मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

शिक्षा र स्वास्थ्यप्रति सरकार जिम्मेवार छ : मुख्यमन्त्री पाण्डे

बुधबार, २० मङ्सिर २०८०, २१ : ४१
बुधबार, २० मङ्सिर २०८०

लेखनाथ । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपाली जनताको आधारभूत आवश्यकतामा पर्ने शिक्षा र स्वास्थ्य सेवाप्रतिको जिम्मेवारी सरकारले पूरा गर्ने बताएका छन् । पोखरा–१ पुरानो टुँडिखेलस्थित राष्ट्रिय माध्यामिक विद्यालयको हीरक जयन्तीको आज उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले उक्त कुरा बताएका हुन् ।

“जुनसुकै पार्टीको सरकार भए पनि शिक्षा र स्वास्थ्य सेवाबाट हात झिक्न मिल्दैन”, उनले भने, “नेपालको संविधानले आधारभूत आवश्यकतामा राखेको शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी बढाउँदै जानुपर्छ ।”

शिक्षा ऐन संशोधनका बारेमा संसदीय समितिमा छलफल चलिरहेको बताउँदै उनले शिक्षा र स्वास्थ्य क्षेत्र आमनेपाली जनताको हितमा हुनुपर्नेमा जोड दिए । सामुदायिक विद्यालयमा विद्यार्थी किन आकर्षित भएनन् भन्नेबारेका कारण खोज्न जरुरी भएको बताउँदै १२ कक्षा पास गरेपछि पढ्नका लागि विदेश जाने विद्यार्थीको सङ्ख्या घटाउनेतर्फ सरकार लाग्नुपर्ने उनको भनाइ छ । 

“सामुदायिक विद्यालयको व्यवस्थापनको जिम्मा कुन तहको सरकारले लिने भन्नेबारेमा अन्योलता कायमै रहेकाले त्यसतर्फ केन्द्र सरकारको ध्यान जान जरुरी छ”, मुख्यमन्त्री पाण्डेले भने, “विधयेकको छलफलमा पनि स्पष्ट किटान गर्नुपर्छ ।”

नेपालका राजनीतिक दलहरुले नेपालमै रोजगारी सिर्जना र स्वरोजगारको वातावरण निर्माण गरी विदेश जाने युवा जनशक्तिलाई नेपालमै खपत गर्नुपर्नेमा उनको जोड छ ।” वर्तमान राजनीतिक अवस्थाका बारेमा मुख्यमन्त्री पाण्डेले प्रदेश सरकारका कानुन नबन्दा अधिकारविहीन हुनुपरेको बताउँदै बनेका कानुन पनि कार्यान्वयनमा आउन नसकेको दु:खेसो गरे । 

प्रतिनिधिसभा सदस्य दामोदर पौडेल (वैरागी) ले जनताको आधारभूत आवश्यकतामा पर्ने शिक्षा र स्वास्थ्य सेवा निजी क्षेत्रको जिम्मा लगाउन नहुने बताए । सामुदायिक विद्यालयमा शिक्षक दरबन्दी वृद्धि गरी गुणस्तरीय शिक्षा प्रदान गर्न जरुरी भएको भनाइ उनको थियो । 

पूर्व विद्यार्थी तथा नेपाल उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले सामुदायिक विद्यालयबाट प्रदान गरिने शिक्षालाई गुणस्तरीय बनाउन यस क्षेत्रका सबै अभिभावकको दायित्व हुने बताए । राणा शासनको अन्त्य हुनुभन्दा एक वर्षअघि विसं २००६ मा स्थापना भएको उक्त विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्नेतर्फ आफ्ना पाइला अगाडि बढाउनुपर्नेमा जोड दिए । 

एक हजार चार सय विद्यार्थी अध्ययनरत उक्त विद्यालयका ५७ जना शिक्षकमध्ये २८ जना निजी स्रोतकै रहेको जानकारी विद्यालयका प्रधानाध्यापक ईश्वरी सापकोटाले दिए । सो अवसरमा विद्यालयलाई ७२ रोपनी जग्गा प्रदान गर्ने स्थानीय पराजुली परिवार, विद्यालय स्थापनामा योगदान गर्ने व्यक्तिका परिवारका सदस्यलाई सम्मानसमेत गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप