नेपालमा पहिलोपटक समलिङ्गी विवाहलाई सरकारी मान्यता
पोखरा । नेपालमै पहिलोपटक समलिङ्गी विवाहले सरकारी मान्यता पाएको छ । लमजुङको दोर्दीमा पहिलोपटक समलिङ्गी विवाहको दर्ता गरिएको हो । दोर्दी २ मा विवाह दर्ता गरिएको गाउँपालिकाले जनाएको छ । राष्ट्रिय पञ्जीकरण विभागको निर्देशनअनुसार विवाह दर्ता गरिएको पालिकाका सूचना अधिकारी भीमप्रसाद लामिछानेले जानकारी दिए ।
‘उहाँहरू पहिले पनि आउनुभएको थियो । समलिङ्गी विवाह दर्ताको कानुन छैन भनेर फर्कायौँ,’ उनले भने, ‘पछि मन्त्रालय, विभागमा पुग्नुभएछ । विभागको पत्र पाएपछि दर्ता गरिएको हो ।’ सर्वोच्च अदालतले पनि समलिङ्गी विवाह दर्तामा अवरोध नगर्न आदेश दिएको थियो । दोर्दी गाउँपालिका वडा नम्बर २ का रामबहादुर गुरुङ (माया) र नवलपुरको कावासोती नगरपालिका ८ का सुरेन्द्र पाण्डेबीच विवाह भएको हो ।
विभागले सर्वोच्च अदालतको आदेशअनुसार अस्थायी अभिलेख रहने गरी विवाह दर्ता गर्न निर्देशन दिएको थियो । सोहीअनुसार अस्थायी अभिलेख रहने पालिकाले जनाएको छ । ‘यसअघि विवाह दर्ताको किताब जसरी राखिएको छ, त्यसैगरी सुरक्षित राख्छौँ,’ लामिछानेले भने, ‘विभागले अस्थायी अभिलेख भनेकोले प्रमाणपत्रमा अस्थायी अभिलेख लेखिएको हो ।’

निकै संघर्षबाट पहिलोपटक विवाह दर्ता प्रमाणपत्र पाउँदा खुसी लागेको सुरेन्द्रले बताए । ‘हिजोका दिनमा कम्ता सङ्घर्ष थिएन । अड्डा अदालत धाउँदा धाउँदा हैरान भइयो,’ उनले भने, ‘जे होस्, आज दर्ता भयो । खुसीको सीमा छैन ।’ उनीहरुले २०७४ सालमा सामाजिक परम्पराअनुसार नै विवाह गरेका थिए ।
त्यसअघि उनीहरू २ वर्षसम्म प्रेम सम्बन्धमा थिए । ‘हामीलाई परिवारले थुनछेक गरेनन् । सबैले स्वीकारे । सबैभन्दा धेरै खुसी त्यसैमा लागेको छ,’ बेहुली मायाले भनिन्, ‘विस्तारै समाजले पनि बुझे । पार्टी प्यालेसबाट भव्य रूपमा विवाह गरेका थियौँ । सबै आउनुभयो, त्यहीबेला नै समाजले र आफन्तले हामीलाई स्विकार्नुभएको हो ।’
उनीहरुले महिला र पुरुष जस्तै भएर सोर खुट्टेको सिद्धीगणेश पार्टी प्यालेसमा मण्डपबाट विवाह गरेका हुन् । अब समलिङ्गी तेस्रोलिंगीका लागि विवाहको बाटो खुलेको उनले बताइन् । सरकारी तवरबाट पनि धेरै सहयोग पाएको मायाको भनाई छ । सङ्घर्षको समयमा कसैले सहयोग नगरेको उनले सुनाइन् । ‘हिजो आफ्नै पकेट मनी निकालेर सङ्घर्ष गर्यौँ । सुरुका समयमा खासै साथ पाइएन,’ उनी अघि भन्छिन्, ‘अहिले त धेरै सजिलो भयो नि ।’ उनले ‘मायाको पहिचान नेपाल’ नामक संस्था खोलेकी छिन् । आगामी दिनमा दुवै जनाले यही संस्थाबाट वैवाहिक समानताका लागि लड्ने र अभियान चलाउने योजना बनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण