शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय
माओवादी नेसपा एकता

प्रचण्ड–बाबुराम जोड्ने रसायन बनाउँदै नेसपा : मोर्चा गठनमा मन भाँचियो, बैठकमा माझामाझ

बुधबार, ०६ मङ्सिर २०८०, २० : ०२
बुधबार, ०६ मङ्सिर २०८०

काठमाडौं । नेकपा माओवादी केन्द्रसँग पार्टी एकताका लागि संस्थागत निर्णय गर्न बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)को केन्द्रीय समिति बैठकले माओवादी केन्द्रसहित बृहत् समाजवादी केन्द्र निर्माणका लागि अध्यक्ष भट्टराईको नेतृत्वमा एकता संयोजन समिति बनाएको छ । बुधबार भक्तपुरको जडिबुटीमा बसेको केन्द्रीय समिति बैठकले माओवादी केन्द्र लगायतका विचार, राजनीति मिल्ने राजनीतिक शक्तिहरूसँग एकता/ध्रुवीकरण गर्न संयोजन समिति बनाउने निर्णय गरेको हो । 

साथै प्रचण्ड–बाबुराम जोड्ने रसायन बनाउन केन्द्रीय समिति बैठक निर्णायक बनेको नेताहरूको विश्वास छ । एकताको विषयले पार्टी नै विभाजन हुने देखिएपछि बैठकमा अध्यक्षद्वय बाबुराम भट्टराई र महिन्द्र यादवबिच मन माझामाझ भएको छ ।

समाजवादी मोर्चा गठनमा प्रचण्डले बाइपास गरेपछि चिढिएका थिए बाबुराम

पार्टी एकता गर्ने सम्बन्धमा गत वर्ष निर्वाचनअघि नै माओवादी केन्द्र र नेसपाबिच सहमति भएको थियो । वैचारिक र राजनीतिक विचार मिल्ने वामपन्थीहरूबिच एउटै समाजवादी मोर्चा बनाएर जान सकिने प्रस्ताव बाबुरामले प्रचण्डसमक्ष राखेका थिए ।

सोही अनुसार साझा घोषणापत्रसहित माओवादीको चुनाव चिह्न लिएर नेसपाले निर्वाचनमा भाग लियो । निर्वाचनपछि समाजवादी मोर्चा बनाउन बाबुरामले निकै सक्रियता देखाए । प्रचण्डले नेसपासहित उपेन्द्र यादव नेतृत्वको जसपा, विप्लव नेतृत्वको नेकपालाई पनि मोर्चामा समेट्न गृहकार्य गरे । तर पछिल्लो समय उनले बाबुरामलाई भन्दा उपेन्द्रलाई बढी महत्त्व दिन खोजेको महसुस बाबुरामले गरेपछि दुई शीर्ष नेताबिच सम्बन्ध चिसिएको बाबुराम निकट एक नेताले बताएका छन् ।

‘वामपन्थीबिच समाजवादी मोर्चा बनाएर जाने प्रस्ताव बाबुराम सरले गर्नु भएको हो । नेपालमा माओवादीसहित पुराना कम्युनिस्ट पार्टीको उपयोगिता समाप्त भएको र त्यसको विकल्पमा नयाँ वैकल्पिक समाजवादी शक्ति आवश्यक भएको उहाँको निष्कर्ष हो,’ ती नेताले भने, ‘सोही बमोजिम समाजवादी मोर्चाको अवधारणा ल्याउनुभएको थियो । तर जसले अवधारणा ल्याएको छ, जसले समाजवादी मोर्चा बनाउने प्रस्ताव गरेको, उसैलाई उपेक्षा गरेपछि सम्बन्ध चिसिएको हो ।’

बाबुराम निकट नेताका अनुसार बाबुरामलाई मोर्चामा ल्याउन नदिन जसपा अध्यक्ष उपेन्द्र यादवले मुख्य भूमिका खेलेको आरोप छ । त्यतिबेला प्रचण्डलाई सत्ता टिकाउन बाबुरामभन्दा पनि उपेन्द्र आवश्यक ठानिएको हुनसक्ने ती नेताको ठम्याइ छ ।

नेसपाबाट निर्वाचित सांसद महिन्द्रराय यादव र गंगानारायण श्रेष्ठ माओवादी संसदीय दलप्रति जवाफदेही हुने हुँदा बाबुरामलाई प्रचण्डले महत्त्व नदिएको हुनसक्ने उनको बुझाइ छ । माओवादीसहित इमानदार मोर्चा बनाउने उनको इमानदार प्रस्तावलाई प्रचण्डले धोका दिएको ती नेताको गुनासो छ ।

मोर्चा घोषणा हुने केही साताअघि प्रचण्डले बाबुरामलाई बालुवाटार बोलाएर मोर्चामा आउन आग्रह गरे तर बाबुरामले मानेनन् । आफूलाई कुनै जानकारी नदिइ प्रचण्डले माओवादी, एकीकृत समाजवादी, जसपा र नेकपालाई मोर्चामा ल्याउने सहमति गरेकोमा उनले चित्त दुःखाएका थिए ।

बाबुराम निकट नेताका अनुसार बाबुरामलाई मोर्चामा ल्याउन नदिन जसपा अध्यक्ष उपेन्द्र यादवले मुख्य भूमिका खेलेको आरोप छ । त्यतिबेला प्रचण्डलाई सत्ता टिकाउन बाबुरामभन्दा पनि उपेन्द्र आवश्यक ठानिएको हुनसक्ने ती नेताको ठम्याइ छ ।

‘सत्ता टिकाउन बाबुरामसँग केही छैन । एक जना सांसद पनि माओवादी संसदीय दलप्रति जवाफदेही हुन्छन् । उपेन्द्रजीसँग १२ जना सांसद छन् । प्रचण्डले बाबुरामलाई ल्याउन चाहे पनि उपेन्द्रका कारण रोकिएको हो । बाबुराम मोर्चामा आए आफू सामेल नहुने चेतावनी दिएपछि प्रचण्ड हच्किएको हाम्रो निष्कर्ष हो’, त्यतिबेलाको घटनाक्रमबारे ती नेताले स्मरण गराए ।

अन्ततः बाबुरामबिना नै  असार ४ गते राष्ट्रिय सभागृहबाट माओवादी, एकीकृत समाजवादी, जसपा र विप्लवको पार्टी मिलेर समाजवादी मोर्चा घोषणा भयो । मोर्चा घोषणाबाट थप चिढिएका बाबुरामले १९ दिनपछि कडा अभिव्यक्ति दिए । असार २३ गते सामाजिक सञ्जालमार्फत २ बुँदामा उनले आफू मोर्चामा सहभागी नभएको जवाफ फर्काएका थिए । ‘सिर्फ अंकगणितका आधारमा कांग्रेस र एमालेसँग पालैपालो मोलमोलाई गरेर सत्तादोहन गर्ने मात्र त्यसको आशय देखिएकाले त्यसमा हामी संलग्न हुने प्रश्नै उठेन किनकि त्यो समाजवादको उदात्त ध्येयप्रति नै ठुलो घात हो’, ट्वीटमा उनले लेखेका थिए ।

यस्तो छ त्यतिबेला मोर्चा गठनप्रति बाबुरामको ट्वीट

धेरै शुभेच्छुकहरू विशेषतः माओवादी आन्दोलनमा लागेका साथीहरूले हामीलाई आफैँले अघि सारेको समाजवादी केन्द्र वा समाजवादी मोर्चाबाट किन अलग भएको भनेर र अन्य कतिपयले तपाईं पुराना शक्तितिर कि नयॉ शक्तितिर भनेर निरन्तर प्रश्न गरिरहनु भएकाले आफ्नो दृष्टिकोण सार्वजनिक गर्नु आवश्यक भएको छ ।

१. नेपालमा संविधानसभाबाट समाजवाद उन्मुख संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी भएपछि ती उपलब्धीहरूको रक्षा गर्दै सुशासन र समृद्धिको जगमा समुन्नत समाजवाद निर्माण गर्न नयॉ ढंगको समाजवादी केन्द्र वा समाजवादी मोर्चा आवश्यक छ भन्ने प्रस्तावना हामीले अघि सारेकै हो ।

सकेसम्म पुराना शक्तिहरूको रूपान्तरणबाटै त्यस्तो शक्ति बन्नसके सहज हुन्छ भन्ने इमानदार प्रयत्न हामीले गरेकै हो । त्यसनिम्ति गम्भीर प्रकृतिको वैचारिक–राजनीतिक छलफलको आग्रह पनि गरेकै हो ।

परन्तु पुराना शक्तिहरूमा एकाधिकार जमाएर बसेका नेताहरूको वैचारिक–राजनीतिक विषयप्रतिको अरूची/अनिच्छा र खाली तत्कालीन संसदीय अंकगणितप्रतिको अतिशय लिप्साको प्रतिफलस्वरूप हामीसँग कुनै परामर्श र छलफल बिनै रहस्यमय ढंगले कथित ‘समाजवादी मोर्चा’ को एकतर्फी घोषणा हुनपुग्यो । नयॉ युगको नयॉ ढंगको समाजवादवारे कुनै स्पष्ट सोच नभएको र सिर्फ अंकगणितका आधारमा कांग्रेस र एमालेसँग पालैपालो मोलमोलाइ गरेर सत्तादोहन गर्ने मात्र त्यसको आशय देखिएकाले त्यसमा हामी संलग्न हुने प्रश्नै उठेन किनकि त्यो समाजवादको उदात्त ध्येयप्रति नै ठुलो घात हो ।

२. जहॉसम्म हामी नयॉ शक्तितिर कि पुरानो शक्तितिर भन्ने प्रश्न छ, हामी नै वास्तवमा वैचारिक रूपले गत एक दशकदेखि देशमा नयॉ वैकल्पिक राजनीतिक शक्तिका प्रमुख प्रवर्तक भएकाले हामी नयॉ वैकल्पिक शक्ति निर्माणकै पक्षमा रहेको र रहने कुरा स्वतः स्पष्ट छ ।

बिचमा केही क्षेत्रीयतावादी शक्तिहरूसँग सहकार्य गर्दा हाम्रो छवि जनसमक्ष धमिलिन पुगेको कुरालाई स्वीकार्दै हामीले आत्मालोचना सहित त्यसलाई सच्याउने कार्य गरिसकेका छौँ । अतः नयॉ युगको र देशको आवश्यकता अनुरूप हामी देशमा उदाउँदै गरेका सबै अग्रगामी नयॉ शक्तिहरूसँग सहकार्य गर्दै बृहत् नयॉ वैकल्पिक शक्ति निर्माणमा प्रतिबद्ध रहेको र रहने कुरा द्विविधारहित ढंगले स्पष्ट पार्न चाहन्छौँ ।

मोर्चा गठनमा तीव्र असहमति जनाए पनि पार्टी एकताका लागि वार्ता टोलीका संयोजक गंगानारायण श्रेष्ठमार्फत उनले ९ बुँदे प्रस्ताव गत चैतमा पठाएका थिए । पत्रमा एकताका लागि वैचारिक/राजनैतिक दृष्टिकोण, पार्टीको नाम, झण्डा र लोगोको विषयमा स्पष्टता खोजिएको थियो ।

माओवादीको पत्राचारले थप चिढिएका बाबुराम

विभिन्न शर्तबन्दी राखेर एकता प्रक्रियामा जोडिन बाबुरामले आनाकानी गर्न थालेपछि प्रधानमन्त्रीसमेत रहेका प्रचण्ड उनीसँग क्रुद्ध भए । नेसपाका अर्का अध्यक्ष महिन्द्र र सहअध्यक्ष गंगालाई प्रयोग गरेर बाबुराममाथि दबाब बढाए । भदौ ३० गते बाबुराम भारत भ्रमण निस्केको दिन महिन्द्रलाई पत्र पठाउँदै एकताका लागि माओवादी केन्द्र हटाउन सकिने आशय व्यक्त गरिएको थियो ।

आफूलाई बाइपास गरेर पत्र पठाएकोमा उनी प्रचण्डसँग थप चिढिए । यता माओवादीबाट पत्र प्राप्त भएलगत्तै एकता प्रक्रिया अगाडि बढाउन महिन्द्र र गंगाले बाबुराममाथि तीव्र दबाब दिए । उनी भारतबाट फर्किएपछि असोजको तेस्रो साता कार्यकारिणी बैठक बोलाए । एकताको विषयमा गम्भीर बहस र छलफल भएपश्चात निर्णय लिन केन्द्रीय समिति बैठक बोलाउने निर्णय भयो । केन्द्रीय समितिको बैठक नजिकिँदै गर्दा गत शुक्रबार प्रचण्डले उनलाई बालुवाटार बोलाएर एक घण्टा छलफल गरे ।

भेटवार्तामा पछिल्लो समसामयिक राजनीति, पार्टी एकताको विषयमा गम्भीर समीक्षा भएको नेसपा केन्द्रीय कार्यालय प्रमुख रोशन पोखरेलले बताएका थिए ।

कार्यकारिणी बैठकमा बाबुरामले आफू एकता विरोधी नभएको स्पष्ट पार्दै समाजवादी मोर्चामा आफूलाई बाइपास गरेकोमा दुःख लागेको गुनासो पोखेका थिए ।

यस्तै अर्का अध्यक्ष महिन्द्र र सहअध्यक्ष गंगालाई बोलाएर एकताको विषय चाँडै टुङ्ग्याउन दबाब दिएका थिए । माओवादी र पार्टीभित्रैबाट निकै दबाब खेपेका उनले एकताको विषयमा तीन दिनसम्म बाबुरामसहित शीर्ष चार नेताबिच घनिभुत छलफल भयो । एकताको विषयले पार्टी नै विभाजन हुने स्थिति देखिएपछि सोमबार दिनभर र राति  अबेरसम्म चार नेताबिच गम्भीर छलफल भयो । अन्ततः सिङ्गो पार्टी माओवादीसँग एकता गर्न बाबुराम सहमत भएको एक उच्च नेताले बताएका छन् ।

‘समाजवादी अवधारणा र लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न उहाँको निकै ठूलो भूमिका छ । उहाँसहित एकता प्रक्रियामा जाँदा राम्रो हुन्छ भनेर हामीले समय लिएर उहाँलाई मनाउने प्रयास गर्‍यौँ । धेरै मेहनतपश्चात उहाँ राजी हुनुभयो । धेरै खुसी लागेको छ । अब उहाँकै नेतृत्वमा एकता समायोजन समिति बन्छ र प्रक्रिया अगाडि बढ्छ’, ती नेताले भने ।

बैठकमा अध्यक्षद्वयको मन माझामाझ

एकताको विषयले बाबुराम र महिन्द्रबिच द्वन्द्व बढ्दै जाँदा एक वर्ष नपुग्दै पार्टी नै विभाजनको स्थितिमा पुगेको थियो । तर मंगलबारसम्म आइपुग्दा दुई शीर्ष नेताबिच सौहार्द्रपूर्ण सम्बन्ध भएको नेताहरूले दाबी गरेका छन् । कार्यकारिणी बैठकमा बाबुरामले आफू एकता विरोधी नभएको स्पष्ट पार्दै समाजवादी मोर्चामा आफूलाई बाइपास गरेकोमा दुःख लागेको गुनासो पोखेका थिए ।

पछिल्लो समय गणतन्त्र र लोकतान्त्रिक व्यवस्थामाथि नै प्रहार भइरहेकाले टुटफुटभन्दा पनि मिलेरै जान प्रस्ताव गरेको बैठकमा सहभागी एक नेताले बताए ।

‘नेपालको राजनीतिक समस्या कम्युनिस्ट नामको पुराना शक्तिबाट हल हुन सक्दैन । त्यसका लागि नयाँ वैकल्पिक समाजवादी मोर्चा आवश्यक छ । त्यसको प्रस्ताव र अवधारणा मैले नै ल्याएको हो । बिचमा आपसी अविश्वासका कारण पार्टीभित्र केही भ्रम सिर्जना भयो । म एकता विरोधी होइन, यहाँ कसैलाई भ्रम नहोस् । माओवादीसहित वैचारिक र राजनैतिक दृष्टिकोण मिल्ने शक्तिहरूबिच बृहत् समाजवादी मोर्चा बनाउन आवश्यक छ । पछिल्लो समय लोकतान्त्रिक व्यवस्थामाथि नै प्रहार हुने काम भएको छ । अग्रगमन पक्षधर शक्तिहरू सबै मिल्नुको विकल्प छैन । विचार मिल्ने वामपन्थी शक्तिहरूबिच सबैसँग मोर्चावन्दी गरेर जानुपर्छ’, बाबुरामको भनाइ उद्धृत गर्दै एक नेताले भने ।

बैठकमा अर्का अध्यक्ष महिन्द्रले मधेस र नेपालको लोकतान्त्रिक व्ययवस्थालाई मजबुत बनाउन बाबुरामको ठुलो भूमिका रहेको चर्चा गर्दै सिङ्गो पार्टी एकता प्रक्रियामा सहभागी हुन पाउँदा खुसी लागेको अभिव्यक्ति दिएका थिए ।

माओवादीसँग एकता गर्नै प्रस्ताव बाबुरामकै भएकाले पार्टी एकढिक्का भएर एकता प्रक्रियालाई टुङ्ग्याउनुपर्ने धारणा उनले राखेका थिए । माओवादीको पत्रले बिचमा केही भ्रम भए पनि बाबुरामलाई बाइपास गर्ने मनसाय आफ्नो नभएको स्पष्टिकरणसमेत उनले दिएको बुझिएको छ ।

बैठकमा सहअध्यक्ष गंगा, उपाध्यक्ष दुर्गा सोव र महासचिव रमेश यादवले मधेस आन्दोलन र लोकतान्त्रिक आन्दोलनमा दुवै नेताको महत्त्वपूर्ण भूमिका रहेकाले एकता प्रक्रियामा आफूहरूको पूर्ण समर्थन रहने बताएका थिए ।

दल अदलबदल बाबुरामको दुःख

संवैधानिक समितिका सभापतिको रूपमा संविधान बनाउन भूमिका खेलेका बाबुरामले २०७२ असोज ३ गते संविधान जारी भएपछि माओवादी त्यागे । पम्परागत कम्युनिस्ट पार्टीको सान्दर्भिकता सकिएको निष्कर्षसहित पार्टी परित्याग गरेका उनी नयाँ वैकल्पिक शक्ति निर्माण अभियानमा लागेका थिए ।

त्यही सिलसिलामा ०७३ जेठ ३० गते नयाँ शक्ति पार्टी गठन गरेका उनले चुनावमा अपेक्षा गरेअनुरूप मत नआएपछि नयाँ शक्ति पार्टी चलाउन सकेनन् ।

 

२०७४ को निर्वाचनपछि उनी उपेन्द्र यादवको पार्टी संघीय समाजवादी फोरमसँग एकता प्रक्रियामा जोडिए । २०७६ वैशाख २३ मा जनता समाजवादी पार्टी नेपाल घोषणा भयो । २०७७ वैशाखमा केपी ओली नेतृत्वको तत्कालीन सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएपछि तर्सिएका बाबुराम–उपेन्द्रले रातारात महन्थ ठाकुर नेतृत्वको राजपासँग पार्टी एकताको प्रस्ताव अगाडि बढाए ।

राजपासँग २०७७ वैशाख १० मा पार्टी एकता गरी जनता समाजवादी पार्टी(जसपा) बनाइएको थियो । तर एक वर्ष नपुग्दै जसपा विभाजन भयो । २०७८ भदौ ९ गते महन्थ र राजेन्द्र महतो मिलेर लोसपा गठन गरे । जसपाबाट महन्थ समूह अलग भएपश्चात जसपाभित्र बाबुराम र उपेन्द्रबिच मनमुटाव उत्कर्षमा पुग्यो ।

अन्ततः २०७९ असार ३० गते महिन्द्रलाई साथ लिएर बाबुराम अलग भएर आफ्नै नेतृत्वमा नेपाल समाजवादी पार्टी गठन गरे । माओवादीबाट अलग भएको ८ वर्षपछि उनी फेरि पुरानै घर (माओवादी) फर्किने तरखरमा छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश पाण्डे
गणेश पाण्डे

रातोपाटीका वरिष्ठ संवाददाता पाण्डे राजनीतिक तथा समसामियक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप