकारले ढिलासुस्ती गरिरहेको बताए । उनले नारायणगढ—मुस्लिन लगायतका सडक खण्डमा अझै सडकहरूका खाल्डाखुल्डी पुर्न सरकारी पक्षबाट ढिलासुस्ती भइरहेको भन्दै सडक सुरक्षित नभएसम्म दशैँतिहार जस्ता चाडबाडमा समयमै र सहज रूपमा यात्रुहरूलाई गन्तव्यमा लैजान कठिन हुने बताए । 

बिहीबार बिहान यातायात व्यवस्था कार्यालय बागमती प्रदेशको एकान्तकुनाबाट सवारी चालक अनुमतिपत्रको नवीकरण,वर्ग थप र राजश्व भुक्तानीको अनलाइन सेवा सञ्चालन भएको हो ।  आज बिहान संघका भौतिक, पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र बागमती प्रदेशका श्रम रोजगार तथा यातायातमन्त्री लक्ष्मण लम्सालले अनलाइन सेवा शुभारम्भ गरेका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप