बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

बाबुरामको नेतृत्वमा एकता संयोजन समिति बनाउने नेसपाको निर्णय

बुधबार, ०६ मङ्सिर २०८०, १८ : १८
बुधबार, ०६ मङ्सिर २०८०

काठमाडौँ । नेपाल समाजवादी पार्टी(नेसपा)ले माओवादी केन्द्रसहित बृहत् समाजवादी केन्द्र निर्माणका लागि अध्यक्ष डा. बाबुराम भट्टराईको नेतृत्वमा एकता संयोजन समिति बनाएको छ । 

बुधबार भक्तपुरको जडिबुटीमा बसेको केन्द्रीय समिति बैठकले माओवादी केन्द्र लगायतका विचार, राजनीति मिल्ने राजनीतिक शक्तिहरूसँग एकता/ध्रुवीकरण गर्न संयोजन समिति बनाउने निर्णय गरेको हो । 

समितिमा अर्का अध्यक्ष महिन्द्र राय यादव, सहध्यक्ष गंगानारायण श्रेष्ठ, उपाध्यक्ष दुर्गा सोव, महासचिव रमेशप्रसाद यादव, कार्यकारिणी सदस्य जनकराज शाह रहने छन् । यस्तै बैठकले संगठन निर्माण, सुदृढीकरण गर्न यसअघि सञ्चालन  भएको अभियान  तीन महिना थपेको छ । वैशाखमा राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको छ ।

यस्ता छन् केन्द्रीय समितिका निर्णयहरू:

-बृहत् समाजवादी केन्द्र निर्माणका लागि नेकपा (माओवादी केन्द्र) लगायतका विचार, राजनीति मिल्ने राजनीतिक शक्तिहरूसँग एकता/ध्रुवीकरण गर्दै जान पार्टी अध्यक्ष डा. बाबुराम भट्टराईको संयोजकत्वमा अर्का अध्यक्ष महिन्द्र राय यादव, सहध्यक्ष गंगानारायण श्रेष्ठ, उपाध्यक्ष दुर्गा सोव, महासचिव रमेशप्रसाद यादव, कार्यकारिणी सदस्य जनकराज शाह रहने पार्टी एकता/ध्रुवीकरण  संयोजन समिति बनाउने निर्णय भयो । 

संगठनात्मक कार्ययोजना 

क) संगठन निर्माण तथा बिस्तार अभियानको समयावधि २ महिना थप गरी फागुन मसान्तसम्म पुर्‍याउने ।

ख) सबै स्थानीय तहहरूको बैठक, समिति गठन र पुनर्गठन पुस मसान्तसम्म गरिसक्ने ।

ग) मङ्सिर-पुसमा वडा र पालिकाहरूको भेला, सम्मेलन सम्पन्न गर्ने ।

घ) माघ-फागुनमा प्रदेशको सम्मेलन सम्पन्न गर्ने ।

ङ) वैशाखमा राष्ट्रिय सम्मेलन सम्पन्न गर्ने । 

-बैठकले २०८० कार्तिक १७ गते राति जाजरकोटको रामीडाँडा आसपास केन्द्र बनाई गएको भूकम्पमा ज्यान गुमाएकाहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछ । भूकम्पमा परी घाइते भएकाहरूको उपचार, भूकम्प पीडितलाई राहत र पुनर्स्थापनाका लागि नेपाल सरकारलाई अनुरोध गर्दछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप