शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

भूकम्प प्रभावित क्षेत्रमा एमालेका स्वयंसेवक भोलिदेखि परिचालन हुन्छन् : महासचिव पोखरेल

बिहीबार, ३० कात्तिक २०८०, १८ : ४६
बिहीबार, ३० कात्तिक २०८०

काठमाडौँ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले जाजरकोट भूकम्प पीडितहरूका अस्थायी घर/टहरा निर्माण गर्न पार्टीले खटाउने स्वयंसेवकहरूको परिचालन मंसिर १ गते (भोली)देखि हुने बताएका छन् ।  

भूकम्प प्रभावित क्षेत्रको स्थलगत अनुगमन गरेर फर्केका एमाले केन्द्रीय सदस्य निरज आचार्य नेतृत्वको टोलीसँगको छलफलका क्रममा महासचिव पोखरेलले घरबार विहीन भएका जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितहरुलाई सुरक्षित आवासमा सार्न पार्टीका  स्वयंमसेवकहरुले भोलिदेखि काम थाल्ने बताएका हुन् । 

‘कार्तिक १७ गते जाजरकोटको बारेकोट गाउँपालिका–१ रामिडाँडालाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पले घरबार विहीन बनेका भूकम्प पिडितहरु खुला आकाशमा कष्टकर जीवन बिताइरहनु भएको छ । राहतका नाममा विभिन्न निकायबाट संकलन भएका राहत सामाग्रीहरु एकद्धार प्रर्णालीबाट वितरण गर्ने भन्दै सदरमुकाममा थन्काउने काम भैरहेको छ,’ महासचिव पोखरेलले भने, ‘भूकम्प पीडितका अस्थायी घर टहरा निर्माण गर्नका लागि पार्टीले परिचालन गर्ने एक हजार स्वयंसेवकमध्ये पार्टीका पोलिटब्युरो सदस्य तथा एमालेको मजदुर संगठन ट्रेटयुनियमन महासंघ (जिफण्ट) का अध्यक्ष विनोद श्रेष्ठ नेतृत्वको एक सय सदस्यीय स्वयमसेवकहरुले भोलि मंसिर १ गतेदेखि जाजरकोट जिल्लाको भेरी नगरपालिका–३ थाप्ले, पिपलडाँडा क्षेत्रबाट काम सुरु गर्नेछ ।’

भूकम्प पीडितहरूका लागि राहत वितरणमा वर्तमान सरकारका प्रतिनिधिहरुबाट सत्ता र शक्तिको चरम दुरुपयोग भएको उनले आरोप लगाए ।  

छलफलमा एमाले उपमहासचिव विष्णु रिमालले भूकम्प प्रभावित क्षेत्रका नागरिकहरुको अस्थायी घर टहरा निर्माणको काममा नेपाली सेनालाई परिचालन गर्न सकेको खण्डमा मितव्ययी र प्रभावकारी हुने बताए । केहि वर्षअघि तराईको बारा र पर्सा जिल्लामा गएको आँधी हुरी प्रभावितहरुको आवास निर्माणको जिम्मा पाएको नेपाली सेनाले सबैभन्दा छरितो र प्रभावकारी ढंगले काम सम्पन्न गरेको उल्लेख गर्दै उपमहासचिव रिमालले जाजरकोट भूकम्प प्रभावितहरुका लागि सरकारले दिने भनिएको ५० हजार राहत रकमबाट अस्थायी घर/टहरा निर्माणको काम नेपाली सेनालाई दिँदा प्रभावकारी हुने बताए । 

भूकम्प प्रभावित क्षेत्रको पछिल्लो अवस्थाका बारेमा जानकारी गराउँदै एमाले केन्द्रीय सदस्य निरज आचार्यले भूकम्प प्रभावितहरुलाई राहत वितरण एकद्धार प्रर्णालीबाट गर्ने नाममा सत्तापक्षिय राजनीतिक दलका नेताहरुले चरम विभेद गरेको आरोप लगाए । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप