शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
उत्पादन

सुदूरपश्चिममा मुख्यमन्त्री विशेष उत्पादन कार्यक्रम : किसानका लागि लगन पछिको पोते !

शुक्रबार, २४ कात्तिक २०८०, ०९ : ३३
शुक्रबार, २४ कात्तिक २०८०

धनगढी । सामान्यता कैलाली, कञ्चनपुरका किसानहरु धान काटेलगत्तै आलु खेती गर्छन् । यहाँका किसानले दसैँ अगावै धान बाली भित्र्याएर आलु रोपिसकेका छन् ।

तर किसानले आलु रोपिसकेपछि सुदूरपश्चिम सरकारले बल्ल आलु खेती लक्षित कार्यक्रमको सूचना सार्वजनिक गरेको छ ।

प्रदेश सरकार मातहतको कृषि ज्ञान केन्द्र कैलालीले आलु खेतीलाई लक्षित गरी ‘मुख्यमन्त्री बृहत् एवं विशेष उत्पादन तथा औद्योगिक कार्यक्रम’का लागि कार्तिक २० गतेमात्रै सूचना प्रकाशित गरेको छ । उक्त कार्यक्रममा सहभागिताका लागि मंसिर ८ गतेभित्र प्रस्ताव पेस गर्नुपर्ने समयसीमा छ । सूचनाको प्रकृति अनुसार लाभग्राही छनोट भइ सो कार्यक्रम पुस महिनादेखि कार्यान्वयनमा जाने देखिन्छ ।

किसानले आलु रोपिसकेको अवस्थामा सरकारले कसलाई लक्षित गरी कार्यक्रम ल्याएको भन्दै यतिबेला टिप्पणी भइरहेको छ । कैलालीको कैलारी गाउँपालिका–९ सामरचौराका कृषक छेदालाल चौधरीले सरकारको कार्यक्रम किसानका लागि ‘लगन पछिको पोते’ झैँ भएको गुनासो पोखे ।

एक बिघा १० कट्ठा जमिनमा आलु रोपेका चौधरीले समय घर्किसकेपछि आएको सरकारी कार्यक्रमको लाभ वास्तविक किसानले उठाउन नसक्ने बताए ।

यहाँको मौसमको प्रकृति अनुसार कार्तिक पहिलो सातातिरै आलु रोपिसक्नुपर्ने कृषि प्राविधिकहरु बताउँछन् । कृषि प्राविधिकसमेत रहेका कैलाली, जोशीपुरका अभिमन्यु चौधरीले निकै ढिलो गरी जारी सूचना अनुसार कार्यक्रम कार्यान्वयन पुसमा हुने भएकाले कार्यक्रमले सार्थकता नपाउने औँल्याए ।

tharu aalu3

उनले भने, ‘एक महिना पहिले निकाल्नुपर्ने सूचना एक महिना ढिलो आउँछ । जुन मौसम र प्राविधिक हिसाबले पनि प्रतिकूल हुन गएको छ । कार्यक्रमको लाभ लिन किसानले तयारी गर्नै पाएनन् । अर्कोतिर चिसो बढेपछि रोपेको आलुको उत्पादन घट्छ । यो कार्यक्रमले आफ्नो लक्ष्य भेट्टाउन सक्दैन ।’

कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख खगेन्द्र शर्माले पनि कार्यक्रम ढिलो सार्वजनिक भएको स्वीकारे । मन्त्रालयको निर्णयका कारण कार्यक्रम ढिलो आएको बताउँदै उनले वास्तविक किसानलाई कसरी समावेश गर्ने भन्नेबारे छलफल भइरहेको सुनाए ।

शर्माले भने, ‘हामीलाई पनि लागेको छ, कार्यक्रम ढिलो भयो । तर आलु खेती गर्ने कृषकलाई कसरी समावेश गर्ने भनेर छलफल भइरहेको छ । भएको खेती त देखिहाल्छ नि फिल्डमा, कार्यक्रमको प्रक्रिया अनुसार आएका किसानलाई समावेश गर्न सकिन्छ ।’

Suchna krisi gyan kendra

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लखन चौधरी
लखन चौधरी
लेखकबाट थप