सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

जाजरकोट भूकम्प : मृतकका परिवारलाई प्रदेश सरकारद्वारा बीमा बापतको रकम दिन सुरु

बुधबार, २० मङ्सिर २०८०, ०९ : ५६
बुधबार, २० मङ्सिर २०८०

सुर्खेत । कर्णाली प्रदेश सरकारले जाजरकोट भूकम्पमा परेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई बीमा बापतको रकम हस्तान्तरणको प्रक्रिया सुरु गरेको छ ।

मंगलबार नलगाड नगरपालिकाका ५६ जना मध्ये २९ जनाको परिवारलाई रकम हस्तान्तरण गरिएको सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णबहादुर जिसीले रातोपाटीलाई जानकारी दिए ।

उनका अनुसार प्रति मृतक दुई लाखका दरले रकम वितरण गरिएको छ । अब क्रमशः सबै पालिकाहरूमा गएर अबको तीन चार दिनमै वितरण गरिसक्ने उनले बताए ।

कर्णाली सरकारले कर्णालीमा बसोबास गर्ने नागरिकका लागि यसअघि नै प्राकृतिक दुर्घटना बीमा गर्ने कार्यक्रम अघि सारेको थियो । सोही कार्यक्रम अन्तर्गत बीमा रकम वितरण गरिएको हो ।

भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा गरी १५७ जनाको मृत्यु भएको छ । ‘हामीले एकै परिवारका चार जनाको मृत्यु भएको छ भने ८ लाख रकम दिने गरेका छौँ,’ जिसीले भने ।

वितरण कार्यमा मन्त्री जिसीसहित बीमा प्राधिकरण कर्णाली प्रदेश प्रमुख पदम सोडारी पनि सहभागी छन्।

‘चाँडो रकम दिएको खण्डमा मृतक परिवारलाई सहयोग पुगोस् भन्ने उद्देश्यसहित हामीले रकम वितरण गर्न सुरु गरेका हौँ,’ उनले भने ।

साथै प्रदेश सरकारले सार्वजनिक संरचना निर्माणका कामहरू सुरु गर्ने निर्णय गरेको छ ।भूकम्पबाट प्रभावित खानेपानी, बाटो, विद्यालय, स्वास्थ्य चौकी, सिँचाइका योजनाहरूमा क्षति पुगेको छ । ती योजनाहरू प्रदेश सरकारले विनियोजन गरेको १ अर्ब रकमबाट मर्मत सम्भार गरिने भएको हो ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप