मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रादेशिक संरचना निर्माणको काम यसै वर्षबाट सुरु हुन्छः मुख्यमन्त्री जम्कट्टेल

बुधबार, १३ मङ्सिर २०८०, १६ : ३२
बुधबार, १३ मङ्सिर २०८०

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश संरचना निर्माणको काम चालु आर्थिक वर्षबाटै सुरु हुने बताए । विभिन्न कारणले जग्गा प्राप्ति कार्य हुन नसक्दा अघि बढ्न नसकेको प्रादेशिक संरचना निर्माणको काम चालु आर्थिक वर्षबाटै सुरु गरिने बताए ।

हेटौँडामा आयोजित एक कार्यक्रमका बिच मुख्यमन्त्री जम्कट्टेलले संघीयता पछि निर्माण भएको तीन तहको सरकार मध्ये प्रदेश सरकार नयाँ संरचना भएकाले केही प्रक्रियागत समस्याका कारण सोचे जस्तो कार्य प्रगति प्राप्त हुन नसकेको बताए । उनका अनुसार यसै महिनामा जग्गा प्राप्तिको प्रक्रिया पुरा हुने र प्रदेश सरकारको नाममा भोगाधिकारका प्राप्त हुनेछ । उक्त जग्गा प्राप्त भएसँगै प्रदेश सरकारको विभिन्न कार्यालयहरु निर्माणको काम सुरु गरिने उनको भनाई छ ।

‘प्रदेश सरकारको स्थायी संरचनाहरू निर्माणको काम यसै वर्षदेखि सुरु हुन्छ । हाल जग्गा प्राप्तिको काम अन्तिम चरणमा रहेको छ । यसै महिनामा प्रदेश सरकारको नाममा जग्गा प्राप्त हुन्छ ।’ उनले भने, ‘संघीयता पछि निर्माण भएका संरचनामा प्रदेश सरकार नयाँ भएकाले पनि कामहरूको प्रगति सोचे जस्तो प्राप्त हुन सकेन । तर, पनि आवश्यक सम्पूर्ण संयन्त्रको प्रयोग गरेर विकास निर्माण र सेवा प्रवाहको काम गर्‍यौँ । स्थायी संरचना पछि प्रदेश सरकारका प्रशासनिक र विकास निर्माण तथा सेवा प्रवाहका कामलाई थप व्यवस्थित हुन्छ ।’

प्रदेश सरकारले प्रशासनिक खर्च कटौतीका लागि भाडाका घरहरूमा कार्यालयहरू नराख्ने निर्णय गरेकाले छिट्टै नै सबै निकायहरूलाई सरकारी भवनहरूमा स्थानान्तरण गरिने मुख्यमन्त्री जम्कट्टेलले बताए । हाल भाडाको घरबाट सेवा प्रवाह गर्दै आएका संस्कृति पर्यटन तथा सहकारी मन्त्रालय, मुख्य महान्यायाधिवक्ता कार्यालय, प्रदेश नीति तथा योजना आयोग र बोर्डहरूलाई सरकारी स्वामित्वका भवनहरूलाई व्यवस्थित बनाएर स्थानान्तरण गरिने उनको भनाइ छ ।

प्रदेश सरकार विगतको विकासका मोडलाई परिवर्तन गरेर नयाँ मोडल अपनाउने रणनीतिका साथ अघि बढेको उनले बताए । प्रदेश सरकारले शिक्षा क्षेत्रको विकासका लागि प्रादेशिक विश्वविद्यालय स्थापनाको कामलाई तीव्रता दिएको उनको भनाई छ । प्राविधिक विषयहरू अध्यापन गराउने गरी प्रदेश सरकारले सार्वजनिक विश्वविद्यालय स्थापनाको काम अघि बढाएको उनले बताए ।

बागमती प्रदेशको रोजगारी र अर्थतन्त्रको मुख्य आधार कृषि भएकाले विगतको अनुदान मोडल परिवर्तन गरेर काम गर्ने नीति सरकारको रहेको उनले बताए । विगतको सरकारहरूले व्यक्ति केन्द्रित भएर अनुदान वितरण गर्दा त्यसको प्रतिफल नभएकाले समुदायमा आधारित अनुदानको मोडलमा काम गरिने मुख्यमन्त्री जम्कट्टेलले बताए । उनका अनुसार प्रदेश सरकारले विभिन्न पकेट क्षेत्र घोषणा गरेर स्थानीय सरकारसँगको समन्वयमा सहकारीहरू र कृषकहरूलाई समावेश गरेर कृषि क्षेत्रको विकासको काम अघि बढाइने उनको भनाई छ ।

प्रदेश सडक गुरुयोजना निर्माण गरी सडक र पुल निर्माणको कामलाई व्यवस्थित बनाउने र पर्यटन प्रवर्द्धनका लागि स्थापना भएका विभिन्न संरचनाहरू स्थानीय तहलाई हस्तान्तरण गरेर सञ्चालनको प्रक्रियामा रहेको उनको भनाई छ । प्रदेश सरकारले बाहिरी देशबाट आयात हुने काठहरूलाई निरुत्साहित गर्न ऐन, नियम। नियमावली निर्माण गरेर स्थानीय वनहरूमा रहेका काठको प्रयोग गर्ने वातावरण मिलाउने केन्द्रित रहेको उनले बताए ।

त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिं लामाले प्रदेश सरकारले उत्पादन र रोजगारी वृद्धिमा जोड दिनु पर्ने बताए । उनले कुल ग्राहस्त उत्पादनमा बागमती प्रदेशको तर्फको योगदान अत्यन्त न्यून रहेकाले त्यसलाई बढाउनका लागि विभिन्न स्थानमा उद्योगहरू स्थापना गरी उत्पादन वृद्धिसँगै रोजगारीको अवसर निर्माण गर्नुपर्ने बताए ।

सरकारले उद्योग क्षेत्रको विकासका लागि समय सापेक्ष रुपमा ऐन कानुनहरू परिमार्जन गरी लगानीकर्ता आकर्षित गर्ने वातावरण निर्माण गर्नुपर्ने उनको भनाई छ । स्थानीय स्रोतहरूको प्रयोग गरेर सरकारले आर्थिक समृद्धिका योजनाहरू निर्माण गर्नुपर्नेमा उनले जोड दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप