मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

मेलम्चीको पानी चाँडै पथान्तरण गर्न मन्त्री यादवलाई सुझाव

बुधबार, २० मङ्सिर २०८०, २० : ०७
बुधबार, २० मङ्सिर २०८०

काठमाडौँ । काठमाडौँ उपत्यकाभित्र खानेपानीको समस्या दिनप्रतिदिन बढ्दै गएकोले तत्काल मेलम्चीको पानी पथान्तरण गर्ने प्रक्रिया अगाडि बढाउन सरोकारवालाहरुले सुझाव दिएका छन् । खानेपानी मन्त्री महिन्द्रराय यादवले आज मन्त्रालयमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सो सुझाव आएको हो । 

सुख्खायाम सुरु भइसकेको कारणले पनि काठमाडौँ उपत्यकामा पानीको अभाव सृजना भएकाले कसरी हुन्छ तत्कालै मेलम्चीको पानी पठाउनुपर्ने धारणा उनीहरूको थियो । छलफलमा काठमाडौँ, ललितपुर र भक्तपुरका प्रतिनिधि सभा सदस्य, काठमाडौँ उपत्यकाभित्रका सबै स्थानीय तहका प्रमुख,  हेलम्बु गाउँपालिकाका अध्यक्ष, उपभोक्ता समितिका प्रतिनिधि तथा सम्बन्धित क्षेत्रका सरोकारवालाहरूको उपस्थिति थियो । जवाफमा मन्त्री यादवले मेलम्चीबाट पानी ल्याउने प्रयास भइरहेको र मर्मतका काम सकिए लगत्तै पानी पठाउने प्रतिबद्धता जनाए ।

यस्तै स्थानीय तहहरूमा अवस्थित पानीका श्रोतहरूको पहिचान, प्रयोग, संरक्षण तथा पुनर्भरण सम्बन्धमा पनि सरोकारवालाले सुझाव दिएका छन् ।  काठमाडौँ उपत्यकाभित्र खानेपानी व्यवस्थापनमा संलग्न निकायहरूको पुनर्संरचना गर्न पनि उनीहरूले सुझाव दिएको मन्त्री यादवको निजी सचिवालयले जनाएको छ ।

काठमाडौँ उपत्यका भित्रका खानेपानी तथा सरसफाइ क्षेत्रको सम्पत्तिको दिगो व्यवस्थापन र सञ्चालन तथा प्रभावकारी नियमनको व्यवस्था गर्न पनि सुझाव दिएका छन् । काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको वित्तीय र प्राविधिक क्षमतामा सुधार गरी खानेपानी सेवा वितरणमा गुणस्तर वृद्धि गर्न काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्ड, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड र आयोजना कार्यान्वयन निर्देशनालयको पुनर्संरचना तथा मेलम्ची खानेपानी आयोजनाको दिगो समाधानको लागि कार्य गर्न मन्त्री यादवलाई सुझाव दिइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप