बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

अश्लील तस्बिर सामाजिक सञ्जालमा प्रयोग गरी युवतीलाई ब्ल्याकमेल

शुक्रबार, १७ कात्तिक २०८०, १५ : ३५
शुक्रबार, १७ कात्तिक २०८०

जनकपुरधाम । सामाजिक सञ्जालमा युवतीको अश्लील फोटो बनाएर ब्ल्याकमेल गर्ने सिरहा, मिर्चैयाका एक युवकविरुद्ध प्रहरीमा उजुरी दर्ता भएको छ । सिरहाको मिर्चैया नगरपालिका–४ का श्रवणकुमार साहविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा धनुषाकी एक युवतीले उजुरी दर्ता गराएकी हुन् ।

आफ्नो अश्लील फोटो बनाएर ब्ल्याकमेल गरिरहेको भन्दै काठमाडौँ, गौशालास्थित अन्नपूर्ण नेपाल टुर्स एण्ड ट्राभल्सका सञ्चालकसमेत रहेका साहविरुद्ध ती युवतीले उजुरी दिएकी हुन् ।

ती युवतीको अश्लील तस्बिर ती युवकले सामाजिक सञ्जालमार्फत युवतीका आफन्तहरुलाई पठाउने गरेको बताइएको छ ।

‘ऊसँग मेरो फेसबुकमार्फत चिनजान भयो । अविवाहित छु भनेर प्रेमजालमा पार्यो,’ ती युवतीले भनिन्, ‘तर ऊ विवाहित रहेको थाहा पाएपछि दुरी बनाउँदा उसले मेरो अश्लील फोटोहरु बनाएर सामाजिक सञ्जाल लगायतका माध्यमबाट मेरो आफन्तहरुलाई पठाइरहेको छ ।’

यसअघि पनि युवतीले साहविरुद्ध काठमाडौँस्थित गौशाला प्रहरी वृत्तमा ब्ल्याकमेल र साइबर अपराध सम्बन्धी मुद्दा दिएकी थिइन् । प्रहरीले साहलाई पक्राउ गरेर अब उप्रान्त यस्तो कार्य नगर्ने भनी सहमति गराएको थियो ।

युवतीले धनुषा प्रहरीमा गत असोज २९ गते उजुरी दर्ता गराए पनि प्रहरीले कारबाहीमा चासो नदेखाएको युवतीको आरोप छ ।

यता धनुषा प्रहरीले आवश्यक कारबाहीका लागि गौशाला प्रहरी वृत्तमा पत्राचार गरिसकेको जनाएको छ । आरोपित साहलाई छलफलका लागि उपस्थित गराइदिन भनी पत्राचार गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप