आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

कान्तिपुर पव्लिकेशनले प्रेस स्वतन्त्रताको चरम दुरुपयोग गरेको नेपाल पत्रकार महासंघको ठहर

‘आरोप पुष्टि गर्न महासंघको चुनौती’
बुधबार, २२ कात्तिक २०८०, १४ : ३४
बुधबार, २२ कात्तिक २०८०

काठमाडौँ । नेपाल पत्रकार महासंघले कान्तिपुर मिडिया ग्रुपले महासंघलाई लगाएको आरोप पुष्टि गर्न चुनौती दिएको छ । बुधबार अध्यक्ष विपुल पोखरेलको अध्यक्षतामा बसेको महासंघको बैठकले कान्तिपुर मिडिया ग्रुपले हालै निकालेको प्रेस विज्ञप्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै आरोप पुष्टि गर्न चुनौती दिएको हो । 

बैठकपछि महासंघले जारी गरेको विज्ञप्तिमा गैरकानूनी ढंगबाट निष्कासित पत्रकारलाई श्रमजीवी पत्रकार ऐनअनुसार सेवा, सुविधा दिन छाडेर महासंघलाई विभिन्न आरोप लगाउनुले महासंघले यसअघि कान्तिपुरको सम्पादकीय स्वतन्त्रतामाथि उठाएको प्रश्नलाई पुष्टि गरेको उल्लेख छ । 

विज्ञप्तिमा भनिएको छ,‘महासंघको विश्वसनीयतामा प्रश्न गर्ने कान्तिपुरले कानुनको पालना गर भन्ने कुरालाई विभिन्न आरोप लगाएर प्रेस स्वतन्त्रताको चरम दुरुपयोग गरेको महासंघको ठहर छ ।’

साथै कान्तिपुर मिडिया ग्रुपले गैरकानूनी ढंगले निष्कासन तथा सरुवा गरेका पत्रकारले आफूले पाउनु पर्ने सुविधा पाऊ भनेर आवाज उठाउँदा सुन तस्करी, भ्रष्टाचार वा बेथितिसँग जोडेर विषयान्तर गर्ने स्तरहीन तथा टिप्पणी गर्न पनि लायक नभएको विज्ञप्तिको विषयमा जवाफ दिइरहन महासंघलाई आवश्यक नरहेको समेत निष्कर्ष निकालेको छ । 

मंगलबार पत्रकार निष्कासनको विषयमा कान्तिपुर पब्लिकेशन्सले आन्तरिक समझदारी वा कानुनी मार्गबाहेक कुनै पनि तेस्रो पक्षको गैरव्यावसायिक दबाबसँग सम्झौता नगर्ने बताएको थियो । 

कान्तिपुरले नेपाल पत्रकार महासंघको ब्यानरमा सुनियोजित भ्रम फैलाउने, संस्था र नेतृत्वप्रति दुराग्रहपूर्वक लाञ्छना लगाउने र कान्तिपुरले उजागर गरेका बेथितिका बदलामा राजनीतिक प्रतिशोध लिने शृंखला चलेको भन्दै महासंघप्रति कान्तिपुर पब्लिकेशन्स्ले आरोप लगाएको थियो ।

nn1

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप