सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय
पदाधिकारी बैठक

भूकम्प प्रभावित क्षेत्रमा अस्थायी आवास बनाउन कांग्रेसले २५ वटा टोली पठाउने

सोमबार, ०४ मङ्सिर २०८०, २३ : ०५
सोमबार, ०४ मङ्सिर २०८०

काठमाडौँ । नेपाली कांग्रेसले भूकम्प प्रभावित क्षेत्रमा अस्थायी आवास बनाउन २५ वटा टोली खटाउने भएको छ । सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा सोमबार बिहान बसेको पदाधिकारी बैठकले २५ वटा दक्ष जनशक्तिको टोली परिचालन गर्ने निर्णय गरेको हो ।

कांग्रेस प्रचार विभाग प्रमुख मिन विश्वकर्माले १०–१० जनाको रहने गरी २५ वटा टोली भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा पठाउने रातोपाटीलाई बताए । उनका अनुसार बैठकको सुरुमा उपसभापति एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले सरकारले भूकम्प प्रभावितका लागि सरकारले हालसम्म गरेका कार्यको ब्रिफिङ गरेका थिए ।

सरकारले अनुदान रकम दिएपनि अस्थायी टहरा बनाउन जनशक्तिको अभाव देखिएको उनको भनाइ थियो । ‘जोखिममा रहेको परिवार, बिरामी रहेका, एकल महिला भएको परिवार, वृद्धवृद्धा रहेका परिवारले पैसा पाएपनि अस्थायी आवास बनाउन जनशक्ति पाउने अवस्था छैन । स्थानीय सरकारसँग समन्वय गरेर त्यस्ता परिवार पहिचान गरी अस्थायी आवास बनाउन स्वयंसेवक परिचालन गर्ने निर्णय गरेका छौं,’ विश्वकर्माले भने । 

भूकम्प व्यवस्थापन सहजीकरण समितिको बैठक मंगलबार बसेर थप निर्णय गरिने उनको भनाइ छ । ‘२५ वटा टोली पठाउनेबारे भोलि पार्टी कार्यालय सानेपामा अभिमुखीकरण तालिम दिन्छौं । त्यसका लागि भोलि ११ बजे पार्टी कार्यालयमा तालिम गराउँदै छौं ।’ 

अस्थायी आवास बनाउन नेविसंघ–तरुण दलबाट  स्वयंसेवक, इन्जिनिरिङ एशोसिएसनबाट इन्जिनिएर, टे«ड युनियनबाट मिस्त्री लिने उनले बताए । उनीहरु करिब एक साता बसेर प्रत्येकले आ–आफ्नो क्षेत्रमा घर बनाएर फर्किने विश्वकर्माले बताए । त्यसपछि फेरि नयाँ टोली पठाउने उनको भनाइ छ ।

यस्तै बैठकमा अर्थमन्त्री प्रकाशशरण महतले वर्तमान अर्थतन्त्रबारे बिफ्रिङ गरेका थिए । 

उनले भने, ‘अहिले लघुवित्तमा मानिसहरु ठगिएको अवस्था छ । सहकारीका सञ्चालक भागेका छन् । सहकारीका बचतकर्ताहरु अत्यन्तै निराश हुँदा अर्थमन्त्रमा यसले ठूलो प्रभाव परेको कुरा भयो । यसबारेमा तत्कालै विशेष नीति लिन सरकारको ध्यानाकर्षण गराउने निर्णय भएको छ ।

उनका अनुसार चाँडै नै प्रधानमन्त्रीले अर्थतन्त्रबारे छलफल गर्न बैठक बोलाउने र सरकारले केही निर्णय गर्ने अर्थमन्त्री महतको भनाइ थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप