शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय
सतर्कता जरुरी

खुला स्थानमा मोटरसाइकल पार्किङ चोरलाई निम्तो !

उपत्यकामा दैनिक ५ वटा मोटरसाइकल चोरी
सोमबार, २७ कात्तिक २०८०, १० : ५८
सोमबार, २७ कात्तिक २०८०

काठमाडौँ । बालाजु वनस्थलीमा पसल सञ्चालन गर्ने मधुकर सत्याल शुक्रबार राति करिब ८ बजे पार्किङ स्थलमा पुगे । तर, पार्किङमा आफ्नो मोटरसाइकल भेटेनन् । त्यसपछि उनले तुरुन्तै ट्राफिक प्रहरीको कन्ट्रोल रुम १०३ मा फोन गरेर जानकारी गराए ।

वर्ष दिनअघि झन्डै चार लाख रुपैयाँ तिरेर मोटरसाइकल खरिद गरेका सत्यालले पसलमा सामान बेच्दाबेच्दै चोरले मोटरसाइकल उम्काएको थाहै पाएनन् । उनले चार महिनादेखि खुला स्थानमा पार्किङ गर्दै आएका थिए । 

काठमाडौँ उपत्यकामा २२० सीसीको पल्सर मोटरसाइकल धेरै चोरी हुँदै आएको छ । ट्राफिक प्रहरीले बेला बेलामा माइकिङ गर्दै खुल्ला स्थानमा जथाभाबी पार्किङ नगर्न सर्वसाधारणलाई सुझाउँदै नआएको होइन । 

सत्यालको असावधानीले आँखा ढिम्कन नपाउँदै मोटरसाइकल चोरले क्षणभरमै उम्कायो । उनले रातोपाटीसँग भने,‘चार महिनादेखि एउटै ठाउँमा मोटरसाइकल पार्किङ गर्थेँ । शुक्रबार पसलमा अलिक भीड थियो । कुन बेला चोरी भयो थाहै पाइनँ ।’ 

आइतबार उनी मोटरसाइकल हराएको उजुरी दिन उपत्यका ट्राफिक प्रहरी कार्यालयमा पुगेका थिए । त्यहाँ सत्याल मात्रै हैन, अन्य पीडित उजुरी दिन पुगेका थिए । 

कार्यालयका अनुसार गत आर्थिक वर्षमा मोटरसाइकल हराएको÷चोरी भएको एक हजार आठ सय ५० वटा उजुरी परेको थियो । जसमा ट्राफिक प्रहरीले अनुसन्धानका लागि पाँच सय ५१ वटा मोटरसाइकल कार्यालयमा ल्याएको थियो । 

त्यसमध्ये ४ सय ९९ वटा सवारी धनीलाई बुझायो भने ३४ वटा मोटरसाइकल र चोरीमा संलग्न ३८ जनालाई मुद्दा चलाउन सम्बन्धित कार्यालयमा सिफारिस गर्‍यो । यो आर्थिक वर्षको कात्तिक २५ गतेसम्म मात्रै हराएको÷चोरी भएको उजुरी ८ सय ४४ वटा परेको छ । जसमध्ये ट्राफिक प्रहरीले एक सय ८० वटा मोटरसाइकल अनुसन्धानको लागि ल्याएको छ । 

कार्यालयका अनुसार एक सय ४८ वटा मोटरसाइकल धनीलाई बुझाइयो भने ११ वटा मोटरसाइकल र १३ जनालाई चोरीमा मुद्दा चलाउने अन्य प्रहरी कार्यालयमा सिफारिस गरेको छ । 

ट्राफिक प्रहरीका प्रवक्ता एवं एसएसपी राजेन्द्रप्रसाद भट्टका अनुसार काठमाडौँ उपत्यकामा दैनिक ४ देखि ५ वटा मोटरसाइकल हराएको÷चोरी भएको उजुरी पर्ने गरेको छ । खास गरी, खुल्लास्थानमा पार्किङ गरेका मोटरसाइकल धेरै चोरी हुँदै आएको उनले बताए । 

‘अस्पतालका पार्किङसँगै अन्य खुल्ला स्थानमा लामो समय पार्किङ गरेका मोटरसाइकल चोरी हुँदै आएको देखिन्छ । एकान्त र खुलास्थानमा पार्किङ गर्नु भनेको चोरलाई निम्तो दिनुसरह हो,’ प्रवक्ता भट्टले अगाडि भने ।

काठमाडौँ उपत्यकाबाट चोरी भएका मोटरसाइकल छिमेकी जिल्ला धादिङ, नुवाकोट, रसुवा, काभ्रेबाट पनि फेला परेको अभिलेख ट्राफिक प्रहरीसँग छ । 

त्यस्तै, चोरले मोटरसाइकल मधेस प्रदेशका जिल्लाहरूमा लैजाने र सीमा कटाएपछि त्यसको पार्टसहरु बिक्री गर्ने गरेको ट्राफिक प्रहरीको अनुसन्धानले देखाउँछ । 

‘तत्कालै सूचना रिले भएको अवस्थामा चोरी भएका मोटरसाइकल भेट्टाउन सजिलो हुन्छ,’ भट्टले रातोपाटीसँग भने,‘उपत्यका कटिसकेपछि मधेसका जिल्लाबाट नेपालको सीमा कट्यो भने भेट्टाउन गाह्रो हुन्छ ।’ 

ट्राफिक प्रहरी कार्यालयले यो आर्थिक वर्षमा मात्रै १२ वटा मोटरसाइकल सवारीधनी नखुलेपछि भन्सारका लागि पठाएको छ । गत आर्थिक वर्षमा ९५ वटा मोटरसाइकल भन्सारका लागि पठाइएको जानकारी एसएसपी भट्टले दिए । 

पल्सरपछि होन्डा साइन, बुलेट र बजाज कम्पनीका अन्य मोटरसाइकल चोरको रोजाईमा पर्ने गरेका छन् । एसएसपी भट्टले भने,‘मोटरसाइकल चालकले अहिले भित्रिएका नयाँ प्रविधिको प्रयोगमार्फत पनि चोरी हुनबाट जोगाउन सक्छन्। मोटरसाइकलको ह्विल लक गर्ने र सम्भव भएसम्म सीसीटीभीले कैद गर्ने ठाउँमा पार्किङ गरे चोरी हुनबाट जोगिन्छ ।’ 

उनका अनुसार पछिल्लो समयमा मोटरसाइकल चोरले चोर्ने वित्तिकै पार्टस फेर्ने प्रवृत्ति देखिन्छ । सवारी धनीले मोटरसाइकलमा ग्लोबल पोजिसनिङ सिस्टम (जिपिएस) ट्रयाकर राख्यो भनेमात्रै पनि सवारी चोरी भइहालेमा कता गएको पत्ता लगाउन सकिने ट्राफिक प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास गोतामे
सुवास गोतामे
लेखकबाट थप