आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

एक वर्ष बित्दासमेत माओवादी केन्द्रको उपनेता किन भएन चयन ?

सोमबार, १८ मङ्सिर २०८०, १४ : ००
सोमबार, १८ मङ्सिर २०८०

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचन भएको एक वर्ष बितिसक्दा समेत माओवादी केन्द्रले संसदीय दलको उपनेता चयन गरेको छैन । गत वर्ष निर्वाचन पश्चात् पुस ७ गते संसदीय दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सर्वसम्मत चयन भएका थिए ।

यस्तै, प्रमुख सचेतकमा सचिव हितराज पाण्डे सर्वसम्मत निर्वाचित भएका थिए । उपनेतामा उपमहासचिवद्वय जनार्दन शर्मा र वर्षमान पुनले चासो देखाएका थिए । तर नेसपाका अध्यक्ष बाबुराम भट्टराईले महिन्द्रराय यादवलाई उपनेता बनाउन दबाब दिएका थिए । उपनेतामा विवाद उत्पन्न हुने देखिएपछि अध्यक्ष प्रचण्डले त्यतिबेला उपनेता चयन प्रक्रिया स्थगित गरेका थिए ।

यद्यपि महिन्द्रलाई उपनेता बनाउने विषयमा पहिल्यै सहमति भएको नेसपाका महासचिव रमेश यादवले दाबी गरेका छन् । ‘हाम्रो पार्टी अलग भए पनि संसदीय दल माओवादी केन्द्र नै हो । त्यतिबेला प्रचण्डजी नेतामा सर्वसम्मत भएपछि उपनेता महिन्द्रलाई बनाउने पहिल्यै सहमति भएको थियो । बिचमा विवाद भएपछि उपनेता चयन प्रक्रिया रोकिएको हो’, यादवले रातोपाटीसँग भने ।

यसैगरी माओवादीका उपसभापति मातृका यादवले महिन्द्रलाई उपनेता बनाउने सहमति भएको स्वीकार गर्दै नियुक्तिमा ढिलाइ भएकोबारे आफूलाई केही थाहा नभएको बताए । ‘त्यतिबेला महिन्द्रजीलाई उपनेता बनाउने सहमति भएको थियो । तर अहिलेसम्म किन भएन, त्यसबारे मलाई थाहा भएन । उपनेता नभए पनि काम चलिरहेकै छ’, यादवले भने ।

अहिले फेरि दुई पार्टीबिच एकता प्रक्रिया चलिरहेकाले यसको टुङ्गो लागेपछि मात्र प्रक्रिया अगाडि बढ्ने उनले बताए । माओवादी केन्द्रका सांसद माधव सापकोटाले उपनेता महिन्द्रलाई बनाउने त्यतिबेला सहमति भए पनि दुई पार्टीबिच देखिएको अविश्वासले ढिलाइ भएको बताए । पार्टी एकता प्रक्रिया टुङ्गो नलागेसम्म अब उपनेता चयन नहुने उनको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप