बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय
शिक्षा

त्रिविबाट बिदा भए धर्मकान्त बाँस्कोटा : कस्तो आउनुपर्छ नयाँ उपकुलपति ?

त्रिविकै सिनेट वा बोर्डबाट उपकुलपति चयन गर्ने व्यवस्था हुनुपर्छ :  माथेमा
शुक्रबार, १७ कात्तिक २०८०, १५ : २९
शुक्रबार, १७ कात्तिक २०८०

काठमाडौँ । चार वर्षे कार्यकाल पूरा गरेर त्रिविका उपकुलपति प्राडा धर्मकान्त बाँस्कोटा बिदा भएका छन् । उनको कार्यकाल शुक्रबार सकिएको हो । उनको कार्यकाल सकिएसँगै नयाँ उपकुलपति को हुने भन्ने सर्वत्र चासो व्यक्त हुन थालेको छ ।

अहिले गठबन्धनको सरकार छ । शिक्षामन्त्री जसपाका नेता अशोक कुमार राई छन् । त्यस्तै प्रधानमन्त्री तथा कुलपति माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ छन् । अब उनीहरूबिच नै भागबन्डाको आधारमा सरकारले नयाँ उपकुलपति नियुक्त गर्नेछ । त्यसका लागि सहकुलपति तथा शिक्षामन्त्रीले सिफारिस गर्नेछन् । सहकुलपतिको सिफारिसको आधारमा कुलपतिले उपकुलपति नियुक्त गर्ने प्रावधान छ ।

उपकुलपतिका आकांक्षीहरू शक्तिकेन्द्र धाउन थालेका छन् । सरकारले गत साउनमा त्रिवि सेवा आयोगको अध्यक्षमा प्राडा घनश्याम भट्टराईलाई नियुक्त गरेको थियो । उनी नेपाली कांग्रेसको कोटाबाट नियुक्त भएका थिए ।

त्यस्तै गत भदौमा चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा प्राडा अञ्जनीकुमार झालाई नियुक्त गरिएको थियो । उनीसमेत नेपाली कांग्रेसको कोटाबाटै नियुक्त भएका थिए ।

त्रिविको उपकुलपति कसको भागमा पर्छ भन्ने यकिन हुन सकेको छैन । तर, इच्छुकहरू शक्तिकेन्द्र धाउन थालेका छन् । यसअघिका उपकुलपति बाँस्कोटालाई तत्कालीन कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्त गरेका थिए ।

बाँस्कोटाको चार वर्षे कार्यकाल विवादै विवादमा बित्यो । नेविसंघ, अखिल क्रान्तिकारी लगायतका विद्यार्थी संगठनको अवरोध निरन्तर भोग्नुपर्‍यो । चार वर्षमा १ वर्षभन्दा बढी त तालाबन्दीमात्रै भयो । जसले गर्दा उनले अपेक्षाकृत ढंगबाट काम गर्न सकेनन् ।

धराशायी बन्दै गएको त्रिविलाई अब चामत्कारिक जादुको आवश्यकता छ । विश्वबजारमा समेत यसको साख खस्किँदै गएको छ । सक्षम र बलियो त्रिवि बनाउन नेतृत्व पनि सक्षम र बलियो नै चाहिन्छ । त्यसका लागि अब कुनै पनि राजनीतिक दाग नलागेको व्यक्ति आउनुपर्नेमा विज्ञहरूको जोड छ ।

त्रिविका पूर्व उपकुलपति प्राडा केदारभक्त माथेमाले त्रिविजस्तो ठूलो संस्था हाँक्न सक्ने खालको समक्ष व्यक्ति आउनुपर्ने बताए । क्षमतावान, त्रिवि जस्तो धरोहरलाई हाँक्न सक्ने खालको व्यक्तिलाई उपकुलपति बनाउनुपर्ने उनको भनाइ छ ।

उनले भने, ‘त्रिविजस्तो ठुलो संस्थालाई हाँक्नसक्ने हुनुपर्छ । कुनै राजनीतिक गन्ध आउनु हुँदैन । स्वच्छ हिसाबले संस्थाकै भलाइका लागि यो मानिसले सक्छ है भन्ने लागेर सरकारले नियुक्त गर्‍यो भने राम्रो हुन्छ ।’

उनले त्रिविलाई अब बोर्ड अफ ट्रष्टीजमार्फत सञ्चालन गर्नुपर्ने बताए । त्यही ट्रष्टीजमार्फत नै त्रिविको उपकुलपति नियुक्त हुनुपर्ने उनको तर्क छ । ‘त्यसमा सरकारको कुनै हस्तक्षेप हुनु हुँदैन । सरकारले बजेट उपलब्ध गराउनेमात्र हो । अरु सबै आफैँ ट्रष्टीजबाट चल्छन्,’ उनले भने, ‘त्यो भयो भने त्रिविलाई उन्नतिको बाटोमा लैजान सक्छौँ । अहिलेकै बाटोमा लैजाने हो भने गाह्रो हुन्छ ।’

त्रिविको उपकुलपति प्रधानमन्त्री वा शिक्षामन्त्रीले नभई त्रिविकै सिनेट वा बोर्डबाट चयन हुनुपर्ने उनको तर्क छ । ‘त्रिविको उपकुलपति प्रधानमन्त्रीले नियुक्त गर्ने होइन । त्रिविकै बोर्ड अथवा सिनेटबाट नियुक्त गर्ने गरी ऐन संशोधन गर्नुपर्छ । प्रधानमन्त्रीले नियुक्त गर्दा त्यसमा राजनीतिक गन्ध आइहाल्छ,’ उनले भने ।

त्यस्तै उनले त्रिविको सुधारको ठुलाठुला क्याम्पसहरूलाई स्वायत्तता दिनुपर्ने समेत बताए । ‘त्रिवि धेरै ठुलो भयो । त्यसैले ठुलाठुला क्याम्पसहरूलाई स्वायत्तता दिनुपर्‍यो । कीर्तिपुरलाई भिन्नै डिग्री ग्रान्टिङ कलेजको रूपमा विकास गर्नुपर्‍यो,’ उनले भने, ‘सकिन्छ भने त्रिचन्द्र, पद्मकन्या, पाटनलाई स्वायत्तता दिने । त्यो गरियो भने त्रिवि बच्न सक्ला, नत्र गाह्रो हुन्छ ।’

निवर्तमान उपकुलपति प्राडा धर्मकान्त बाँस्कोटाले समेत त्रिवि सुुधारका लागि विभिन्न सुझाव अघि सारेका छन् । आफ्नो चार वर्षे कार्यकाल सकिएसँगै उनले त्रिविको सुधारका लागि विभिन्न योजना तथा सुभाव अघि सारेका हुन् ।

त्रिविको विद्यमान ऐन अनुसार प्रधानमन्त्री विश्वविद्यालयको कुलपति र शिक्षामन्त्री सहकुलपति हुने प्रावधान अन्त्य हुनुपर्ने उनले बताए । प्रधानमन्त्री र शिक्षामन्त्रीले चाहँदाचाहँदै पनि विश्वविद्यालयका लागि समय दिन नसक्ने भएकाले यसको विकल्प दिनुपर्ने उनको भनाइ थियो ।

प्रधानमन्त्री नै कुलपति हुने प्रावधान हटाइ विश्वविद्यालयमा स्थापित भइसकेको ‘ट्रस्ट’ को प्रावधान व्यवस्था गरी विशेषज्ञता हासिल गरिसकेको शैक्षिक व्यक्तित्वलाई खुला प्रतिस्पर्धाबाट कुलपति नियुक्त गर्ने प्रावधानको विकास गर्नुपर्ने उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्णसिंह धामी
कृष्णसिंह धामी

धामी श्रम/वैदेशिक रोजगार र शिक्षा विटमा विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप