आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
गणतन्त्रवादीलाई चुनौती

आक्रामक दुर्गा प्रसाईं : मुख्य राजनीतिक दललाई टाउको दुखाइ !

‘कांग्रेस–एमालेसहितका गणतन्त्रवादी एक ठाउँमा उभिने अवसर’
आइतबार, १९ कात्तिक २०८०, १३ : ३२
आइतबार, १९ कात्तिक २०८०

काठमाडौँ । सुशासन, महँगी नियन्त्रण र सामाजिक अराजकता जस्ता जनताका सामान्य अपेक्षा राज्यले सम्बोधन गर्न नसक्दा त्यसैको कमजोरीमा फाइदा उठाउन व्यवस्था विरोधी र अराजकतावादीहरुले खेल्न थालेका छन् । जसले समाजलाई थप अराजकतातर्फ धकेल्ने चिन्ता बढेको छ ।

पछिल्लो समय अराजकताको अगुवाइ गरेका छन्–मेडिकल व्यवसायी तथा नेकपा एमालेका पूर्वकेन्द्रीय सदस्य दुर्गा प्रसाईंले । प्रसाईंका पछिल्ला गतिविधि र आक्रामक क्रियाकलाप प्रमुख राजनीतिक दल र सरकारलाई टाउको दुखाइको विषय बन्न पुगेको छ ।

नागरिकको असन्तुष्टिलाई क्यास गर्दै प्रसाईंले व्यवस्थामाथि नै धावा बोल्न थालेपछि गणतन्त्र पक्षधर प्रमुख राजनीतिक दलहरुमाथि नै गम्भीर प्रश्नसमेत उठ्नुुका साथै उनीहरु सच्चिएर एक ठाउँमा उभिने र सुशासनको पक्षमा काम गर्ने चुनौती थपिएको छ ।

यही बेला ‘नेपालीहरुको मुक्तिको दिन, भ्रष्टहरुको हाहाकार मंसिर ७ बिहीबार’ लेखिएको व्यवसायी प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ महाअभियानको पोष्टर सामाजिक सञ्जालमा चर्चाको केन्द्रमा छ ।

दुर्गा प्रसाईं यस्ता व्यक्ति हुन्, जो केही समययता लगातार उत्तेजक अभिव्यक्ति र व्यवहारका कारण विवादसहित चर्चामा आइरहेका छन् । कहिले ऋणीहरुलाई बैंकको ऋण नतिर्न उर्दी जारी गर्ने त कहिले एमाले अध्यक्ष केपी शर्मा ओलीको अर्बौं लगानी कम्बोडियाको टेलिकममा रहेको तथा देश डुबाउने ओली, प्रचण्ड, शेरबहादुर, माकुने हुन् भनेर अभिव्यक्ति दिने उनै प्रसाईंले जनताको पहलमा बनेको २०७२ को संविधान र लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थाकै विरुद्ध खुलेआम आफ्ना गतिविधि चलाउन उद्यत छन् ।

प्रसाईंका गतिविधिविरुद्ध नेकपा एमालेको युवासंघ प्रतिकारमै उत्रिसकेको छ । त्यतिमात्रै होइन, प्रसाईंले हालको गणतन्त्रकै विकल्प भन्दै यो व्यवस्था नै परिवर्तन गरेर राजा ल्याउने डंका पिट्दै नागरिकहरुलाई मंसिर ७ गते काठमाडौँमा भेला हुन अपिल जारी गरेका छन् । त्यसको तयारीस्वरुप उनले कात्तिक १८ गते शनिबार काठमाडौँको गोंगबुबाट मोटरसाइकल ¥याली निकाले ।

कुनै पनि नागरिक वा समूहलाई शान्तिपूर्ण ढंगले आफ्ना गतिविधि गर्ने संवैधानिक स्वतन्त्रता भए पनि प्रसाईंले स्वतन्त्रताका नाममा अराजकता मच्चाउने प्रयत्न गरेको उनका विगतका केही क्रियाकलापबाटै पुष्टि हुन्छ । झापामा एमाले नेता महेश बस्नेत सहभागी कार्यक्रममा एमाले नेता तथा कार्यकर्ताका सवारी साधनमा आक्रमण र तोडफोड होस् वा मारवाडी समुदायमाथिको आक्षेप प्रसाईंका गतिविधि क्षम्य गर्न लायक छैनन् ।  

‘हामीलाई थाहा छैन अब यो देशको राजा, प्रधानमन्त्री र मन्त्री को हुन्छ भनेर । तर हामीलाई थाहा छ कि मंसिर ७ मा १६ जना तस्कर मारवाडीहरु, १० जना लुटेरा व्यापारीहरु र ३० जना भ्रष्ट नेताहरु कि भाग्छन्, कि सकिन्छन्, कि जेल जान्छन्’, प्रसाईंले समस्याको समाधान मंसिर ७ मा हुने दाबी गर्दै आफ्नो सामाजिक सञ्जालमा प्रचार गरेका छन् ।

त्यसो त प्रसाईंको अराजकताले सीमा नाघेको राजनीतिक दलहरुले नबुझेका होइनन् । कहिले राजनीतिक दलका कार्यक्रममा सहभागीहरुमाथिको आक्रमण त कहिले राज्यको कानुनभन्दा आफूलाई माथि ठानेर कानुनविपरीतका अभिव्यक्ति दिँदै समाजलाई हुँडल्ने र भड्काउने कामको अगुवाइमा प्रसाईं अग्रपंक्तिमा उभिएपछि त्यसको काउन्टरमा दलहरु उभिने प्रयत्नसमेत गरेका छन् ।

कसको आडमा बोल्दैछन् प्रसाईं ?

त्यसो त दुर्गा प्रसाई एक्लैले व्यवस्था नै परिवर्तन गर्ने धम्की दिन सक्ने अवस्था नरहेको गणतन्त्रवादी नेताहरुको बुझाइ छ । अगाडि प्रसाईं देखिए पनि यसको पर्दा पछाडि पूर्व राजा ज्ञानेन्द्र शाहको लगानी र योजना रहेको धेरैको बुझाइ छ । त्यसैले त हुनसक्छ प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’देखि सत्तारुढ दलका नेता तथा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले पूर्व राजा ज्ञानेन्द्र शाहलक्षित अभिव्यक्ति पनि दिइरहेका छन् । उनीहरुले राजनीति गर्ने भए पार्टी खोल्न र मैदानमा आउन चेतावनी दिइसकेका छन् ।

पूर्वप्रधानमन्त्री नेपालले बिहीबारको संसद बैठकमा पूर्व राजाको नाम नलिइकनै गणतन्त्रको विकल्प दिन चुनौती दिए ।

नेपालको राजनीतिमा जीवन समपर्ण गरेका व्यक्ति राष्ट्रपति भएकोमा पीडा भएको हो ? भनेर प्रश्न गर्दै नेता नेपालले देश सञ्चालन गर्ने कुरामा पीडा भएको हो भने राजनीतिमा विकल्पहरु दिन शाहलाई नेपालले चुनौती दिए । ‘राजनीतिमा विकल्प दिएर जनतामा आशा जगाउनुस् तर यो व्यवस्थामा प्रश्न गर्ने अधिकार तपाईलाई छैन’, नेपालको भनाइ छ ।

बिहीबारै प्रधानमन्त्री प्रचण्डले बुटवलमा आयोजित कार्यक्रममा सडक पार्टीकै लागि भएको भन्दै संविधान र व्यवस्थाबारे जनतालाई जागृत गर्न पार्टीले आयोजना गर्न लागेको कार्यक्रमप्रति आलोचना भइरहेकोमा कटाक्ष गरे । ‘पार्टीहरु सडकमा नगएर के पूर्व राजा ज्ञानेन्द्र शाहलाई छोड्दिने ?’ भनेर प्रश्नसमेत गरे ।

नेकपा एकीकृत समाजवादीका प्रचार विभाग प्रमुखसमेत रहेका जगन्नाथ खतिवडा पूर्व राजा शाह र उनका समर्थकहरुबाट भइरहेको व्यवस्था विरोधी क्रियाकलाप गणतन्त्रवादी दलहरुले चिर्न आवश्यक रहेको बताउँछन् ।

‘दुर्गा प्रसाईंलाई पूर्व राजा ज्ञानेन्द्र शाहले नै उचालेको हुनुपर्छ । किनभने पुनर्उत्थानवादीहरुको नेतृत्व उनै शाहले गरेका छन् । शाहको आडभरोसमा राजतन्त्र पक्षधरको प्रचारवाजी र मिडियावाजी अहिले चर्को रुपमा भएको पनि देखिन्छ’, खतिवडाले रातोपाटीसँग भने, ‘त्यसको काउन्टरका लागि गणतन्त्रवादीहरु एक ठाउँमा उभिन जरुरी छ भन्ने पनि देखिँदैछ ।’

खतिवडाका अनुसार राजतन्त्र पक्षधरहरुले कुनै एक नेता र दल नभनी सबै दल पुराना र स्थापित दल तथा नेता कार्यकर्तालाई एकमुस्ट खराब हुन् भनेर इंगित गर्ने प्रयत्न गर्दै समाप्त गर्नुपर्छ भन्ने अभिव्यक्तिहरु दिइरहेका छन् । 

सत्तारुढ नेकपा माओवादी केन्द्रका नेता तथा पार्टी प्रवक्ता अग्नि सापकोटा अहिलेको अवस्थामा १२ बुँदे सम्झौताका पक्षधरहरु एक ठाउँमा उभिनुपर्ने बताउँछन् । ‘हस्ताक्षरकर्ता, परिवर्तनका पक्षधर, अग्रगमनका पक्षधर, संविधान जारी गरेका शक्तिहरू संविधान, गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशी सिद्धान्तका पक्षधरहरूका बिचमा एउटा राष्ट्रिय दृष्टिकोण बन्नुपर्छ भन्नेमा मोटामोटी समझदारी भएको छ’, सापकोटाले रातोपाटीसँग भने, ‘यस विषयमा छलफल गर्न छिट्टै बैठक बस्दैछ ।’

सापकोटाले देशभर प्रतिगामी तत्वहरूले गतिविधि गरिरहेको बताए । ‘लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र हो । गणतन्त्रको विकल्पमा खासै जनधार भएको, संगठन भएका, छवि भएकाहरू त्यतातिर छैनन् । तर केही शक्तिहरूले परिवर्तनबाट प्राप्त उपलब्धिलाई चुनौती दिन खोजे पनि मुख्य पार्टीहरू सहमति भयो भने त्यो त्यसै बिलाएर जान्छ’, सापकोटाले रातोपाटीसँग भने ।

गणतन्त्रवादी एक ठाउँमा आउने अवसर

राष्ट्रिय अन्तर्राष्ट्रिय प्रतिगमनकारी शक्तिहरुले संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रसहितका उपलब्धिहरु कमजोर पार्न तथा समाजमा अराजकता फैलाउन थालेको निष्कर्षसहित परिवर्तनका पक्षधर राजनीतिक दलहरु एक ठाउँमा उभिने प्रयत्नमा जुटेका छन् । पछिल्ला दिनमा प्रतिगामी शक्तिहरुले सामाजिक सञ्जाललगायत विभिन्न माध्यमको प्रयोग गर्दै व्यवस्थामाथि नै प्रश्न उठाउने र जनतालाई भ्रमित पार्ने काम गर्न थालेपछि प्रमुख राजनीतिक दलहरु नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र नेकपा एमालेसहितका पार्टी र नेताहरु संविधान र व्यवस्थामाथिको प्रहार रोक्न एक ठाउँमा उभिन लागेका हुन् ।

त्यसका लागि गत शुक्रबार र आइतबार प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबिच पहिलो चरणको छलफल भइसकेको छ ।

‘पहिलो चरणमा प्रधानमन्त्रीसहित कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबिच छलफल भइसकेको छ’, प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले भने, ‘अब दोस्रो चरणको छलफल पनि छिट्टै हुने र समान धारणा बनाउने प्रयत्न भइरहेको छ ।’

प्रेस सल्लाहकार आचार्यले तिहार पर्व अघि नै गणतन्त्रवादी शक्तिहरुको बैठक बस्नेगरी नेताहरुबिच कुराकानी भइरहेको बताए ।

‘तिहार अघि नै प्रमुख शक्तिहरुको बैठक बस्ने कुरा भएको छ तर कहिले र कहाँ बस्ने भन्ने टुङ्गिएको छैन, अनौपचारिक रुपमा नेताहरुबिच कुराकानी जारी नै छ’, आचार्यको भनाइ छ ।

प्रमुख दलका नेताहरुबिच पूर्वराजा ज्ञानेन्द्र शाह र उनी पक्षधरहरुले सामान्य कमजोरीमा खेल्न खोजेको तथा पूर्वराजा शाहले राजाकै हैसियतमा आफ्ना गतिविधि गर्न थालेर जनतामा भ्रम छर्न खोजेको परिवर्तन पक्षधरहरुको बुझाइ छ ।

नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियार कुनै व्यक्ति विशेषले राजतन्त्र फर्काउँछु भन्दैमा त्यसका लागि नेपाली जनसमर्थन प्राप्त हुन नसक्ने बताउँछन् । तर राजतन्त्र चाहिन्छ भन्नेलाई पनि आफ्ना विचार राख्ने स्वतन्त्रता अहिलेको व्यवस्थाले दिएको परियारको भनाइ छ ।

‘मल्टी पार्टी डेमोक्रेसीको सुन्दर पक्ष भनेको नै विविध खालका विचारहरु फल्न फुल्न पाउनुपर्छ भन्ने हो । त्यसकारण त्यसमा हामीले हच्किनु वा डराउनुपर्छ जस्तो लाग्दैन’, सहमहामन्त्री परियार भन्छन्, ‘बरु हामी राजनीतिक दलहरुले आफ्नो विचारलाई जनताका बिचमा यो बिचार उत्तम हो भनेर प्रमाणित गर्ने र मोटिभेसन गर्ने दिशामा जानुपर्छ । त्यसका लागि हामी परिवर्तनका पक्षधरहरु एकै ठाउँमा आउनु त राम्रो हुँदै हो ।’

झडपको संकेत ?

प्रसाईंले मंसिर ७ मा कार्यक्रम राखेपछि एमाले निकट युवा संघले पनि सोही दिन काठमाडौँमा कार्यक्रम राखेको छ । दुवै पक्षको कार्यक्रम एकै दिन परेकाले झडप हुने खतरासमेत बढेको छ । राष्ट्रिय युवा संघका इन्चार्ज समेत रहेका एमाले नेता महेश बस्नेतले मंसिर ७ मा बृहत् कार्यक्रम राखिएको बताए ।

उनले लघुवित्त, सहकारी र बैंक पीडितहरुका नाममा प्रसाईंले गतिविधि गर्न खोजेको भन्दै यस्ता अराजक र अपराधीहरुले त्यस्ता मुद्दा उठाउने नभइ राजनीतिक दलहरुले उठाउने भएकाले आफूहरुले कार्यक्रम राखेको बताए ।

‘किनभने यी मुद्दा सम्बोधन गर्न क्याबिनेटले निर्णय गर्नुपर्ला र कानुन बनाउनुपर्छ । यो समग्र काम राजनीतिक दलहरुले गर्ने हो । त्यसकारण युवासंघले सबै विषयको नेतृत्व गर्नेगरी मंसिर ७ गते काठमाडौँमा विशाल कार्यक्रम गर्दैछ,’ बस्नेतको भनाइ छ ।

उक्त कार्यक्रममा सबै किसिमका मानिस सहभागी हुने भन्दै जनताका मुद्दामा काम गरेर देखाउने बस्नेतको दाबी छ । उनले मंसिर ७ मा २० हजार कार्यकर्ता सडकमा उतार्ने पनि बताएका छन् ।

उक्त कार्यक्रमबारे आफू निकटका कार्यकर्तालाई निर्देशन दिएको एक भिडियो सामग्री सामाजिक सञ्जालमा राख्दै बस्नेतले मंसिर ७ को कार्यक्रम सहज र शान्तिपूर्ण ढङ्गले हुने भन्दै कुनै अराजकतावादी आएमा ‘अचार’ हुने चेतावनी दिएका छन् ।

विशेष तयारीको निर्देशन दिँदै बस्नेतले भनेका छन्, ‘लडाकु युवा पहिलो लाइनमा बस्ने, आम सर्वसाधारण बिचमा राख्ने र त्यहाँ कुनै पनि किसिमको प्रतिरोध भयो भने सशक्त ढंगले प्रतिरोध गर्ने ।’ त्यस क्रममा एमाले अध्यक्ष केपी शर्मा ओली र अन्य नेता कार्यकर्तामाथि अनावश्यक लाञ्छना लगाउने र दुःख दिने कसैले गरे भने अरिङ्गालको गोला जसरी प्रस्तुत हुन पनि बस्नेतको निर्देशन छ ।

उनले जे जे गर्न सकिन्छ गर्नुपर्ने भन्दै हारेर र गर्न नसकेको कुरै नगर्न भनेका छन् । ‘जनताको पक्षमा, सामाजिक सद्भावको पक्षमा, राष्ट्रियताको पक्षमा उभिने तर सरकार र सरकारको आडमा कराउने अराजकतावादीहरु सबैलाई प्रहरी प्रशासनको सहयोग लिएर दुर्गा प्रसाईंदेखि आङकाजीसमेतलाई ठिक पार्ने, परेको म बेहोर्छु’, बस्नेतले भनेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

 फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप