सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
युवासंघ भर्सेस दुर्गा प्रसाईं आन्दोलन

गणतन्त्र विरोधी र पक्षधर एक साथ सडकमा, कसरी अघि बढ्लान् दुर्गा प्रसाईँ ? (भिडियो)

बिहीबार, ०७ मङ्सिर २०८०

काठमाडौँ । बिहीबार काठमाडौँका दुई स्थान (तीनकुने र बल्खु) अति नै व्यस्त बने । नेकपा एमाले निकट युवासंघ र मेडिकल व्यवसायी दुर्गा प्रसाईंले एकै दिन एकै स्थान (माइतीघर) मा प्रदर्शनको घोषणा गरेपछि केही सातादेखि राजधानीको माहोल तातेको थियो । यस प्रदर्शनलाई दुर्गा ‘प्रसाईँ भर्सेस महेश बस्नेत’को रुपमा अथ्र्याइएको थियो । 

झडपको परिस्थिति निम्तिने देखेपछि सरकारले दुवैलाई प्रदर्शनीको स्थान तोकिदियो । युवासंघलाई तीनकुने र प्रसाईंंलाई बल्खु । सरकारको यही सतर्कताका कारण छिटपुटबाहेक ठूलो झडप हुन पाएन । 

बिहीबार दिनभरजसो बल्खु र तीनकुनेमा भीडभाडकै अवस्थामा रह्यो । तीनकुनेमा युवासंघको प्रदर्शन शान्तिपूर्ण देखियो भने बल्खुमा मेडिकल व्यवसायी प्रसाईंको नेतृत्वमा भएको प्रदर्शन केही तनावग्रस्त हुन पुग्यो ।

मेडिकल व्यवसायी प्रसाईंले ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियान’को ब्यानरमा शान्तिपूर्ण जनविद्रोह गर्ने भने पनि बल्खुमा प्रहरी र प्रदर्शनकारीबिच पटक पटक झडपको अवस्था देखियो । राजधानीको विभिन्न स्थानबाट ¥यालीसहित तोकिएको स्थान बल्खुमा भेला भएका प्रदर्शनकारी सुरुमा शान्त नै देखिन्थे, जब प्रसाईँ आएर आक्रामक भाषण गरे तब माहोल एकाएक  खलबलिन पुग्यो । प्रदर्शनकारीले प्रहरीको घेरा तोडेर अघि बढ्न खोजेपछि दुई पक्षीय झडपको अवस्था बनेको थियो । 

प्रसाईंले प्रदर्शनकारीलाई सम्बोधनका क्रममा नेपालमा विद्रोहको बिरुवा रोपिएको मात्रै उद्घोष गरेनन्, नेताहरूलाई जहाँ भेट्यो त्यही ठेगान लगाउने र सिंहदरबारदेखि संसदसम्म कब्जा गर्ने जिकिर गरेका थिए ।

सिंहदरबार घेर्ने भन्दै प्रहरीको घेरा तोडेर प्रदर्शनकारी कालीमाटीतर्फ अघि बढ्न खोजेपछि दिउँसो एकाएक झडपको अवस्था निम्तिएको थियो । प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रहार गरेर अवस्थालाई नियन्त्रण लिने प्रयास गरिरह्यो । यो अवस्था पटक पटक निम्तिँदा अपराह्नसम्म बल्खु क्षेत्र तनावपूर्ण बन्न पुग्यो । 

यता युवासंघसहित एमाले निकट संघ–संगठनले आयोजना गरेको तीनकुनेको प्रदर्शन भने शान्तिपूर्ण रह्यो । एमाले अध्यक्ष केपी शर्मा ओली स्वयंले नै केही दिन अघि मंसिर ७ गतेको प्रदर्शन शान्तिपूर्ण बनाउन अपिल गरेका थिए । बिहीबार तीनकुनेमा भाषणा गर्दै एमालेका नेता तथा युवा संघका संयोजक महेश बस्नेतले सबैलाई संयमताका साथ शान्तिपूर्ण प्रदर्शन गर्न र व्यवस्था विरोधी तत्त्वलाई परास्त गर्न अग्रसर हुन नेता तथा कार्यकर्तालाई आग्रह गरेका थिए । यद्यपि प्रदर्शनका लागि देशैभरिबाट आएका नेता तथा कार्यकर्तामाझ नेता बस्नेतले गणतन्त्रविरोधी दुर्गा प्रसाईँ आजैबाट पतन भएको उद्घोष पनि गरे ।

महेश बस्नेतले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नसच्चिए नेकपा एमालेले प्रधानमन्त्रीको कुर्सीबाट माइतीघर वा तीनकुनेमा लगेर पछार्ने चेतावनी समेत दिन भ्याए । एमालेको कार्यक्रम अब सातै प्रदेशमा विस्तार हुने र उक्त आन्दोलनपछि एमाले नेतृत्वमा सरकार बन्ने चुनौती दिँदै नेता बस्नेतले गणतन्त्रमाथि आक्रमण हुँदा एमाले सबैभन्दा पहिले प्रतिरोधमा उत्रिएको दाबी समेत गरे ।

यता मेडिकल ब्यावसायी प्रसाईंले शुक्रबार पनि प्रदर्शनलाई जारी राख्ने घोषणा गरेका छन् । बिहीबार दिनभरजसो बल्खु क्षेत्रलाई तनावग्रस्त बनाएको यो समूहले शुक्रबारदेखि कस्तो रणनीति अपनाउने हो त्यो भने हेर्न बाँकी छ । बिहीबारको प्रदर्शनलाई सरसर्ती नियाल्दा वर्तमान व्यवस्था विरोधी प्रसाईँ समूह र व्यवस्थाको संरक्षणका पक्षधर एमाले निकट संघ–संगठन बिचको शक्ति प्रदर्शन जस्तो देखिए पनि आगामी दिनमा यी दुवै समूह कसरी अघि बढ्ने हुन् त्यो भने पखाईको विषय बनेको छ । अर्कातर्फ सरकार र सुरक्षा निकायले कुन रणनीतिका साथ अघि बढ्ने हो त्यो पनि धेरैका लागि जिज्ञासाको विषय बन्न पुगेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया