बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
विचार

लोकतन्त्र र धर्म भनेको के हो ?

बुधबार, ०६ मङ्सिर २०८०, २० : २७
बुधबार, ०६ मङ्सिर २०८०

सर्लाही, नेपालगन्ज, अलिअलि पहाडतिर पनि र धरानमा एक खालले कन्फ्लिक्ट चलिरहेको छ । कतिपय भूमिगत खालका कन्फ्लिक्ट पनि छन्, ती कुनै बेला निस्कन सक्छन् । गाईको मासु खान हुने कि नहुने, नहुने भए किन नहुने भन्ने कुराहरू छन् । गेरुवस्त्रधारी जुलुसको चर्चा पनि आयो । यस्ता खाले घटनाहरू नेपालमा पहिले नभएका होइनन्, संसारभर नभएका पनि होइनन् । अमेरिकालाई उदार भनेर अस्ति एकजनाले लेख्नुभयो । त्यहाँको विहङ्गम जातीय द्वन्द्व हामीलाई थाहा छ । स्लेभरी (दासता) को बारेमा थाहा छ, पहिले ट्रम्प लगायतले चर्काइरहेको जातीय द्वन्द्वका बारेमा थाहा छ । समस्या संसारभरि छ । 

यसको अर्थ यसलाई सामान्यकरण गरौँ, यो सामान्य र सधैँ भइराख्ने कुरा हो भन्ने हुँदै होइन । यसका पछाडि खासखास किसिमका तात्कालिक राजनीतिक, आर्थिक, सामाजिक र बौद्धिक कुराहरू हुन्छन् । जुन केहीबेर मत्थर हुन्छ, अनि खास किसिमको राजनीतिक र आर्थिक परिस्थितिमा त्यो फेरि उब्जन्छ । सधैँ द्वन्द्व भइराख्दैन, कुनै बेला उजागर हुन्छ, कुनै बेला त्यो सुषुप्त अवस्थामा रहन्छ । उजागर हुने कारण के हो त ? आँखा त्यहाँनेर पुर्‍याउनुपर्छ । 

धर्मराज्य भयो भने हामी परम्पराबाट बढी निर्देशित हुन्छौँ । त्यो परम्पराका केही राम्रा कुरा होलान् तर कतिपय नराम्रा कुरा छन् । हाम्रो परम्परामा क्रिटिकल सिटिजन बनाउने भन्ने छैन, त्यसबाट हामी विमुख हुन्छौँ । हाम्रो परम्परामा बलियो गरी जात र जातीयताको कुरा छ, लैंगिक कुरा छ ।

नेपाल कस्तो किसिमको राज्य बन्नुपर्छ भन्ने छलफल छ । प्रधानमन्त्री आफैँ गेरुवस्त्र लगाएर देशबाहिर वा देशभित्र डुल्याडुल्यै हुनुहुन्छ । कांग्रेसका सशांक कोइरालाले हिन्दु देश बन्नुपर्छ भन्नुभा’छ । यसो भन्ने धेरै छन् । यस्तो प्रवृत्ति एमालेमा पनि छ, राप्रपामा कुरै भएन । यसमाथि हामीमा यो पनि थाहा छ कि भारतमा जुन हिन्दुत्ववादी धार छ, त्यसले अहिले काम गरिरहेको छ । 

मेरो एकजना नजिकको साथीको छोरा, जिन्दगीमा ठूलो अचिभमेन्ट गर्‍या, रिटायर्ड भएपछि उहाँले यो जिल्लाको प्रमुख भएँ भन्नुभयो, आरएसएस (राष्ट्रिय स्वतन्त्र संघ)को । यस्ता घटना पनि भइरहेका छन् । मैले उहाँलाई केही भन्न त सकिनँ, तर धेरै दुःखी भएँ । भोलि (मंसिर ७) दुर्गा प्रसाईंको कुरा पनि छ । यस कारण केही न केही ठुलै कुरा पाकिरहेको जस्तो देखिन्छ । कति ठूलो हुन्छ, थाहा छैन । त्यसैलाई मत्थर पार्न हो कि भोट पाउनलाई हो– प्रधानमन्त्री र राष्ट्रपतिले मन्दिर लगायत धार्मिक स्थानमा जाने गरेका छन् । पहिले राजाले जे जे गर्थे, त्यो गरिराखेको हामीले देखेको छौँ । संविधानमा यो सेकुलर मुलुक हो भनेर लेखेको भए पनि यो खालको निरन्तरता पार्टीबाट, नेताबाट, सरकारका नेताबाट भइराखेको देखिन्छ । 

लोकतन्त्र र धर्म 

लोकतन्त्र भनेको के हो ? धर्म भनेको के हो ? लोकतन्त्र र धर्मलाई मिसाउन हुन्छ कि हुँदैन ? लोकतान्त्रिक पद्धतिमा धर्म मिसिन्छ कि मिसिँदैन, धर्मलाई ठाउँ हुन्छ कि हुँदैन । यसैमा आज चर्चा गर्नेछु । 

पहिलो प्रश्न त, हामीले लोकतन्त्रलाई राम्रोसँग बुझ्यौँ कि बुझेनौँ भन्ने पनि हो । यो राजनीतिक परिवर्तनमा हामीले के भन्यौँ भने निर्दलबाट मुक्ति चाहियो, त्यसकारण दल चाहियो, दल भएपछि मुक्ति हुन्छ । दलीय चुनाव भएपछि अरु कुरा हुँदै गर्छ, परिवर्तनका वाहक दल हुन्, दल भएपछि हुन्छ जस्तो गर्यौँ हामीले । त्यसकारण दलीयकरण एकदमै द्रूत गतिमा अघि बढे । राजनीतिक पार्टीका आधारमा डाक्टरको चुनाव, प्राध्यापकको चुनाव, विद्यार्थीको चुनाव, वन समितिको चुनाव, सबै सबै, ऊ एनआरएन दलले खायो । 

लोकतन्त्रचाहिँ पार्टी, सरकार र चुनाव मात्रै होइन, लोकतन्त्रका धेरै पाटा छन् । लोकतन्त्र भनेको राजनीतिक सिभिल प्लाटफर्म, पब्लिक प्लाटफर्म भनेर सम्झनुपर्छ । सार्वजनिक, राजनीतिक र नागरिकको प्लाटफर्म हो यो । 

लोक भन्ने शब्द लौकिकबाट आउँछ । लोक र लौकिकको रूप एउटै हो । जनता भनेको यो लोक अर्थात् अहिले देखिने इम्पिरिकल (प्रयोगसिद्ध) लोकसँग सम्बन्धित छ, देवलोकसँग होइन । त्यसकारण लोकतन्त्र यो संसारसँग रिलेटेड हो, परलोक, इहलोक, दैवलोक, धर्मलोकसँग होइन । 

हामीलाई भौतिक र आध्यात्मिक भन्ने बानी परेको छ । वास्तवमा भौतिक भनेको सांसारिक हो । सांसारिक भनेको भौतिक पनि हो, मानसिक पनि हो, वैचारिक पनि हो, सबै हो । त्यहाँ दया, माया, करुणा सबै कुरा हुन सक्छ । हामीले भौतिक भनेर यस्तो निक्खर भौतिकको कल्पना गर्यौँ– जीव नभएको, ज्यान नभएको, माया नभएको मात्रै कल्पना गर्यौँ । 

हामीकहाँ नेताहरूले विभिन्न धर्मका पर्वमा मुबारक (शुभकामना) भनेको पाइन्छ । वास्तवमा अथेन्टिक धर्मनिरपेक्षता भनेको राज्यसत्तामा धर्मलाई छिराउने नै होइन, मुबारकको कुरै होइन । धर्म छुट्टै हो, राज्य छुट्टै हो । अमेरिकाका अदालतमा क्रिस्चियन क्रसहरू सबै सिद्धियो, त्यहाँ राख्न पाइँदैन । त्यो धर्मको चिनो हो र राज्यको सञ्चालनमा धर्म छिर्नु हुँदैन भन्ने सिद्धान्त त्यहाँ छ ।

सांसारिकभित्र आध्यामिक अट्छ । त्यसकारण भौतिक र आध्यात्मिक कन्ट्रास्ट (विपरीत) होइन । भौतिक त हामीलाई चाहिन्छ, उभिने ठाउँ वा बस्ने ठाउँ चाहियो । त्यसकारण सांसारिक र आध्यात्मिक भन्न थालियो भने कुरा मिल्छ जस्तो लाग्छ । सांसारिकभित्र सबै कुरा पर्छ । 

नेपाली बृहत शब्दकोशमा हेर्यौँ भने लौकिकले लोकसँग सम्बन्धित भन्ने अर्थ दिन्छ । जस्तै ः लौकिक विवाह, वैदिक वा धार्मिक विवाह विधि अनुसार नगरी वर–वधु स्वयं संलग्न भएको विवाह । लौकिकभित्र राजनीतिक, लेनदेन वा आर्थिक आदि कुरा पर्छन् । 

हाम्रो सेकुलर मुलुक भनेको के हो त ? राज्यचाहिँ सेकुलर भन्या हो । निजी जीवनमा हामी जेमा पनि विश्वास गर्न सक्छौँ । हामी भूत, प्रेत, देवी–देवता, सारा कुरामा विश्वास गर्न सक्छौँ । पूजा गर्न सक्छौँ । धर्मनिरपेक्ष राज्य भनेको राज्यको कुरा गरेको मात्रै हो, हाम्रो घरको कुरा गरेको होइन । कपडाभित्र लुकाएर जनै लगाउन हुँदैन भनेको होइन । भनेको के हो भने, राज्य सञ्चालन गर्ने दौरानमा जनै बाहिर देखाएर पाठ गर्न पाइँदैन भन्या हो । धार्मिक रेप्रेजेन्टेसन र राज्य छुट्टाछुट्टै हुन् । 

पार्टी र चुनावबाहेक पनि लोकतन्त्रका धेरै आयाम छन् । लोकतन्त्र भनेको समस्त सामाजिक सम्बन्ध कसरी रिकास्ट गर्ने, हाम्रो परम्परा कसरी पुनगर्ठित गर्ने, परम्परा भन्नाले लैंगिक, जातीय आदि परम्परा कसरी पुनगर्ठित गर्ने भन्ने कुरा हो । आर्थिक सम्बन्धहरू कसरी पुनगर्ठित गर्ने भन्ने हो । के कुरा पढाउने भन्ने पनि हो । लोकतन्त्र आएपछि स्कुलको टेक्स्ट बुकमा पनि चेन्ज हुन्छ । यी कुरातिर हाम्रो ध्यान गएको छैन । पार्टी र चुनावबाहेक अरु कुरामा ध्यान गएन ।

सार्वजनिक रूपमा हामी रिलिजियस हुन मिल्छ कि मिल्दैन भन्नेबारे छलफल गर्नै बाँकी छ । परिवर्तित समाजले हामीलाई के खाले ज्ञान दिनुपर्छ, के खाले सूचना लिन सिकाउनुपर्छ ? स्वस्थानी नै भए पनि त्यसलाई कसरी नयाँ आँखाले हेर्ने ? यो संसारलाई कसरी नवीन आँखाले आत्मसात गर्ने आफैँ सशक्त नागरिक भएर ? नागरिक आफ्नै खुट्टामा उभिन्छ, ठाडो भएर हेर्न सक्छ, कसैले भनेको मान्नैपर्छ भन्ने छैन तर कानुनबमोजिम आफ्नै बुद्धि–विवेकले काम गर्छ नागरिकले । सशक्त नागरिक बन्ने प्रक्रिया लोकतन्त्रअन्तर्गत सुरु हुनुपर्छ । 

अरु धर्म त भन्दिनँ, हिन्दुइजम्भित्र धर्मलाई दुई किसिमले लिइन्छ । एउटा ईश्वरवाद भयो । अर्को चाहिँ कन्डक्ट (आचरण), के गर्नुपर्छ, के गर्नु ठिक भयो ? प्रोफेसर भएर के गर्नु ठीक हुन्छ, डाक्टर भएर के गर्ने, बाबु भएर के गर्ने, आमा भएर के गर्ने– यी सबै आ–आफ्ना धर्म भए । अर्कोचाहिँ ईश्वरलाई मान्ने कुरा पनि आउँछ । कन्डक्ट र लोकतन्त्रमा धेरै भेद छैन । ईश्वरवाद र लोकतन्त्रको कुरामा भने ठूलो भेद छ । भौतिक र सांसारिक कुरासँग ईश्वरवाद मिल्न सक्दैन । किनभने सांसारिक भनेको संसारबारे सम्बन्धित छ, ईश्वरवाद भनेको परलोकबारे । 

राजनीति कमजोर भयो भने, धर्मतिर फर्कनुपर्‍यो, त्यहाँबाट पनि बल लिनुपर्‍यो । समाजलाई उन्नत लोकतन्त्रतिर लैजान नसकेपछि पशुपति पनि धाउनुपर्‍यो, गेरुवस्त्र पनि लाउनुपर्‍यो । 

लोकतान्त्रिक मुलुकको धर्म के हो भन्ने प्रश्न आउला । नागरिकबिना लोकतन्त्र हुँदैन । नागरिकत्व (नागरिकमा हुने गुण)को परिपालन र त्यसको विस्तार लोकतान्त्रिक मुलुकको धर्म हो । 

अथेन्टिक धर्मनिरपेक्षता भनेको धर्मबाट छुट्टै बस्ने हो । कुनै कार्यालयको भवन बनाउँदा तल खाल्डोमा गएर पूजा गर्ने होइन । हामीकहाँ जुन मोलुवा व्यवहार छ, त्यो ग्राह्य छ, किनकि त्यसले सामाजिक स्वीकारोक्ति र भोट तान्छ ।

नागरिकलाई अनुशासित प्रश्न गर्ने पाउने अधिकार हुन्छ । सबै नागरिक बराबर हुन् भन्ने लोकतान्त्रिक मुलुक र नेताले गरेर देखाउनुपर्छ । यो बिस्तारै हुन्छ, एकैचोटि हुँदैन तर त्यो बाटोमा त हिँड्नुपर्‍यो । हाम्रो मूल धर्मग्रन्थ संविधान हो । 

धर्म निरपेक्ष नभए के हुन्छ त ? मानिलिउँ हामी धर्मराज्य भयौँ । धर्मनिरपेक्षता भन्ने क्लज संविधानबाट गयो र धर्मराज्यको बाटोमा हामी हिँड्यौँ भने के हुन्छ ? अथवा, धर्मसापेक्ष भयो भने के हुन्छ । 

धर्मराज्य भयो भने हामी परम्पराबाट बढी निर्देशित हुन्छौँ । त्यो परम्पराका केही राम्रा कुरा होलान् तर कतिपय नराम्रा कुरा छन् । हाम्रो परम्परामा क्रिटिकल सिटिजन बनाउने भन्ने छैन, त्यसबाट हामी विमुख हुन्छौँ । हाम्रो परम्परामा बलियो गरी जात र जातीयताको कुरा छ, लैंगिक कुरा छ । यी सबै फेरि उठान भएर आउँछन् । यो त पहिलेदेखिको चलन हो, कहाँ मास्न पाइन्छ भन्ने आवाज हाबी हुन्छ । शासकहरूले, अझ राजतन्त्र फक्र्यो भने त्यसका शासकले देवताका एजेन्ट भएर काम गर्छन् । अहिले पनि हाम्रा हरेक मिलिट्री, पुलिसको अफिसमा मन्दिर स्थापना गर्नैपर्ने छ, त्यो झन् चर्केर जान्छ । लोकतन्त्रमा त अलौकिक तत्वहरूलाई दुर्बल तुल्याउनुपर्छ । 

यस्तै, जातीयता बलियो हुँदा के हुन्छ भन्ने प्रश्न छ । यसो भयो भने लोकतान्त्रिक भन्ने कुरा बाँकी रहँदैन । जातीय चिफहरूले राज्य चलाउने भन्ने कुरा आउँछ । जुन कि युद्धकालमा धेरै ठाउँमा हुन्छ । अफगानिस्तानमा भयो । अनि कुल, खान्दान, वंशमा आदिमा बढी आधारित हुन थाल्छ समाज अहिलेको भन्दा । कडा इस्लामिक मुलुकमा अहिले पनि राजतन्त्र छ । राजतन्त्र, अलोकतान्त्रिक मुलुक र धर्मको सम्बन्ध छ । राजै नभए पनि के हो के हो जस्तो इन्डियामा भएको छ । धर्मलाई जोड्दा के लाभ हुन्छ भन्ने कुरा उनीहरूले राम्रोसँग बुझेका छन् । 

लोकतान्त्रिक मूल्य–मान्यतामा ह्रास आउनु भनेकै परम्परालाई बलियो बनाउनु हो । पहिलेको श्रेणीबद्ध सामाजिक विभाजनलाई थप बलियो बनाउने हो । 

हाम्रो संविधानमा जे छ, अहिले पनि एकदम मोलुवा छ तर केही किसिमको सेकुलारिटी लेखिएको छ, व्यवहारमा कम होस् । त्यसलाई पनि सिध्याउने हो भने, हाम्रो व्यवहार अझ बढी दूषित हुँदै जान्छ । 

धर्मनिरपेक्षतालाई दुई किसिमले बुझिन्छ । एउटा बुझाइ, जसलाई मैले मोलुवा वा हल्का भन्छु । धर्मनिरपेक्षता भनेको राज्य र राजनीतिक नेताहरूले सबै धर्मलाई बराबरी रूपमा लिन्छन् । हामीकहाँ नेताहरूले विभिन्न धर्मका पर्वमा मुबारक (शुभकामना) भनेको पाइन्छ । वास्तवमा अथेन्टिक धर्मनिरपेक्षता भनेको राज्यसत्तामा धर्मलाई छिराउने नै होइन, मुबारकको कुरै होइन । धर्म छुट्टै हो, राज्य छुट्टै हो । 

अमेरिकाका अदालतमा क्रिस्चियन क्रसहरू सबै सिद्धियो, त्यहाँ राख्न पाइँदैन । त्यो धर्मको चिनो हो र राज्यको सञ्चालनमा धर्म छिर्नु हुँदैन भन्ने सिद्धान्त त्यहाँ छ । कति ठाउँमा छिर्न दिएको छैन, कति ठाउँमा छिर्दै छ फेरि अहिले । क्रिस्चियन राइट्स बलियो भएर आएको छ, ट्रम्प अलिकति त्यसको उपज पनि हो ।

अथेन्टिक धर्मनिरपेक्षता भनेको धर्मबाट छुट्टै बस्ने हो । कुनै कार्यालयको भवन बनाउँदा तल खाल्डोमा गएर पूजा गर्ने होइन । हामीकहाँ जुन मोलुवा व्यवहार छ, त्यो ग्राह्य छ, किनकि त्यसले सामाजिक स्वीकारोक्ति र भोट तान्छ । 

हाम्रो बाटो अर्कै हो । अलौकिकबाट हामी लौकिकतर्फ जानुपर्छ । लोकतन्त्र सिभिल समाजसँग मात्रै सम्बन्धित छ । अनसिभिल गड्ली, प्रिस्ली कुरासँग सम्बन्धित छैन । यो जीवित मान्छेहरूसँग सम्बन्धित छ, भूत–प्रेत, देवीदेतासँग सम्बन्धित छैन । घरभित्र नेता भक्त भए भयो, जनै लगाएर पूजा गरे भयो, बलि दिए भयो तर राज्यसँग सम्बन्धित कुनै पनि काम–कारबाहीमा ती कार्य त्याज्य छन् । लोकतन्त्रको एसेन्स (सार) चाहिँ यही हो । 

अहिले नेपालमा सेकुलारिजम् सिद्धिन लाग्यो कि धर्मतिर फर्कन लाग्यो कि भन्ने त्रास छ । पहिले संविधान–संविधान भनिन्थ्यो । अचेल कसैले रेफर गर्दैन । लोकतान्त्रिक मुलुकको यो राम्रो सिम्बोल नै होइन । किनभने मूल डकुमेन्ट नै संविधान हो । त्यो मुलुकको ‘पोलिटिकल डोमेन’ (राजनीतिक क्षेत्र) को गीता हो । अर्कोतिर, सरकारको पर्फर्मेन्स कम भयो, दलीयकरणको हद पनि भयो । अहिले संसारभरि राइटिस्ट हावा पनि चलिरहेको छ । यसले नेपालमा तत्कालै फरक नपर्ला, यद्यपि फरक नपर्ने त होइन । इन्डियासँगको सम्बन्धले हामीलाई एकदमै असर गर्छ । 

(प्रोपेसर चैतन्य मिश्र फाउन्डेसन फर सोसल साइन्स र डिपार्टमेन्ट अफ सोसियोलजी, पद्मकन्या क्याम्पसले बुधबार काठमाडौँमा गरेको प्यानड डिसकसनमा मिश्रले ‘लोकतन्त्र र धर्म’ शीर्षकमा राखेका धारणाको सम्पादित अंश ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

चैतन्य मिश्र
चैतन्य मिश्र
लेखकबाट थप