सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

राजतन्त्र फालेर ल्याएको गणतन्त्रले किन दिएन जनतालाई सन्तुष्टि ?

मङ्गलबार, १२ मङ्सिर २०८०, १० : ३९
मङ्गलबार, १२ मङ्सिर २०८०

देशमा भएको शासन व्यवस्थाले जनतालाई सन्तुष्ट पार्न सकेन भने परिवर्तनका आवाजहरू उठ्न थाल्छन् । जनताका नाजुक अवस्थाले नै व्यवस्थालाई परिवर्तन गर्ने हो । व्यवस्थाले अवस्थाको सिर्जना गर्ने हो । यी दुई पक्ष बिच सापेक्षित सम्बन्ध रहेको हुन्छ ।

जनताको अवस्था बिग्रिएमा व्यवस्थामा परिवर्तन गर्ने कोसिस हुन्छ । नयाँ व्यवस्थाले तत्कालका खराब अवस्थामा परिवर्तन हुन्छ कि भन्ने आशाले त्यो कोसिस गरिने हो । 

नेपालमा पञ्चायती व्यवस्था अर्थात् राजतन्त्रको पालामा जनता र राष्ट्रको हित भएन भन्ने अधिकांश नागरिकलाई लागेकाले जनताले नै गणतन्त्र ल्याएका हुन् । नेपाली जनताले नचाहेको भए विदेशीको चाहनाले मात्र राजतन्त्र हटाएर कदापि गणतन्त्र ल्याउन सकिने थिएन ।

तर अहिले आएर अधिकांश नागरिक गणतन्त्रप्रति असन्तुष्ट छन् । किनभने जनताका समस्या समाधान गर्न गणतन्त्रले निकास दिनै सकेन । बरु गणतन्त्र ल्याउने हिमायतीहरू नै लुटाहा, फटाहा, शोषक, अत्याचारी, निरङ्कुश, भ्रष्ट, गुण्डा, गफाडी, हत्यारा, दलाल भए भनेर जनता सडकमा निस्किन थालेका छन् । गणतन्त्र आएको १६ वर्ष बित्दा पनि जनताले झुन्डिनु पर्ने, परदेशिनुपर्ने, विदेशबाट बाकसमा फर्किनुपर्ने अवस्था दिनानुदिन बढिरहेको छ । अहिले जनताको यसबाहेक अर्को विकल्प छैन । 

गणतन्त्रमा त जनताले आफ्नै घरपरिवारसँग खान, बस्न, रमाउन पाउने अवस्थाको खोजी हुनु पर्थ्यो । त्यो कार्य ३४ वर्षको बहुदलीय व्यवस्था र अझ सुधारिएको गणतन्त्रमा कालमा समेत हुन सकेन ।

यो गणतान्त्रिक व्यवस्थामा झन् त खुलेआम लुटेरा, हत्याराहरूको मात्र भरणपोषण मात्र गरियो । गणतन्त्रको प्रमुख निकाय राष्ट्रपति र यस कालमा स्थापना भएका कार्यकारी सरकारहरूले मिलिभगतमै भ्रष्ट र हत्याराहरूको संरक्षण ग¥यो । सुधार गर्छु भनी हिँडेको माओवादीले लुट्नको निमित्त आफूसँग घाँटी जोड्न आएका काँग्रेस र एमालेलाई आफ्नो बाटोमा हिँडाउन पूर्ण रूपमा सफल भयो । यी तीन दलले शासन गरेको ३४ वर्ष भयो । यो अवधिमा असल नियतले देश विकासमा लागेका भए राष्ट्रलाई धेरै अगाडि पुर्‍याउन सक्थे । जनतालाई गरिबी र बेरोजगारीबाट केही हदसम्म भए पनि मुक्त गर्न सक्ने थिए । तर उनीहरूको नियतमै खराबी देखियो । त्यसैले राम्रो परिणाम आउन सकेन । 

तसर्थ खराब नियतबाट जन्माइएको गणतन्त्रले निकास दिन सक्ने अवस्था छैन । यसलाई तत्काल खारेज गरिनु पर्छ । यही पात्र र प्रवृत्तिबाट गणतन्त्रको विकल्प अर्को स्वरूपको गणतन्त्र हुन सक्दैन । गणतन्त्र लागू गर्न बनाइएको संविधानका धाराहरू परिवर्तन गरेर नयाँ व्यवस्थामा जान सकिन्न । तत्काल यो गणतन्त्रीय संविधान निलम्बन गरिनुपर्छ । 

नेपाललाई सही हुने व्यवस्था भनेकै संवैधानिक राजतन्त्र हो । यसको संरक्षणमा मात्र देश अगाडि बढ्न सक्छ । 

नेपाली जनताले दिएको आंशिक विश्वास गणतन्त्र र यसका पृष्ठपोषकहरूले गुमाएको प्रमाण दुर्गा प्रसाईंको अग्रसरतामा भएको ‘स्वदेशी आन्दोलन’ ले दिइसकेको छ । सबै अट्ने, नेपाललाई सुहाउने व्यवस्था स्थापना गरी नेपाली जनताको बिग्रिँदो अवस्था परिवर्तन गरिनुपर्छ । भ्रष्ट, लुटेरा र हत्याराहरूलाई परिवर्तनका नाममा सजायमुक्त गरिनु कदापि ठिक हुने छैन । 

जबरजस्ती लागू गरिएको गणतन्त्रलाई बिदाइ गरिएन भने भोलिका दिनमा जारी रहने ‘स्वदेशी आन्दोलन’ अथवा ‘स्वदेशी विद्रोह’ ले अर्कै रूप लिन सक्छ । परिवर्तन अवश्यम्भावी छ । जनचाहनाको बललाई तीन दल त के अरू सबै दल थपिए पनि वा यो समय चक्रलाई स्वयं ईश्वरले पनि रोक्न सक्ने छैनन् । परिवर्तन हुन जरुरी छ, परिवर्तन भनेको व्यवस्थाकै परिवर्तन हो र परिवर्तित व्यवस्थाले नेपालीको दयनीय अवस्था परिवर्तन गर्नुपर्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विशाल शाह
विशाल शाह
लेखकबाट थप