बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

प्रहरी महानिरीक्षक कुँवरको नेतृत्वको टोली बेलायतबाट स्वदेश फिर्ता

शनिबार, २७ असोज २०८०, १४ : ३६
शनिबार, २७ असोज २०८०

काठमाडौँ । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको नेतृत्वमा नेपाल प्रहरीका वरिष्ठ प्रहरी अधिकृतहरूको ४ सदस्यीय टोली मित्रराष्ट्र संयुक्त अधिराज्य बेलायतमा सञ्चालन भएको इन्टिग्रेटेड प्रोग्राम फर सट्रेन्थिनिङ सेक्यूरिटी एन्ड जस्टिस कार्यक्रममा सहभागी भई शनिबार स्वदेश फर्किएको छ ।

प्रहरी महानिरीक्षक कुँवरसहितको ४ सदस्यीय टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षक लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले स्वागत गरे । 

कार्यक्रम अवधिमा प्रहरी महानिरीक्षक कुँवर र नेपाल प्रहरीका वरिष्ठ प्रहरी अधिकृतहरूले मेट्रोपोलिटन पुलिस न्यू स्कटलैण्ड यार्डका डेपुटी एसिस्टेन्ट कमिस्नर वार्ड, एफडीसीओ अफिसका स्टफेन ओटर, यूएनओपीएस कन्सल्टेन्ट सिसीलिया डन्सटर,  नेशनल क्राइम एजेन्सी (एनसिए) का विल विल्सन, कलेज अफ पुलिसीङका फाइनान्स एण्ड कमर्सियल प्रमुख डोमिनिक फिनिगन तथा  हेड अफ इनगेजमेन्ट भिरा कौर चौधरी, क्यामब्रिजसायर पुलिसका प्रमुख निक डिन लगायतसँग भेटघाट र छलफल गर्नुभएको थियो । भेटघाटका अवसरमा आपसी समन्वय, हित तथा सहयोग आदान प्रदान गर्ने विषयमा छलफल समेत भएको थियो । साथै ग्रीनविच पुलिस बरो कमाण्ड पुलिस स्टेसनको समेत अवलोकन र अध्ययन भ्रमण गरेका थिए । 

बेलायत भ्रमणको क्रममा नेपाली राजदुताबास लण्डनका राजदुत ज्ञानचन्द्र आचार्य र प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको टोलीबिच नेपाली राजदूतावास लण्डनमा भेटवार्ता भएको थियो । भेटघाटका क्रममा नेपाली राजदूतावासमा कार्यरत कर्मचारी, नेपाल प्रहरीबाट बेलायतमा अध्ययनरत प्रहरी कर्मचारी, बेलायतमा रहेका पूर्व प्रहरी कर्मचारीहरू लगायतको उपस्थिति थियो ।

बेलायत सरकारको निमन्त्रणामा असोज २२ गतेदेखि २६ गतेसम्म संचालन भएको उक्त कार्यक्रममा सहभागी हुन प्रहरी महानिरीक्षक कुँवरको नेतृत्वमा प्रहरी नायव महानिरीक्षक विष्णु कुमार केसी, प्रहरी वरिष्ठ उपरीक्षकद्वय दान बहादुर कार्की र शेखर खनाल असोज २० गते त्यसतर्फ प्रस्थान गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप