मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

संघमा बस्नेले संघीयता रुचाएनन् : मुख्यमन्त्री पाण्डे

शुक्रबार, १७ कात्तिक २०८०, १५ : ४६
शुक्रबार, १७ कात्तिक २०८०

पोखरा ।  गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले केन्द्रीकृत मानसिकताका कारण सङ्घीयतालाई स्वीकार नगरिएको बताएका छन् । उनले सङ्घ सरकारको नेतृत्व गर्नेहरूले नै सङ्घीयतालाई नटेरेको बताए । बागलुङ कांग्रेसको जिल्ला भेलामा बोल्दै उनले भने, ‘हाम्रो केन्द्रीकृत मानसिकता बदल्न सकेका छैनौँ । संघमा बस्नेहरूले नै प्रदेशको काम कारबाहीको बारेमा उहाँहरूले आफैँ प्रश्न चिन्ह खडा गर्नुभएको छ ।’ 

कांग्रेस केन्द्रीय सदस्य समेत रहेका पाण्डेले पार्टी र सरकार अलग अलग बाटो हिँडेका कारण समाजवाद प्राप्तिमा समस्या भएको बताए । ‘अब म छिट्टै आफ्नै उपस्थितिमा हरेक जिल्लामा पार्टीका पदाधिकारी र सदस्य तथा सरकारका पदाधिकारी र सदस्य बिच अन्तरक्रिया गर्न चाहन्छु । सरकार एउटा बाटोबाट र पार्टी अर्को बाटोबाट हिँड्दा समाजवाद प्राप्त गर्न सकेनौँ,’ उनी भन्छन्, ‘पटक पटक सरकारले आफ्नो बाटो तय गरेर अलग अलग हिँड्दा भएका दुर्घटना देखेको छु । त्यसकारण पार्टी र सरकारसँगै हुनुपर्छ भन्ने मेरो बुझाई छ ।’ 

उनले स्थानीय तह र प्रदेशबिच सहकार्य र समन्वय जरुरत रहेको तर हुन नसकेको बताए । पाण्डेले आफ्नो कारणले कसैले पनि शिर झुकाउने अवस्था नआउने बताए । ‘तपाईँहरू ढुक्क हुनुस्, मेरो नेतृत्वमा गण्डकी सरकार छ । हाम्रा कारणले कुनै पनि कांग्रेसका कार्यकर्ताले शिर झुकाउनुपर्ने अवस्था आउँदैन,’ उनले भने, ‘म त्यसको ग्यारेन्टी गर्छु ।’ 

उनले अब पहुँचका आधारमा बजेट विनियोजन गर्ने प्रणालीको अन्त्य भएको सुनाए । ‘यसपालि हामी बजेट बनाउनुभन्दा डेढ महिना अगाडी मात्रै सरकारमा गएका थियौँ । चाहेर पनि कतिपय योजना समावेश गर्न सकेनौँ,’ उनी भन्छन्, ‘अब पहुँचका भरमा होइन, प्राथमिकता र आवश्यकताका  आधारमा योजना छान्छ, बजेट विनियोजन गर्छ । हाम्रो योजना आयोग आउँछ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप