जनकपुरधामको राजदेवी मन्दिर जहाँ दसैँ अवधिभरि महिलालाई प्रवेश दिइँदैन
जनकपुरधाम । जनकपुरधामस्थित राम मन्दिरसँगै उत्तरतर्फ रहेको छ राजदेवी मन्दिर । राजा जनककी कुलदेवी अर्थात् राजदेवी मन्दिर जनकपुरधामका शक्तिपीठहरु मध्येकै एक प्रमुख शक्तिपीठ हो ।
चर्चित राजदेवी मन्दिरमा नवरात्रभरि दर्शनार्थीहरुको अत्यधिक घुइँचो तथा भिडभाड लाग्ने गरेको छ । हुन त वर्षैभरि समेत यहाँ दर्शन गर्नेहरूको सङ्ख्यामा कमी हुँदैन । तर नवरात्रिमा विशेष महत्त्व तथा आस्थाका साथ दर्शनार्थीहरु यहाँ दर्शन गर्न आउँछन् ।
हजारौँको सङ्ख्यामा दर्शन गर्न आउने तिनै चर्चित राजदेवी मन्दिरमा दशैँभरि महिला दर्शनार्थीहरुलाई प्रवेश गर्न भने दिइँदैन । अन्य दिन महिला दर्शनार्थीलाई समेत भित्रसम्मै छिर्न दिएर दर्शन गर्न दिए पनि विजयादशमीको १० दिनसम्म महिला दर्शनार्थीलाई भने भित्र प्रवेश गर्न दिइँदैन ।
महिला दर्शनार्थीलाई भित्र छिर्न नदिए पनि ठुलो सङ्ख्यामा महिलाहरू यो मन्दिरमा दर्शनका लागि आउने गर्दछन् । उनीहरू घण्टौँसम्म लाइनमा उभिएर मन्दिरको बन्द रहेको झ्याललाई छोएर पूजा र भाकल गर्ने गर्दछन् । धार्मिक आस्थाले गर्दा महिलाहरू यो परम्परालाई यथावत् राखे पनि महिलाले समेत मन्दिरभित्र छिरेर दर्शन गर्न पाउनुपर्ने भन्दै आवाज बेला–बेला उठ्ने गरेको छ ।
विजयादशमीको प्रारम्भसँगै जनकपुरको विभिन्न मठमन्दिर र शक्तिपीठमा विशेष भीड लागे पनि राजदेवी मन्दिरमा भने घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म महिलालाई दर्शन गर्न निषेध गरिने परम्परा अझै कायमै छ । सो अवधिभरि महिलाका लागि मन्दिरको एक झ्याल खुल्ला गरिएको हुन्छ । सोही झ्यालबाट महिला दर्शनार्थीहरु पूजा अर्चना गरेर फर्किन्छन् ।
त्रेता युगमा राजा जनकको कुलदेवीका रूपमा पुजिँदै आएकी राजदेवीको मन्दिरमा परापूर्वकालमा पूजा गर्न एक महिला मन्दिरको भित्री भागमा प्रवेश गरेको र उनी बेपत्ता भएको राम मन्दिरका पुजारी राम गिरी बताउँछन् । त्यसैले राजदेवी मन्दिरभित्र महिलालाई प्रवेशमा रोक लगाइएको उनको भनाइ छ ।
राम मन्दिरका पुजारी गिरीले भन्छन्,–‘रजस्वला भएका महिला पनि पूजाका लागि आउने गरेकाले मन्दिरमा महिलाको प्रवेशमा रोक लगाइने परम्परा छ । तान्त्रिक विधिमा पूजा हुने भएकाले पनि महिलालाई राजदेवी मन्दिर भित्रमा माताको प्रतिमा छोएर पूजाआजा गर्नबाट रोक लगाइएको हो ।’
वि. सं. २०२० सालमा नरेशानन्द गिरी नामका महन्तले यहाँको बलिप्रथा रोकेर बली चढाएनन् । बली नचढाउँदा उनलाई अनिष्ट भयो र पछि क्षमा पूजा गरी बलि चढाइएको पनि उनले बताए ।
यो मन्दिरमा एकै रातमा बर्सेनि करिब १५ हजारभन्दा बढी खसी बोकाको बली दिने गरेको छ । अष्टमीको राति राजदेवी मन्दिरमा प्रत्येक वर्ष १५ हजारभन्दा बढी खसी बोका चढाउने गरिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण