सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय
नक्कली भुटानी शरणार्थी प्रकरण

राय बाझिएपछि के हुन्छ बालकृष्ण खाँणको निवेदन ?

धरौटीमा छुट्ने कि थुनामै रहने भन्ने बारे अर्को न्यायाधीशको रायमा निर्भर
शुक्रबार, १५ मङ्सिर २०८०, १७ : ०९
शुक्रबार, १५ मङ्सिर २०८०

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा पठाइएका पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई छाड्ने कि थुनामै राख्ने भन्ने सम्बन्धमा न्यायाधीशको राय बाझिएको छ । शुक्रवार उच्च अदालत पाटनले आफ्नो आदेश सुनाउने क्रममा कांग्रेस नेता खाँणको हकमा राय बाझिएको हो । 

मुद्दा पुर्पक्षका लागि थुनामै पठाउने काठमाडौँ जिल्ला अदालतको आदेश बेरितको रहेकाले थुनामुक्त भई मुद्दा लड्न पाउनुपर्ने मागसहित खाँण निवेदन लिएर उच्च अदालत पाटन पुगेका थिए । गत मङ्सिर ५ गतेदेखि निरन्तर सुनुवाइ गरी शुक्रवार आदेश सुनाउने क्रममा अन्य प्रतिवादीहरूको हकमा न्यायाधीशहरूबिच सहमति भए पनि कांग्रेस नेता बालकृष्ण खाँणको हकमा भने न्यायाधीशहरूको राय बाझिएको छ । राय बाझिएपछि अब तेस्रो न्यायाधीशको इजलासले दिने रायका आधारमा बालकृष्ण खाँण धरौटी राखेर बाहिर निस्कने कि थुनामै रहने भन्ने निर्णय हुनेछ । 

न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलको इजलासमा भएको सुनुवाइमा न्यायाधीश पाण्डेले खाँणसँग ३० लाख धरौटी माग गरी थुनामुक्त गर्ने राय दिएका थिए । तर न्यायाधीश पाण्डेको रायमा अर्का न्यायाधीश प्रकाश खरेलले भने फरक राय दिएका छन् । 

न्यायाधीश खरेलले तत्काल प्राप्त प्रमाणबाट प्रतिवादी बालकृष्ण खाँण अहिले नै निर्दोष रहेछन् भनी भन्न नसकिने भन्दै उनलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने राय दिएका छन् । 

आदेशमा भनिएको छ-

‘... यसमा उपयुक्त अनुसारका प्रतिवादीहरु मध्ये प्रतिवादी बालकृष्ण खाँण बाहेकका अन्य प्रतिवादीहरुका हकमा माननीय न्यायाधीश श्री जनक पाण्डेबाट भएको आदेश रायसँग सहमत भएको छु । प्रतिवादी बालकृष्ण खाँणका हकमा प्रतिवादी टेक नारायण पाण्डे र केशव दुलाल बिचको मोबाइल म्यासेज, प्रतिवादी नरेन्द्र केसीबाट बरामद भएको प्रतिवादी टेक नारायण पाण्डेले प्रतिवादी नरेन्द्र के.सी.लाई लेखी दिएको कागज,प्रतिवादी आङटावा शेर्पाको घटना विवरण कागज तथा सह प्रतिवादी टेक नारायण पाण्डेको अधिकार प्राप्त अधिकारी समक्षको मिति २०८०।१।२७ को ततिम्बा बयान समेतका तत्काल प्राप्त प्रमाणबाट प्रतिवादी बालकृष्ण खाँण अभियोग दावीको कसुरमा अहिले नै निर्दोष रहेछन् भनी विश्वास गर्न मिल्ने मनासिब आधार नदेखिएको हुँदा माननीय न्यायाधीश जनक पाण्डेबाट निज प्रतिवादीलाई मुलुकी फौजदारी संहिता, २०७४ को दफा ६८ र ७२ बमोजिम नगद रु. ३०,०००,००।– (अक्षेरुपी तीस लाख) धरौटी लिई मुद्दाको पुर्पक्ष गर्ने गरी भएको आदेशसँग सहमत हुन सकिएन । प्रतिवादी बालकृष्ण खाँणलाई थुनामा राखी मुद्दाको पुर्पक्ष गर्ने गरी काठमाडौं जिल्ला अदालतबाट मिति २०८०।०३।०१ मा भएको आदेश मनासिब देखिँदा परिवर्तन गरिरहनु परेन । कानुन बमोजिम गर्नु ।’

यसरी अन्य प्रतिवादीहरूको हकमा न्यायाधीशहरुबीच एउटै मत भए पनि बालकृष्ण खाँणको हकमा राय बाझिएपछि अब तेस्रो न्यायाधीशको इजलासमा पठाउने आदेश भएको छ । 

उच्च अदालत पाटनको आदेशमा भनिएको छ-

प्रतिवादी बालकृष्ण खाँणको हकमा आदेश, राय मतैक्यता हुन नसकेकोले प्रस्तुत फरक राय सहितको निवेदक बालकृष्ण खाँण विपक्षी नेपाल सरकार भएको ०८०– Re–०२८८ को प्रतिवेदन उच्च अदालत नियमावली, २०७३ को नियम १२ बमोजिम तेस्रो न्यायाधीश समक्ष पेश गर्नु ।’

कसरी हुन्छ बालकृष्णको सम्बन्धमा निर्णय ?

उच्च अदालत पाटनका न्यायाधीश  कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँणको हकमा न्यायाधीश जनक पाण्डेले ३० लाख धरौटी माग गरी रिहा गर्ने आदेश गरेकामा न्यायाधीश प्रकाश खरेलले मुद्दा पुर्पक्षका लागि थुनामा पठाउने काठमाडौँ जिल्ला अदालतको आदेश सदर गरेपछि अब उनको हकमा भने अर्का न्यायाधीशको इजलासमा सुनुवाइ हुने भएको छ । दुई न्यायाधीशको राय आइसकेकाले अब अर्का एक न्यायाधीशको इजलासमा उक्त निवेदन पेश भई सुनुवाइ हुनेछ ।

सुनुवाइपछि ती न्यायाधीशले दिने रायका आधारमा खाँण धरौटी राखी थुनामुक्त हुने वा पुर्पक्षका लागि थुनामै रहने भन्ने निर्णय हुनेछ । ती न्यायाधीशले धरौटी माग गर्ने राय दिएमा धरौटी माग भई थुनामुक्त हुनेछन् भने थुनामै राख्नुपर्ने राय दिएमा थुनामै रहेर मुद्दाको पुर्पक्ष गर्नुपर्नेछ । धरौटी माग भएमा धरौटी रकममा परिवर्तनसमेत हुन सक्नेछ । 

१० दिन लामो निरन्तर सुनुवाइपछि उच्च अदालत पाटनले प्रतिवादीहरु टेकनारायण पाण्डे, डा.इन्द्रजित राई, टोपबहादुर रायमाझी, केशवप्रसाद दुलाल, सानु भण्डारी, सागर राई, गोविन्दकुमार चौधरी, सन्देश शर्मा र आङटावा शेर्पालाई थुनामै राख्ने आदेश दिएको छ । 

त्यसैगरी प्रतिवादी नरेन्द्र केसीसँग १० लाख, हरिभक्त महर्जनसँग १५ लाख, लक्ष्मी महर्जन साधारण तारेखमा रिहा भएका छन् ।  १० दिन लामो निरन्तर सुनुवाइपछि उच्च अदालत पाटनले प्रतिवादीहरु टेक नारायण पाण्डे, डा. इन्द्रजित राई, टोपबहादुर रायमाझी, केशव प्रसाद दुलाल, सानु भण्डारी, सागर राई, गोविन्दकुमार चौधरी, सन्देश शर्मा र आङटावा शेर्पालाई थुनामै राख्ने आदेश दिएको छ । 

त्यसैगरी प्रतिवादी नरेन्द्र केसीसँग १० लाख, हरिभक्त महर्जनसँग १५ लाख, शमशेर मियासँग १० लाख, सन्दीप रायमाझीसँग ३० लाख, टेकनाथ रिजालसँग १५ लाख, रामशरण केसीसँग १५ लाख धरौटी माग गरिएको छ ।  त्यस्तै प्रतिवादी बनाइएकाहरु लक्ष्मी महर्जन, आशिष बुढाथोकी, टंक कुमार गुरुङ र केशव तुलाधरलाई भने साधारण तारेखमै रिहा गर्न आदेश दिएको छ ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप