सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

जनयोद्धाको सम्मानमा गर्विलो संकल्प

सोमबार, ११ मङ्सिर २०८०, १७ : ३१
सोमबार, ११ मङ्सिर २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले चलाएको ‘जनतासँग माओवादी’ विशेष रुपान्तरण अभियानसँगै सिन्धुली पार्टीमा विस्तारै फरकपन देखिन थालेको छ । माओवादीको क्रियाशीलता र जनताको आशामा यसले सकारात्मक संचार पैदा गर्दै लगेको विश्लेषण बौद्धिकहरुबीच समेत हुन थालेको छ । परिवर्तनकारी आन्दोलनका मुख्य अगुवा तर परिवर्तनपछि उपेक्षित वहुसंख्यक पूर्व जनमुक्ति सेनालाई विश्वासमा लिने, उहाँहरुप्रति आत्मालोचित हुने र आन्दोलनका बाँकी कार्यभारप्रति उत्साहित गर्ने क्रममा जनसेनाको सिन्धुलीमा महत्वपूर्ण भेलाबाट नयाँ नेतृत्व चयन गरिएको छ ।
सिन्धुली पार्टीले पूर्व जनमुक्ति सेना, नेपालको २३ औं वर्षगाँठ एक औपचारिकताका लागि मात्रै नभएर परिवर्तन आन्दोलनका धेरै कार्यभार बाँकी रहेको, त्यसलाई उच्च निष्ठाका साथ जारी राख्ने संकल्पसहित मनाएको छ । हिजोको उच्च त्याग र वलिदानको संस्कृतिबाट प्रेरणा लिँदै आगामी दिनमा पार्टी र परिवर्तन पक्षको आन्दोलनमा प्रभावकारी भूमिका खेल्ने प्रतिबद्धता त्यसक्रममा व्यक्त भएको छ । वर्षगाँठसँगै पूर्व जनमुक्ति सेनाको नयाँ कमिटी बनाएर एक उत्साहित गन्तव्यबोध गरिएको छ ।

 देश र जनताको पक्षमा हाँसीहाँसी आफूलाई वलिदान दिने नेपालका हजारौं क्रान्तिकारी योद्धाहरुको अग्रपंक्तिमा सिन्धुली पनि पर्छ । वलिदान हुन तत्पर हुनेहरुसँग देश ऋणी छ । माओवादी पार्टी ऋणी छ । मुक्तिका लागि प्राणोत्सर्गको प्रतिस्पर्धा गर्ने महामानव नै पूर्व जनमुक्ति सेना हुन् । जिउँदा शहीद हुन् । आज अपमानको विष पिएर पनि परिवर्तनको पक्षमा क्रियाशील रहिरहने उहाँहरुको तत्परता लक्ष्यप्रतिको राजनीतिक दृढता हो ।

377222062_1065446531324908_2896027464478459031_n

सबै पूर्व जनमुक्ति सेना आजको माओवादी केन्द्रमा हुनुहुन्न । आआफ्ना मान्यतासहित अलगअलग माओवादी धारा र अन्य पार्टीमा समेत हुनुहुन्छ । तर, जो जहाँ भए पनि उहाँहरुले नेपालको इतिहासमा विशिष्ट स्थान बनाउनु भएको छ । सयौं वर्षपछि पनि प्राप्त गर्न नसकिने उपलब्धि उहाँहरुकै कारण हाम्रो पुस्ताले पाएको छ । तर, खुला राजनीतिको मैदानमा उहाँहरुमध्ये अधिकांशलाई पछाडि पारिएको छ । उपेक्षा गरिएको छ । किन यसो भयो ? आन्दोलनले नै गम्भीर समीक्षा गर्नुपर्ने विषय हो यो ।

हामीले उत्पीडित वर्ग र समुदायका लागि लडाईं लडेका हौं । राज्यसंरचनालाई जनतामुखी बनाउन वा राजनीतिक परिवेशलाई संघीय गणतन्त्रसम्म पु¥याउन एकहदको सफलता मिले पनि हाम्रा प्रतिबद्धता र अजेण्डाहरु पूर्ण भएका छैनन् । सामाजिक न्यायसहितको गुणात्मक आर्थिक समृद्धिका लागि क्रियाशील भइराख्ने र देशलाई समाजवादको चरणमा पु¥याउने हाम्रा प्रतिबद्धताहरू चुनौतीकै चरणमा छन् । राज्य संचालनमा आफू भएका बखत आफ्ना प्रतिबद्धता लागू गर्न निस्वार्थ यत्नशील हुने, नभएका बखत त्यसका लागि दबाब दिने– यही नै हाम्रो निष्ठा हो ।

तर, मुख्यतः हामी नेतृत्वमा जीवन र व्यवहारमा सामन्जस्य गर्न नसक्दा, शब्द र कर्ममा अन्तरविरोध देखिदा हामीप्रति पनि धेरै प्रश्न उब्जिएका छन् । यी विगतका आदर्शबाट स्खलित नहुन् भन्ने नै हिजो अग्रमोर्चामा लड्ने अधिकांश जनसेनाको चाहना हो । जनताको चाहना हो । त्यसकारण हामी रुपान्तरण हुनैपर्छ । पूर्व जनमुक्ति सेनासहितको अपूर्व सम्मिलन रुपान्तरणतर्फको सिन्धुली पार्टीको एक पुरक अभियान हो ।

पार्टीका उपमहासचिव तथा तत्कालीन दोस्रो डिभिजनका कमिसार हरिबोल गजुरेलको प्रमुख आतिथ्यतामा विभिन्न पार्टीमा छरिएर रहेका पूर्व जनमुक्ति सेना सम्बद्धहरुको सिन्धुली भेलाले जनमुक्ति सेनाको त्याग र वलिदान खेर जान दिइँदैन भन्ने संकल्प बोकेको छ । भेलामा जनयुद्धमा महत्वपूर्ण भूमिका खेल्नुभएका पार्टीका केन्द्रीय सदस्यहरु गोपी अछामी, बसन्त माझी, दीर्घराज श्रेष्ठको समेत आतिथ्यता थियो । जनयुद्धकालमा कमाण्डरको भूमिका खेल्नुभएका मात्रिका भट्टराई, सुष्पा भुजेल, नरेश कुँवर, पदम अस्तानी, राजकुमार श्रेष्ठ, सुरतकुमार स्याङताङ ‘बृहत’ सहितको सक्रिय सहभागिता थियो ।

जनयुद्धको अग्रमोर्चामा सिन्धुली र सिन्धुली वाहिर रहेर लड्नुभएका थुप्रै कमरेडहरु यतिवेला पार्टीमा भूमिकाविहीन अवस्थामा हुनुहुन्छ । घाइते र अपाङ्ग भएर कष्टदायी जीवन बाँच्नेहरु पनि हुनुहुन्छ । जनयोद्धाहरुको अभिलेखीकरण गर्ने, शारीरिक समस्यामा पर्नुभएका, आर्थिक अवस्था नाजुक भएकाहरुको बारेमा बुुझ्ने र समाधानको संस्थागत योजना बनाउने तथा पार्टीमा रहेर सक्रिय हुन चाहनेहरुलाई प्राथमिकताका साथ जिम्मेवारी दिने, नसक्नेहरुलाई सम्मान दिने पद्धति अब हामीले विकास गर्नैपर्छ । बलिदानीपूर्ण संघर्षबाट स्थापित यस राजनीतिक परिवर्तनलाई उल्ट्याउन खोज्नेका विरुद्ध नयाँ ढंगले संघर्ष गर्न पनि विगतको वलिदानीपूर्ण संघर्षबाट शिक्षा प्राप्त गर्नुभएका जनयोद्धाहरुको अनुभव महत्वपूर्ण हुनेछ ।

भेलाले पदम बहादुर अस्तानी ‘शरण’को अध्यक्षतामा पूर्व जनमुक्ति सेना नेपाल, सिन्धुली गठन गरेको छ । १३ सदस्यीय नयाँ कमिटीको उपाध्यक्षहरुमा राजकुमार श्रेष्ठ ‘उत्साह’ र गौरव कार्की ‘सुदीप’, सचिवमा केशव लोहार ‘भीषण’, सहसचिवमा हरिकृष्ण घिमिरे र कोषाध्यक्षमा संगिता माझी सर्वसम्मत चयन हुनुभएको छ । त्यस्तै सदस्यहरुमा भुलबहादुर राना ‘अविरल’, छविलाल श्रेष्ठ, सुक बहादुर सुनुवार, गोपाल श्रेष्ठ, सीताराम रम्तेल, सुनिता तामाङ र अर्जुन विक हुनुहुन्छ । जनयुद्धकालदेखि आजसम्म उहाँहरु ऋाआफ्नो ठाउँमा सक्रिय रहनुभएको छ ।  

त्यसक्रममा उपमहासचिव गजुरेलले पार्टी विधिसम्मत तरिकाले अगाडि बढेमात्रै जनयुद्ध लडेका साथीहरुको सम्मान हुने बताउनुभयो । उहाँले पार्टी र नेतृत्वलाई सही मार्गमा डोहो¥याउन सबैले खबरदारी गर्न जरुरी रहेको औंल्याउनुभयो । माओवादी पार्टी र नेतृत्वलाई सही बाटोमा हिंडाउन र आन्दोलनको नैतिक–भौतिक बलको लागि जनमुक्ति सेनाको कमिटी अपरिहार्य रहेकोमा उहाँले जोड दिनुभएको थियो ।

403736118_888168092974549_8394343706151934121_n

बोल्नेक्रममा परिवार र सहयोद्धाहरुलाई सम्झेर केन्द्रीय सदस्य गोपी अछामी भावुक हुनुभयो । बागमती प्रदेश सांसद मात्रिका भट्टराई र सुष्पा भुजेलले जनयोद्धाहरु स्वयं पनि आफ्नो अधिकार तथा भूमिकाप्रति अग्रसर हुनुपर्ने बताउनुभयो ।

पार्टीको विशेष रुपान्तरण अभियान  सिन्धुली इन्चार्जका रूपमा मैले जनमुक्ति सेनाका साथीहरु जोखिम मोलेर लडेका कारणले नै अहिलेको राजनीतिक परिस्थिति पैदा भएको तर ‘जसको विहे उसलाई देख्न नदे’ भने जस्तै जसले यो परिवर्तनको नेतृत्व गर्नुभयो, तिनलाई उपेक्षा गर्ने कार्य ठीक नभएको बताएँ । संगठित भएर गौरवगाथालाई स्थापित गर्ने र अग्रगामी मार्गमा एकाकार हुने पूर्व जनमुक्ति सेना तथा सिङ्गो सिन्धुली पार्टीको प्रतिबद्धताले ममा गर्विलो हर्ष निर्माण भएको छ । जनयोद्धा र तिनका परिवारसँग सम्बन्धित समस्यामा राज्यले मल्हमपट्टी गर्नैपर्छ । पार्टीले मल्हमपट्टी गर्नैपर्छ । सबै आन्दोलनप्रेमीले यसको पहलकदमी लिनुपर्छ । हामी राजनीतिक संघर्षको  इतिहास र जनयोद्धाहरुको भूमिकालाई सम्मान गर्न सक्दैनौं भने परिवर्तनलाई पनि सम्मान गर्न सक्दैनौं ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

महेश्वर दाहाल
महेश्वर दाहाल
लेखकबाट थप