शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

के ब्रेकअप वा सम्बन्ध बिग्रिँदाको पीडा फाइदाजनक होला ?

बुधबार, १५ कात्तिक २०८०, १३ : ४१
बुधबार, १५ कात्तिक २०८०

काठमाडौँ । कुनै पनि सम्बन्ध बिग्रिँदा हामीलाई फाइदा हुन्छ ? तपाईंलाई लाग्न सक्छ- कस्तो खालको प्रश्न ? यसको कुनै फाइदा पनि होला र ? सम्बन्ध बिग्रिएको कसलाई पो राम्रो लाग्ला र ? 

तर ‘द ब्रेक अफ मोनोलग्स’ नामक पुस्तककी लेखिका रोजी विल्बीका अनुसार सम्बन्ध बिग्रनु वा टुट्नुको अनेक फाइदा छन् । यो पुस्तकमा उनले आफ्नो निजी जिन्दगीबारे लेखेकी छिन् । यो पुस्तक लेख्ने बेलामा विल्बीले थेरापिष्ट, समाजशास्त्री र वैज्ञानिकहरूसँग पनि कुराकानी गरेकी थिइन् । बिग्रिएको सम्बन्धबाट हामीले धेरै कुरा सिक्न सक्ने विल्बीको भनाइ छ । ब्रेक–अपलाई कसैले पनि राम्रो मान्दैनन्, राम्रो भन्दैनन् । तर यसले तपाईँको भलो पनि हुन सक्छ ।

आफैलाई बुझ्ने अवसर

ब्रेकअपले हामीलाई कस्तो खालको व्यक्ति आफ्नो सम्बन्ध हुनु पर्छ वा हामीले कस्तो व्यक्तिसँग सम्बन्ध राख्नु पर्छ भन्नेबारे सोच विचार गर्ने समय दिने विल्बीको भनाइ छ । कहिलेकाहिँ सम्बन्ध टुट्दा मान्छेको आँखा पनि खुल्छ भन्छन् मानसिक स्वास्थ्य र व्यवहार विज्ञानका विशेषज्ञ डा. समीर मल्होत्रा । ‘धेरैजसो स्थितिमा चाहिँ ब्रेकअपले तपाईँलाई आफूभित्र रहेको कमी कमजोरी अवगत गराउँछ । अनि तपाईँले आफूलाई सुधार्ने अवसर पाउनु हुन्छ । ब्रेकअपलाई कसरी हेर्ने भन्ने चाहिँ तपाई स्वयम्मा निर्भर हुन्छ । तपाई अरुकै गल्ती खोजिरहनु हुन्छ भने आफूलाई सुधार्ने कोसिस नै गर्नुहुन्न,’ बीबीसी हिन्दीसँगको कुराकानीमा मल्होत्राले भनेका थिए ।

अलग अलग अनुभव

ब्रेकअपको सामना हरेका लागि मुस्किल हुन्छ । यसबाट बाहिर निस्किनुको अनुभव पनि व्यक्तिपिच्छे फरक फरक हुन्छ । ब्रेकअपले सम्बन्धमा आफूले के गल्ती गरेको रहेछु भन्ने स्विकार्ने अवसर दिन्छ । सम्बन्ध बिग्रिएको मान्छेको व्यवहार लागू औषध दुर्व्यवसनीलाई नशा खान नदिएपछिको जस्तै हुने विल्बी बताउँछिन् । यस विषयमा डा. मल्होत्राको धारणा पनि ठ्याक्कै यही छ ।

‘मस्तिष्कभित्र कयौँ पटक डोपामिन रिवार्ड पाथवे सक्रिय हुन्छ, यसको कारण व्यक्तिमा अर्को व्यक्तिलाई भेट्ने इच्छा बढ्छ । तर त्यो व्यक्ति पाएन अनि सम्बन्ध टुटिसकेको छ भने व्यक्तिको हालत लागू औषधको लतमा डुबेको व्यक्तिले लागू औषध नभेटेपछिको जस्तै हुन्छ,’ मल्होत्रा भन्छन् । नशाको लतमा पनि डोपामिन रिवार्ड पाथवे नै सक्रिय हुन्छ ।

तत्कालै नयाँ सम्बन्ध बनाउनु हुन्छ ?

कुनै पनि सम्बन्ध टिकाइराख्न निकै मेहनत गर्नु पर्छ । हरेक सम्बन्ध वा साथले तपाईँको जिन्दगीमा निकै उथलपुथल ल्याउँछ । अर्को व्यक्तिको राम्रो वा नराम्रो पक्षसँग डिल गर्नु पर्ने हुन्छ । एउटा सम्बन्ध बिग्रने बित्तिकै नयाँ सम्बन्ध बनाउने मामिलामा भने आफूलाई केही समय दिनु पर्ने अनि आफ्नोबारे सोच्नु पर्ने विल्बी बताउँछिन् । तर यसको मतलब तपाई भिक्षु÷भिक्षुणी वा जोगी नै बन्नुस् भन्ने चाहिँ होइन ।

स्वयम्सँगको सम्बन्धको महत्त्व

एक जनासँग सम्बन्ध बिग्रने बित्तिकै अर्को बनाइहाल्नु  पर्छ भन्ने मान्छेहरू प्रायः सोच्छन् । तर हाम्रो सबैभन्दा जरुरी सम्बन्ध भनेको आफैँसँगको हो । यसमा केही नियम, केही सन्तुलन, केही अनुशासन हुनु पर्छ । यस्तो बेलामा रचनात्मक रुचिमा आफ्नो ऊर्जा लगाउनु पर्ने मल्होत्रा बताउँछन् । 

 आफ्नो कमी कमजोरीलाई बुझेर त्यसलाई हटाउने कोसिस गर्नु पर्ने पनि उनको जिकिर छ । हरेक सम्बन्धमा स्वस्थ आबद्धता अनि स्वस्थ दूरी जरुरी हुन्छ । अर्थात् एक अर्कासँग जोडिएर रहेर पनि अर्को व्यक्तिलाई पर्सनल स्पेस मिलोस् भनेर केही दुरी पनि राख्नु पर्ने हुन्छ ।

विषाक्त सम्बन्धमा रहनु भनेको शारीरिक, मानसिक र भावनात्मक स्वास्थ्य बिगार्नु हो । त्यस्ता सम्बन्ध अन्त्य गर्नु नै ठिक हुन्छ । यसले तपाईँलाई खुसी नै दिन्छ । उनी भन्छन्, 'अलग–अलग मानिससँग भेटघाट गर्नुहोस् । स्वस्थ बानी अपनाउनु होस् । जिन्दगीलाई नयाँ तरिकाले जीउन सिक्नु होस् । आफैलाई महत्त्व दिनुहोस् ।'

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप