मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि तय भएको अन्तर्वार्ता स्थगित

सोमबार, १८ मङ्सिर २०८०, ११ : ३६
सोमबार, १८ मङ्सिर २०८०

काठमाडौँ । चिकित्सा शिक्षा आयोगको निर्देशक पदको लागि लिने भनिएकबो प्रस्तुतीकरण र अन्तर्वार्ता स्थगित गरिएको छ । सर्ट लिष्टमा परेका १२ जनाको आज लिने भनिएको प्रस्तुतीकरण र अन्तर्वार्ता स्थगित गरिएको हो । 

नाम सिफारिस समितिले आज तीन चरणमा प्रस्तुतीकरण र अन्तर्वार्ता लिने गरी कार्यतालिका बनाएको थियो । तर, अन्तिम समयमा आएर स्थगित गरिएको हो । समितिले प्राविधिक कारणले अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको भन्दै सूचना जारी गरेको छ । 

शिक्षा, विज्ञान तथा सूचना प्रविधि मन्त्रालयको प्राविधिक शिक्षा शाखाका उपसचिव लक्ष्मीकुमार खड्काले प्राविधिक कारणले स्थगित गरिएको बताए । आन्तरिक सल्लाह गर्नुपर्ने भएकाले समितिले थप समय मागेर स्थगित गरिएको उनको भनाई छ । 

‘चार जना निर्देशकका लागि छुट्टाछुट्टै विशेषता भएको चाहिन्छ । त्यसका लागि समितिलाई अध्ययन गर्ने समेत समय पाएनौं भनेपछि केही दिनलाई पछि सारेका हौं । यसमा अन्य कुनै कारण होइन,’ खड्काले भने । 

निर्देशकका लागि सिफारिस समितिमा आवेदन दिएका २० जनामध्ये उच्च नम्बर प्राप्त गर्ने १२ जनाको सर्ट लिष्ट सार्वजनिक गरेको थियो । सर्ट लिष्टमा परेका १२ जनामध्ये प्रस्तुतीकरण र अन्तर्वार्तामा उत्कृष्ट नम्बर ल्याउने ४ जनाको नाम आयोगको निर्देशकका लागि सिफारिस गर्नेछ ।  

निर्देशनकका लागि नाम सिफारिस गर्न गठित समितिले सात दिने सूचना निकाल्दै आवेदन दिन आह्वान गरेको थियो । उक्त समयभित्र २० जनाले आवेदन दिएका थिए ।

मापदण्ड तथा प्रत्यायन निर्देशनालय, योजना समन्वय तथा प्राज्ञिक उन्नयन निर्देशनालय, परीक्षा निर्देशनालय र नेसनल बोर्ड अफ मेडिकल स्पेसियालिटिज गरी तीन निर्देशनालय र एक बोर्डको निर्देशन पदका लागि दरखास्त आह्वान गरिएको थियो ।  

समितिको संयोजकमा राष्ट्रिय योजना आयोगका सदस्य डा.रामकुमार फुयाल रहेका छन् भने सदस्यहरूमा प्राडा रमेशकान्त अधिकारी र प्राडा बुद्धिबहादुर थापा सदस्य छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप