आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

पत्रकार अनिलकुमार गुप्तामाथि कारबाहीको सिफारिस

पत्रकार एकराज दाहाललाई तीन महिना निलम्बनको सिफारिस
बुधबार, ०६ मङ्सिर २०८०, १६ : ०१
बुधबार, ०६ मङ्सिर २०८०

काठमाडौँ । पत्रकार बनाएर कोरियामा मानव तस्करी गर्ने प्रकरणमा जोडिएका पत्रकार अनिलकुमार गुप्तामाथि कारबाहीको सिफारिस भएको छ । कोरियामा मानव तस्करीका विषयमा पत्रकार जोडिएको प्रकरणमा गठित छानबिन समितिले बुधबार प्रतिवेदन बुझाउँदै कारबाहीको सिफारिस गरेको हो ।

बुधबार समितिका संयोजक तथा नेपाल पत्रकार महासंघ लेखा समिति संयोजक लेखनाथ न्यौपानेले महासंघका अध्यक्ष विपुल पोख्रेललाई छानबिन प्रतिवेदन बुझाएका छन् । 

प्रतिवेदन बुझ्दै अध्यक्ष पोख्रेलले पत्रकार जोडिएको विषयमा समितिबाट आएको सुझाव सहितको प्रतिवेदन महासंघको लागि महत्त्वपूर्ण रहने बताए । उनले मानव तस्करी प्रकरणमा दोषी देखिएका महासंघका सदस्यमाथि तत्काल कारबाही अघि बढाउने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् । 

समितिका संयोजक लेखनाथ न्यौपानेले मानव तस्करी प्रकरणमा पत्रकार जोडिएको विषयलाई गम्भीरताका साथ लिएर सत्यतथ्य अध्ययन गरी छानबिन प्रतिवेदन तयार पारिएको बताए ।

छानबिन प्रतिवेदनमा गैर पत्रकारलाई पत्रकार बनाएर १५ लाख रुपैयाँ लिई कोरियामा पठाउने भन्दै नेपाल पत्रकार महासंघ काठमाडौँ शाखाका सदस्य तथा उपत्यका प्रदेश समितिका कार्यसमिति सदस्य एवं गोलमेच पत्रिकाका तत्कालीन सम्वाददाता अनिलकुमार गुप्तालाई यस प्रकरणमा अन्तिम टुङ्गो लाएर सफाइ नपाएसम्मका लागि साधारण सदस्यता समेत नरहने गरी सदस्यता खारेजीको सिफारिस गरिएको छ । 

त्यसैगरी गैर पत्रकारलाई पत्रकार हो भन्दै सिफारिस दिने, नलेखेको समाचार लेखेको हो भन्दै बाइलाइनमा छापिदिने र कोरिया जान सिफारिस दिने नेपाल पत्रकार महासंघ उपत्यका प्रदेशका पार्षद तथा गोलमेच साप्ताहिकका प्रकाशक तथा सम्पादक एकराज दाहाललाई २०८० मंसिर ६ गतेदेखि लागू हुने गरी तीन महिनाका लागि साधारण सदस्यताबाट समेत निलम्बन गर्न सिफारिस गरिएको छ । 

त्यसैगरी गैर पत्रकारलाई पत्रकार हो भन्दै सदस्यता नै नरहेको काठमाडौँ शाखाबाट सिफारिस दिने काठमाडौँ शाखाका अध्यक्ष सूर्य सुवेदीलाई पदीय मर्यादा कायम गर्न र आफ्नो जिम्मेवारी बुझेर काम गर्न तथा गराउन सचेत गराउने निर्देशन दिन सिफारिस गरिएको छ । 

समितिले पत्रकारका लागि सिफारिस गर्दा के कस्ता विषय र कुन निकायले कसरी सिफारिस गर्ने भन्ने सम्बन्धमा कार्यविधि बनाउन सिफारिस गरिएको छ । त्यस्तै पत्रकारहरुलाई प्रेस पास वितरण गर्नेगरी जारी गरिएको छापाखाना तथा प्रकाशन ऐन २०४८ समयानुकूल परिवर्तन गरी प्रेस पासका लागि शैक्षिक योग्यतामा कम्तीमा स्नातक सहित केही कडाइका प्रावधान राख्नका लागि महासंघले सम्बन्धित निकायमा लबिङ गर्नसमेत सिफारिस गरिएको छ । 

पत्रकार बनाएर कोरियामा मानव तस्करी गर्न लागिएको बारे रातोपाटीमा समाचार प्रकाशन भएपछि नेपाल पत्रकार महासंघले छानबिनका लागि समिति बनाएको थियो । नेपाल पत्रकार महासंघले उक्त प्रकरणको छानबिनका लागि महासंघका लेखा समिति संयोजक लेखनाथ न्यौपानेलको संयोजकत्वमा केन्द्रीय सदस्यहरु शन्तराम विडारी, ज्ञानप्रसाद पौडेल, रामकृष्ण अधिकारी र महासंघ उपत्यका प्रदेश समितिका अध्यक्ष श्रृजन झा सदस्य रहेको छानबिन समिति २०८० असोज १९ गते गठन गरेको थियो । सोही समितिले बुधबार महासंघको केन्द्रीय अध्यक्षलाई प्रतिवेदन बुझाएको हो । 

प्रतिवेदनमा पत्रकारसमेत रहेका अनिलकुमार गुप्ताले पैसा लिएर कोरियामा मानव तस्करी गर्न लागेको पुष्टि भएको, गोलमेचका सम्पादक समेतको मिलोमतो रहेको पाइएको उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप