शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

पर्वको समयमा खानेपानी आपूर्ति नभएपछि तालाबन्दी

मङ्गलबार, २८ कात्तिक २०८०, १६ : २२
मङ्गलबार, २८ कात्तिक २०८०

रौतहट । रौतहटको कटहरिया नगरपालिकामा पर्वकै समय नियमित खानेपानी आपूर्ति नहुँदा स्थानीयवासीले खानेपानी कार्यालयमा तालाबन्दी गरेका छन् । मंगलबार बिहान बहादुरपुर गाउँबाट दर्जनौंको संख्यामा गएका उपभोक्ताहरुले कटहरिया–५ स्थित खानेपानीको कार्यालयमा तालाबन्दी गरेका हुन् ।

खानेपानीको आपूर्ति नियमित हुने ग्यारेन्टी नभएसम्म ताला नखोलिने बहादुरपुरका उपभोक्ताहरुको भनाइ छ । लामो समयदेखि विद्युत महसुल नबुझाएका कारण नेपाल विद्युत प्राधिकरण मौलापुर शाखाको टोलीले दुई साता अघि खानेपानी उपभोक्ता समिति र कटहरिया नगरपालिकाको विद्युतको मिटर नै खोलेर लागेको थियो ।

नेपाल विद्युत प्राधिकरण मौलापुरका प्रमुख दिनेश यादवका अनुसार नगरपालिकामाथि करिब ४ लाख र खानेपानी उपभोक्ता समितिमाथि १६ लाख रुपैयाँ विद्युत महसुल बक्यौता रहेकाले मिटर खोलेर ल्याइएको हो ।

नगरपालिकाले आवश्यक रकम बुझाएर विद्युत मिटर लागिसकेको छ तर खानेपानी आयोजनाको नाउँको रकम हालसम्म नबुझाएका कारण मिटर दिइएको छैन ।

खानेपानी उपभोक्ता समितिका अध्यक्ष योगेन्द्र साहले कटहरिया नगरपालिकाले पानीको महसुल निःशुल्क घोषणा गरेको तर विद्युत महसुल नबुझाएका कारण समस्या भएको बताए ।

खानेपानीको नाउँमा छुट्याएको २५ लाख रुपैयाँ मेयर अजयप्रकाश जैसवालले अन्य शीर्षकमा खर्च गरेका कारण अहिले ठुलो समस्या भएको अध्यक्ष साहले बताए ।

नगरपालिकासँग पटकपटक माग गर्दा पनि खानेपानी कार्यालयलाई रकम नदिएका कारण एकातर्फ प्राधिकरणले विद्युत मिटर खोलेर लगेको छ भने अर्कोतर्फ त्यहाँ कार्यरत कर्मचारीहरुको झण्डै ८ लाख रुपैयाँ तलब वितरण गर्न नसक्दा उनीहरूले काम बन्द गर्ने चेतावनी दिइरहेको अध्यक्ष साहको भनाइ छ ।

तेस्रो साना सहरी तथा खानेपानी आयोजना ईटहरीको पहलमा नेपाल सरकार नगरविकास कोषको ८५ प्रतिशत स्थानीय तहको १५ प्रतिशत लगानीमा कटहरिया–५ स्थित खानेपानी आयोजना २०७७ सालदेखि सञ्चालनमा आएको हो । हाल कटहरिया ४ र ५ वडा अन्तर्गत १६ सय घरमा पानीको धारा जोडिएको छ ।

मेयर अजयप्रकाश जैसवालले खानेपानीमा विद्युत लाइन नहुँदाको समय जेनेरेटरबाट पानी सप्लाई गर्न दैनिक डिजल उपलब्ध गराउँदै आएको बताए । कार्यालय खुल्ना साथ विद्युत प्राधिकरण मौलापुरमा एकमुष्ट ५ लाख रुपैयाँ बुझाएर विद्युत लाइन जोड्ने र बाँकी रकम क्रमशः बुझाउँदै जाने उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप