आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय
अदालत

काठमाडौँ जिल्ला अदालतमा २७ हजारभन्दा बढी मुद्दा, पुरानो मुद्दा २ वर्षमै फर्स्यौट गर्न चुनौती

शुक्रबार, २६ असोज २०८०, २३ : ०७
शुक्रबार, २६ असोज २०८०

काठमाडौँ  । काठमाडौँ जिल्ला अदालतमा २७ हजारभन्दा बढी मुद्दा चालु अवस्थामा रहेको पाइएको छ । २७ हजारभन्दा बढी मुद्दा लगतमा रहे पनि न्यायाधीश अभाव र धेरै वादी वा प्रतिवादी भएका मुद्दासमेत बढी भएकाले त्यस्ता मुद्दा समयमै फर्स्यौट गर्न नसकिएको अदालतले जनाएको छ ।

शुक्रबार संवैधानिक तथा न्यायिक पत्रकार मञ्चसँगको अनौपचारिक कुराकानीमा जिल्लाका एक नम्बर न्यायाधीश कृष्णप्रसाद सुवेदीले मुद्दाको चाप धेरै रहेकाले चुनौती पनि बढी भएको बताए । मुद्दा सङ्ख्याको आधारमा न्यायाधीशको सङ्ख्या कम हुँदा फर्स्यौटमा केही ढिलो भएको सुवेदीले बताए ।

जिल्लाका मुख्य न्यायाधीश सुवेदीका अनुसार हाल जिल्लामा २७ हजार ३०३ थान मुद्दा चालु अवस्थामा छन् । गत वर्षबाट सरेर आएको २१ हजार २७८ थान र यस आर्थिक वर्षको हालसम्म १० हजार ५८ थान मुद्दा दर्ता भई लगतमा कुल ३१ हजार ३३६ थान पुगेको उनले बताए । यद्यपि यस आर्थिक वर्षको हालसम्मको अवधिमा ४ हजार ३३ थान मुद्दा फर्स्यौट भइसकेको छ ।

काठमाडौँ जिल्ला अदालतमा ३५ वटा इजलास भए पनि हाल औसतमा दैनिक २१ जना न्यायाधीशमात्रै रहेको सुवेदीले बताए । सरुवा भएर गएका न्यायाधीशहरुले मुद्दा हेर्न नमिल्ने र नयाँ नियुक्ति वा सरुवा भएका न्यायाधीशहरु रमाना लिएर नआएका कारण अहिले जिल्लामा औसतमा २१ जना न्यायाधीशले मात्रै काम गरिरहेका छन् । दसैँ बिदापछि भने करिब ३१ जना न्यायाधीशको पदस्थापन भई कामकाज सुरु हुने सुवेदीको भनाइ छ ।

२ वर्ष नाघेका मुद्दा करिब ३ हजार थान

काठमाडौँ जिल्ला अदालतमा हाल २ वर्ष नाघेका मुद्दा २ हजार ९ सय ८७ थान रहेको श्रेष्तेदार रामु शर्माले बताए । यस आर्थिक वर्षको सुरुवातदेखि हालसम्म १ हजार १२ थान मुद्दा फर्स्यौट भए पनि शर्माले बताए । २ वर्ष नाघेका मुद्दा अभियान फाँटमा रहने भएकाले न्यायाधीश नआएमा पनि स्थगित नहुने भएकाले अङ्ग पुगेका पुराना मुद्दाको फर्स्यौटलाई तीब्रता दिइएको शर्माले बताए ।

यद्यपि २ वर्ष नाघेका भए पनि कतिपय मुद्दामा वादी र प्रतिवादीको सङ्ख्या धेरै हुने भएकाले म्याद तामेल हुन नसक्ने, सबैको बयान र बकपत्र समयमै गर्न नसकिने लगायतका समस्याका कारण कतिपय मुद्दा २ वर्ष नाघे पनि समयमै फर्स्यौट गर्न नसकिएको श्रेष्तेदार शर्माको भनाइ छ ।

अदालतमा बालबालिकासम्बन्धी मुद्दा २७१ थान छन् । यस आर्थिक वर्षमा बालबालिकासम्बन्धी मुद्दामध्ये १३ थान फैसला भएको र उक्त मुद्दा पनि अभियानमै रहने भएकाले एक नम्बर, दुई नम्बर र तीन नम्बरका न्यायाधीशले दिन तोकेर हेर्ने गरिएको न्यायाधीश सुवेदीले बताए ।

भर्खरैबाट सुरु भएको पारिवारिक इजलासमा हाल ७ सय २९ थान मुद्दा रहेको न्यायाधीश सुवेदीले बताए । गत सोमबारबाट सुरु भएको पारिवारिक इजलासले ७ थान मुद्दाको फैसला गरिसकेको छ ।

दैनिक ५ सय मुद्दाको पेसी, औसतमा एक सय फैसला

काठमाडौँ जिल्ला अदालतमा अहिले दैनिक ५ सय थान मुद्दाको पेसी चढ्ने गरेको छ । पेसी चढेर अङ्ग पुगेका मुद्दामध्ये दैनिक औसतमा एक सय थान मुद्दा फैसला हुने गरेको एक नम्बर न्यायाधीश कृष्णप्रसाद सुवेदीले बताए ।

सहकारी ठगी, चिट्ठा, बैंकिङ कसुर लगायतका मुद्दा बढी

जिल्लाका एक नम्बर न्यायाधीश कृष्णप्रसाद सुवेदीका अनुसार जिल्लामा सहकारीले ठगी गरेको वा सहकारीलाई ठगी गरेको लगायतका मुद्दा धेरै छन् । त्यसैगरी चिट्ठा वा उपहार पठाइदिने भन्दै भएका ठगीका मुद्दाहरु पनि बढ्दै गएको छ ।

यस्ता मुद्दामा प्रतिवादी धेरै हुने र म्याद तामेल हुँदा पनि बेपत्ते भएर आउने हुँदा यस्ता मुद्दाहरुको फर्स्यौटमा केही समस्या भएको सुवेदीले बताए ।

पहिले उच्च अदालतले हेर्ने गरेको बैंकिङ कसुरको मुद्दा अहिले जिल्ला अदालतले नै हेर्ने हुँदा पनि मुद्दाको सङ्ख्या बढेको छ । काठमाडौँ जिल्लामै कारोबार हुने, बैंक खाताहरु यही जिल्लामा खोलिने आदि कारणबाट पनि अन्यत्रभन्दा काठमाडौँ जिल्लामा बैंकिङ कसुरसँग सम्बन्धित मुद्दाको चाप बढेको छ ।

‘सन्दीपको मुद्दा नहेरिएको होइन, गोलामा नपरेको हो’

भेटमा पत्रकारहरुले सन्दीप लामिछानेविरुद्धको मुद्दामा न्यायाधीशहरु पन्छिएका हुन् ? भनेर सोधेका थिए । जवाफमा एक नम्बर न्यायाधीश सुवेदीले न्यायाधीशले मुद्दा नहेरेको नभई गोला तान्दा उक्त फाँटको मुद्दा नपरेका कारण हेर्न नसकिएको बताए ।

न्यायाधीश सुवेदीका अनुसार अहिले काठमाडौँ जिल्ला अदालतमा ३० वटा फाँट छन् । ३० वटा फाँट भए पनि उपस्थित न्यायाधीशको सङ्ख्या औसतमा २१ जनामात्रै रहेको छ । २१ जनाले गोला तान्दा सन्दीप लामिछाने जोडिएको मुद्दाको गोला कुनै न्यायाधीशको भागमा नपरेपछि उक्त मुद्दा स्थगितको सूचीमा परेको हो ।

न्यायाधीश सुवेदीले भने, ‘उक्त मुद्दा नहेरेको वा अदालतले स्थगितमा राखेको होइन । गोला तान्दा २८ नम्बर फाँटको मुद्दा कुनै न्यायाधीशको गोलामा परेन । त्यसपछि बिहीबार त्यो स्थगितमा परेको हो । न्यायाधीशहरु तर्किएको होइन, तथ्य र प्रमाण हेरेर फैसला गर्ने भएकाले त्यसमा तर्कनुपर्ने वा तर्सनुपर्ने छैन । गोला नतानिएकै कारण हेर्न नसकिएको हो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप