शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय
संकल्प यात्रा

यस्तो छ एमालेको ‘झुलाघाट–चिवाभञ्ज्याङ’ यात्राको समय र तालिका (पूर्ण पाठसहित)

बिहीबार, १४ मङ्सिर २०८०, ११ : ३२
बिहीबार, १४ मङ्सिर २०८०

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बैतडीको झुलाघाटबाट राष्ट्रिय झन्डोत्तोलन गर्दै ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’ शुभारम्भ गरेका छन् । 

बिहीबार नेपाल भारत सीमा क्षेत्र बैतडीको महाकाली नदीको डिल झुलाघाटमा एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सूर्य–चन्द्र अङ्कित राष्ट्रिय झन्डा झन्डोत्तोलन गरेर संकल्प यात्राको शुभारम्भ गरेका हुन् । 

स्थानीय झाँकी बाजागाजा र नारा जुलुससहित ओलीले झन्डोत्तोलन गरेका हुन् । शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले मध्य पहाडी लोकमार्ग यात्राले देशको नीतिमा निर्माणमा चिन्तन मनन गर्न र स्थलगत अध्ययन तथा छलफल गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे । 

यात्राले सरकारी अकर्मण्यता र देशको ओरालो लाग्दो अर्थतन्त्र, अराजक र अस्थिर भएको राजनीतिलाई सही बाटोमा ल्याउन सहयोग पुग्ने अध्यक्ष ओलीको भनाइ छ । ‘पार्टीले सुरु गरेको झुलाघाट–चिवाभञ्ज्याङ यात्रा संवाद र अध्ययनको यात्राका रूपमा परिभाषित भएको छ । यो यात्रा संवादको यात्रा हो, यो यात्रा अध्ययनको यात्रा हो । यो यात्रा नेपाली जनताको राष्ट्रिय आकांक्षा ‘समृद्ध नेपाल सुखी नेपाली’ बनाइ छाड्ने सङ्कल्प यात्रा हो । जसलाई नेकपा एमालेले आफ्नो उद्देश्य र गन्तव्य बनाएको छ’, अध्यक्ष ओलीको भनाइ छ । 

अध्यक्ष ओलीले यात्राका क्रममा मध्य पहाडी भूभागमा विकासका सम्भावना, त्यहाँका युवा र जनशक्तिको अपेक्षा, उत्पादन, रोजगारी, सिप विकासको अध्ययनबारे जनतासँग संवाद गर्ने पनि बताए । 

एमालेको यात्रा शुभारम्भ स्थललाई अन्माउन लागेकी बेहुलीजस्तै सिँगारिएको थियो । एमालेले मध्य पहाडी राजमार्ग अन्तर्गतका २६ वटा जिल्लाको करिब १ हजार ८ सय ७९ किलोमिटरको यात्रा २१ दिनसम्म गर्दै छ ।

‘सम्बन्ध स्थानीय सन्देश राष्ट्रिय’ भन्ने उद्घोषका साथ शुरु भएको ‘झुलाघाट चिवा भञ्ज्याङ ,समृद्धिका लागि सङ्कल्प यात्रा’ मा अध्यक्ष ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाल, सचिव पद्मा अर्याल, योगेश भट्टराई र लेखराज भट्टराई, स्थायी कमिटी सदस्य, पोलिटब्युरो सदस्य र केन्द्रीय सदस्य लगायतका नेताहरू सहभागी छन् । यात्रा चिवा भञ्ज्याङ पुगेर सकिने छ ।  

विश्वकर्मालाई राष्ट्रिय र पार्टी झन्डा हस्तान्तरण 

एमाले अध्यक्ष ओलीले अभियानको उद्घाटनपछि नेपालको राष्ट्रिय झन्डा र पार्टीको झन्डा पार्टीका सूदुरपश्चिम प्रदेशका इन्चार्ज छविलाल विश्वकर्मालाई हस्तान्तरण गरेका छन् । बैतडीको झुलाघाटबाट पार्टीले शुभारम्भ गरेको यात्रालाई पूर्वको चिवा भञ्ज्याङमा पुर्‍याउनका लागि ओलीले झन्डा हस्तान्तरण गरेका हुन् । 

अध्यक्ष ओलीले हस्तान्तरण गरेको झन्डा कर्णाली प्रदेशको राकम कर्णालीमा पुगेर कर्णाली प्रदेशका इन्चार्ज लेखराज भट्टलाई सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टलाई हस्तान्तरण गर्ने छ भने रुकुमकोटमा गएर कर्णाली प्रदेशले गण्डकी प्रदेशलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ । सोही अनुसार यात्राको टोली एक प्रदेशबाट अर्को प्रदेश प्रवेश गर्दा त्यहाँका इन्चार्जलाई झन्डा हस्तान्तरण गर्दै कोशी प्रदेश टोली कोशी प्रदेश पुगेर अभियान समापन हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप