बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय
बागमती प्रदेश

सर्वदलीय बैठकमा मुख्यमन्त्री र एमालेबिच चर्काचर्की, बजेटमै अड्कियो छलफल

आइतबार, १७ मङ्सिर २०८०, १९ : ४५
आइतबार, १७ मङ्सिर २०८०

मकवानपुर । बागमती प्रदेशको सर्वदलीय बैठक बिना निष्कर्ष सकिएको छ । बैठक मुख्यमन्त्री शालिकराम जम्कट्टेलको चाहना अनुसार आइतबार प्रदेशसभा सभामुख भुवन कुमार पाठकको अध्यक्षतामा बसेको थियो ।

गत बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेटौँडामा प्रदेशका मन्त्रीहरूसँगको छलफलपछि मुख्यमन्त्री जम्कट्टेलले सर्वदलीय बैठक आह्वानका लागि सभामुख पाठकलाई अनुरोध गरेका थिए । सोही अनुसार सभामुख पाठकको कार्यकक्षमा सर्वदलीय बैठक बसेको थियो ।

संसदीय सभापति चयन, प्रदेशसभाको हिउँदे अधिवेशन र बजेट पारित गर्दा प्रतिपक्षसँग भएको सहमति कार्यान्वयनका विषयमा छलफल गर्न बसेको सर्वदलीय बैठक बिना निष्कर्ष सकिएको हो । दिउँसो १ः३० बजेबाट बसेको बैठक अपराह्न ४ः३० बजेसम्म चलेको थियो ।

साढे ३ घण्टासम्म चलेको बैठकले कुनै पनि विषयमा निष्कर्ष भने निकाल्न सकेन । बैठकले प्रदेशसभामा रहेका समितिका सभापतिको टुङ्गो लगाउने बताइए पनि सो विषयले प्राथमिकता पाउन सकेन । बैठकको अधिकांश समय बजेटका विषयमै छलफल केन्द्रित भएको थियो ।

छलफल सुरु हुनासाथ विपक्षी दलहरूले सरकारले आफूसँग गरेका सहमति कार्यान्वयनको माग गरेपछि विवादको स्थिति बनेको थियो । सहमति कार्यान्वयनको चरणमा नगएसम्म अन्य विषयमा छलफल हुन नसक्ने अडान एमाले र राप्रपाले राखेपछि मुख्यमन्त्री जम्कट्टेलले बजेटका सन्दर्भमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट प्राप्त पत्र पढेर सुनाएका थिए ।

तर, विपक्षी दलका नेता तथा सांसदहरू उनको कुरामा सकारात्मक देखिएनन् । उनीहरूले सरकारले गरेको त्रुटिपूर्ण काम सच्याउनु पर्ने भन्दै आफ्नो अडान कायमै राखे ।

मुख्यमन्त्री जम्कट्टेलले उक्त पत्र बैठकमा उपस्थित सबैलाई उपलब्धसमेत गराएका थिए । उनले सरकारको समस्यालाई बुझिदिन र सहमतिमा आउन आग्रह गर्दै भएकै योजनामा बजेट माग गर्न प्रतिपक्षलाई आग्रह गरे ।

तर, विपक्षी दलका नेता तथा सांसदहरू उनको कुरामा सकारात्मक देखिएनन् । उनीहरूले सरकारले गरेको त्रुटिपूर्ण काम सच्याउनु पर्ने भन्दै आफ्नो अडान कायमै राखे ।

अख्तियारको पत्र देखाउँदा पनि प्रतिपक्षी दलले समस्या बुझ्न नसकेको भन्दै मुख्यमन्त्री जम्कट्टेल रिसाएर प्रस्तुत भए । उनको प्रस्तुतिपछि विपक्षी दलहरू झन् कडा रूपमा प्रस्तुत भएका थिए । सहमति जुट्ने नदेखेपछि मुख्यमन्त्री जम्कट्टेल बैठकबाट बाहिरिएका थिए ।

त्यसपछि अवस्थालाई सामान्य बनाउन नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवम् प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिं लामाले भूमिका खेलेका थिए । उनले विपक्षीहरूलाई सहज रूपमा छलफलमा बस्न र आफ्ना विषयहरूलाई टुङ्गोमा पुर्‍याउन आग्रह गरेका थिए ।

मन्त्री लामाको आग्रहपछि विपक्षी दलका नेता र सांसदले मुख्यमन्त्री जम्कट्टेलको प्रस्तुति गलत भएको भन्दै छलफलमा बस्न नसक्ने बताएका थिए । सरकारको नेतृत्व गर्ने व्यक्तिको शैली उचित नभएको भन्दै छलफल अघि बढ्न नसक्ने भन्दै उनीहरू बैठकबाट बाहिरिएका थिए ।

त्यस लगत्तै मन्त्री लामाले दलहरूलाई मिलाउने प्रयत्न अनुरूप सबै दलका नेता तथा सांसदहरूलाई रात्रिभोजको निमन्त्रणा दिए । बैठकमा विवाद भएपछि बाहिरिएका मुख्यमन्त्री जम्कट्टेल पनि रात्रिभोजमा सहभागी हुने भएपछि प्रमुख प्रतिपक्ष दलका नेता तथा सांसदहरू सहभागी नहुने बताइएको छ ।

बैठकमा सहभागी हाम्रो नेपाली पार्टीका बागमती प्रदेश संसदीय दलका नेता शैलेन्द्रमान बज्राचार्यका अनुसार बैठक औपचारिकतामा प्रवेश गर्ने बित्तिकै प्रमुख प्रतिपक्ष दल नेकपा एमाले र प्रतिपक्ष दल राप्रपाले बजेट पारित गर्दाका समयमा भएको सहमति कार्यान्वयन गर्न दबाब दिएका थिए ।

उक्त विषय निष्कर्षमा पुगेपछि मात्र अन्य विषयमा छलफल गर्ने एमाले र राप्रपाको अडानपछि मुख्यमन्त्री जम्कट्टेल र प्रतिपक्षी दलका नेताहरूबिच घम्साघम्सी चलेको उनले बताए ।

बज्राचार्यका अनुसार बैठकमा सहभागी सत्तारुढ दल नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका नेता एवम् मुख्यमन्त्री जम्कट्टेल र प्रमुख प्रतिपक्ष दल एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलिया, मुख्य सचेतक मधुसुदन पौडेल र सांसद केशवराज पौडेलसँगै राप्रपा बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापा, सांसद कुमारी तामाङबिच विवाद भएको थियो । दुवै दलका नेता र सांसदहरू आ–आफ्नो विषयमा अडान राख्दै एक अर्काबिच रोष प्रकट गर्दै गरेको देखिएका थिए ।

मुख्यमन्त्री जम्कट्टेलले सहमति कार्यान्वयनका लागि देखिएका समस्या देखाउँदा पनि विपक्षीहरु एकोहोरो शैलीमा प्रस्तुत भएर समस्यालाई थप जटिल बनाउनेतर्फ केन्द्रित बनेको उनले बताए ।

नेकपा माओवादी केन्द्र बागमती प्रदेशका प्रमुख सचेतक रत्नप्रसाद ढकालले बैठक संसदीय समितिको सभापतिको मुद्दामा भन्दा पनि बजेटमा केन्द्रित भएको बताए । उनका अनुसार बजेट पारित गर्दाको समयमा प्रतिपक्षसँग भएको सहमति कार्यान्वयनमा सरकारले सकारात्मक धारणा राख्दा पनि प्रतिपक्षले एकोहोरो शैलीमा अडान राख्दा छलफल उपलब्धिहीन बन्न पुग्यो ।

मुख्यमन्त्री जम्कट्टेलले सहमति कार्यान्वयनका लागि देखिएका समस्या देखाउँदा पनि विपक्षीहरु एकोहोरो शैलीमा प्रस्तुत भएर समस्यालाई थप जटिल बनाउनेतर्फ केन्द्रित बनेको उनले बताए ।

प्रतिपक्षले माग गरेको विषयहरु सम्बोधनको लागि मुख्यमन्त्री जम्कट्टेलले विकल्पका रूपमा भएकै योजनामा बजेट दिने गरी योजना पेस गर्न गरेको आग्रह पनि इन्कार गरेर उनीहरू आफ्नै अडानमा केन्द्रित भएको बज्राचार्यको भनाइ छ ।

सत्तारुढ दल नेकपा एकीकृत समाजवादी पार्टी बागमती प्रदेश संसदीय दलका नेता कृष्ण प्रसाद शर्मा खनालले सर्वदलीय बैठक समस्या समाधानमा भन्दा पनि समस्या बल्झाउन केन्द्रित भएको बताए ।

उनले सबैको कमजोरीका कारण बैठक निष्कर्षविहीन बनेको बताए । बैठक संसदको विषयमा भन्दा पनि बजेट परिचालन र कसले कति लिने–दिनेमा केन्द्रित भएको बताए ।

‘संसदीय समितिका सभापति चयनभन्दा पनि पाउने गुमाउने र शक्ति आर्जनमा सरकार र प्रतिपक्षबिच चर्काचर्कीको स्थिति बन्यो,’ उनले भने, ‘प्रतिपक्षले प्रक्रियागत समस्या र परिस्थिति बुझ्न चाहेन । त्यसैमा मुख्यमन्त्री पनि रिसाएर निस्किनुभयो । बैठक सकियो । फेरि बैठक बोलाउने भन्ने निष्कर्ष बनेको छ ।’

यता बैठकमा सहभागी प्रमुख प्रतिपक्ष दल एमाले दलका नेता जगन्नाथ थपलियाले सरकार गैरजिम्मेवार बनेकाले कुनै सहमति नभएको बताए । मुख्यमन्त्रीले एनजीओ शैलीमा सरकार चलाउन खोज्दा समस्या भएको उनको भनाइ छ ।

सरकार समस्या समाधानमा भन्दा पनि अन्यत्र ध्यान केन्द्रित गरेर अघि बढिरहेको आरोप लगाउँदै उनले सरकारकै कारण सर्वदलीय बैठकमा कुनै पनि विषयले निष्कर्ष पाउन नसकेको बताए ।

‘सरकारले पटक पटक विभिन्न बहानामा प्रतिपक्षले दिएको सुझावलाई टार्दै आएको छ । एमालेले बारम्बार सरकार हराइसक्यो, खोज्नु पर्‍यो भनिरह्यो,’ उनले भने, ‘अब त भेटियो भनेको आज पनि सरकार देखा परेन । संविधानले दिएको अधिकारमा रहेर संसद्ले गरेका निर्णय विरुद्धका काम सरकारले गरिरहेको छ ।’

सरकारले गरेका गलत क्रियाकलापको विरुद्धमा आफूहरुले निरन्तर खबरदारी गरिरहे पनि सरकार गलत ट्रयाकमा हिँडिरहेको आरोप उनले लगाए । उनले भने, ‘त्यो छुट सरकारलाई छैन । हामी सरकारको दुवै कान समातेर सही ट्रयाकमा हिँड्न सिकाउछौँ ।’

बैठकमा सत्तारुढ माओवादी केन्द्रबाट मुख्यमन्त्री शालिकराम जम्कट्टेलसहित प्रमुख सचेतक रत्नप्रसाद ढकाल, कांग्रेस दलका नेता बहादुरसिंह लामा, सचेतक गोविन्द लम्साल, नेकपा एकीकृत समाजवादी पार्टीका दलका नेता कृष्ण प्रसाद शर्मा खनाल, हाम्रो नेपाली पार्टीका दलका नेता शैलेन्द्रमान बज्राचार्य सहभागी थिए ।

त्यसैगरी प्रमुख प्रतिपक्ष नेकपा एमालेका दलका नेता जगन्नाथ थपलिया, मुख्य सचेतक मधुसुदन पौडेल, सांसद केशवप्रसाद पोखरेल, राप्रपाका दलका नेता उद्धव थापा र कुमारी तामाङ सहभागी थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप