सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

बढ्दो भूकम्पीय जोखिम अनुरूपको तयारी किन भएन ?

बुधबार, ०६ मङ्सिर २०८०, १० : ४२
बुधबार, ०६ मङ्सिर २०८०

नेपाल भूकम्पीय जोखिमको उच्च स्थानमा छ । जनधनको धेरै क्षति हुने प्रकारका भूकम्प दोहोरिई रहन्छन् । तर पनि मुलुकभरि भूकम्प प्रतिरोधी संरचना बन्न सकेका छैनन् । पश्चिम नेपालको पहाडी भूभागभित्र पर्ने रुकुमपश्चिम, जाजरकोट जिल्लाको सबै अधिकांश घर परम्परागत शैलीमा निर्मित छन् । सङ्घीयतासँगै बनेका स्थानीय तह भएपछि अलिअलि काहीँकतै पिल्लरवाला घर देख्न सकिन्छ तर जति घर निर्माण भएका छन् न्यूनतम भवन आचारसंहितामा रहेर निर्माण गरेको पाइन्छ, न त प्राविधिकको निगरानी सल्लाह लिएर निर्माण गरिन्छ । घरधनीले ठेकेदारलाई प्राविधिक मानेर ठेकेदारकै विश्वासमा मनपरी ढङ्गले निर्माण गरिएको संरचनाले गर्दा अहिले भूकम्पले ठुलो जनधनको नोक्सान बेहोर्नुपर्ने अवस्था आएको छ । 

पहाडी भेगमा जसरी पहिले परम्परागत ढङ्गले निर्माण भएका ढुङ्ग माटाका घर छन् । त्यही प्रविधिलाई सिको गरेर एकदमै जोखिम संरचना निर्माण हुँदै आएका छन् । यस निर्माण प्रक्रियालाई पनि जुन निर्माण हुँदै आएका लोड ब्यरिङ घर छन् । यसलाई पनि भूकम्प प्रतिरोधात्मक बनाउन सकिन्छ तर यहाँ जनतालाई यो विषयमा ज्ञान, सीप भने केही छैन । 

आफूले निर्माण गरेको संरचनाले आफैँलाई घातक र जिन्दगीभर दुःख गरेर निर्माण गरिएको आफू बस्ने घरले आफैँलाई घात गर्छ भन्ने कसलाई थाहा । यो विपत् आउँछ भन्ने के थाहा ? तर आयो, अहिले पश्चिम नेपालको रुकुमपश्चिम र जाजरकोटमा आएको ६.४ रेक्टरको भूकम्पले ठुलो जनधनको नोक्सान भएको छ । यहाँ अहिले बस्ने घर छैन । अझै भूकम्प आउँछ कि भन्ने त्रास छ । त्रासकै कारण हजारौँ मानिस खुला आकाशमुनि सुत्न बाध्य छन् । सबै नागरिक सडकमा बस्न बाध्य छन् ।

घर ठाडा देखिए पनि बस्न योग्य छैनन् । चिराचिरा परेका छन् । ढुङ्गमाटाले बनेका तीनतले घर जसका छाना पनि ढुङ्गले नै छाइएका छन् त्यस्ता जोखिमयुक्त घरमा बस्न नसकिने चिन्ता अधिकांशलाई छ । अहिलेको अवस्थामा हामीलाई राहत उद्धार र पुनर्स्थापनाको आवश्यकता छ । सिङ्गो गाउँ शोकमा छ । कति घरबारविहीन र घाइते भएका छन् । हालसम्म रुकुमपश्चिममा ५३ जना र जारजकोट १०३ जनाको मृत्यु भइसकेको छ । सयौँ घाइते अवस्थामा छन् ।

हामीले बाँकी रहेका संरचनालाई पछि आउन सक्ने विपतलाई मध्यनजर गर्दै अब भूकम्प प्रतिरोधात्मक बनाउने र बन्ने घरलाई पनि प्राविधिकको सल्लाहअनुसार भवन आचारसंहितामा प्रयोग गरेर सबै स्थानीय तहले अनिवार्य लागू गर्ने र निर्माण गर्नुको विकल्प छैन । 

पुराना र कमजोर भौतिक संरचना नै भूकपम्पबाट मृत्युको प्रमुख कारण हो । भूकम्प प्रतिरोधी भौतिक सरंचनाले भूकम्प आउँदा मानवीय क्षति धेरै कम गर्छ । प्राविधिक स्टिमेटबिना घर निर्माण गर्ने हाम्रो परम्परागत शैलीले नै बढी जोखिम निम्त्याएको छ । भूकम्पले आफँैले मार्दैन कमजोर, अव्यवस्थित भौतिक संरचनाले किचेर मार्ने हो । स्थानीय सरकारसँगै सहरीकरण हुँदै जाँदा भौतिक संरचना भूकम्प प्रतिरोधी बनाउनमा ख्याल नै राखिएन । त्यसो गरेर संरचना बनाएको भए भूकम्प जाँदा धेरै जनधनको क्षति हुने थिएन । 

नेपालमा धेरैजसो बनेका नयाँ घरहरू मापदण्डअनुसार नै छन् । तर पुराना भौतिक संरचना भूकम्प आएमा धराप साबित हुने निश्चित नै छ । ‘अहिले पनि थोरै पैसा कम खर्चका लागि मापदण्डअनुसार घर नबनाउने गरेको पाइन्छ । यसले गर्दा कमजोर घर छिमेकीका लागि पनि धराप हो । २०७२ सालमा भूकम्पले ठुलो क्षति पुर्‍याएपछि सरकारी स्थलमा बन्ने संरचनाहरू भने भूकम्प प्रतिरोधी बनाउने गरिएको छ । तर व्यक्तिगत रूपमा हुने निर्माणमा लापरबाही अझै पनि पाइने गरेको छ । जसको कारण हामीले भूकम्पबाट ठुलो मानवीय क्षति बेहोर्नुपर्ने हुन्छ । 

भूकम्पका लागि जोखिमपूर्ण मुलुकका रूपमा चिनिने नेपालमा भूकम्प प्रतिरोधात्मक घर निर्माण गर्न जरुरी छ । १९९० मा आएको भूकम्पलाई महाभूकम्प नाम दिँदा २०४५ सालमा आएको भूकम्पले पूर्वी नेपालमा नराम्ररी क्षति गर्याे । त्यस्तै २०७२ सालमा आएको भूकम्पलाई महाविनाशकारी नाम दिइयो । २०८० मा पश्चिम नेपालमा आएको भूकम्पले ठुलै जनधनको क्षति गर्याे । अरू सानातिनाको त हिसाब नगरौँ तर भूकम्पको जोखिम बढ्दो भए पनि त्यस अनुरूपको तयारी भने हुन सकेको छैन । 

भूकम्पको जोखिममा रहेको नेपालमा मापदण्ड विपरीतका घरहरू धमाधम बनिरहेका छन् । सुरक्षाविहीन बस्तीहरू बढ्दो छन् भने भाग्नसमेत नभ्याउने गरी टोलटोलमा घरहरू थपिने क्रम जारी छ । त्यसैले पनि बस्ती निर्माण गर्दा भूकम्पीय जोखिमलाई पहिलो प्राथमिकतामा राख्न जरुरी छ । 

आठबिसकोट–९, रुकुमपश्चिमका सबइन्जिनियर बटाला लामो समयदेखि भूकम्प प्रभावित क्षेत्र गोरखामा पुनर्निर्माणमा कार्यरत छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

वीरेन्द्र बटाला
वीरेन्द्र बटाला
लेखकबाट थप